सिरहाका सन्तोष बीबीसी मास्टर सेफको अन्तिम तीनमा

सिरहाका सन्तोष बीबीसी मास्टर सेफको अन्तिम तीनमा

लण्डन : बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूकेको फाइनलमा प्रतिस्पर्धा गरिरहेका छन् नेपाली सेफ सन्तोष। संसारभरबाट विभिन्न कुइजिनका बत्तीस सेफहरुको सहभागितामा सुरु भएको प्रतियोगिताको अन्तिम तीनसम्म पुग्न उनी सफल भएका छन्। 

प्रतियोगिताको फाइनल राउण्डको दोस्रो दिनको एपिसोड बुधबार बेलुका बीबीसी वानमा प्रसारण भयो। जसमा सन्तोष नेपाली भादगाउँले टोपीमा सजिएर सहभागी भएका थिए।  यही राउण्डबाट अघि बढ्दै उनी  बिहीबार प्रतियोगिताको ट्रफीका  लागि हुने अन्तिम प्रतिस्पर्धामा भिड्न छनोट भएका छन्। 

बुधबार प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण मानिने सेफ्स टेबल राउण्डको पालो थियो। यो राउण्डमा प्रतियोगीहरुले बनाएका खानाका परिकार चाख्न केही निर्णायक मात्र थिएनन्, बेलायतभरबाट कयौं प्रतिष्ठित सेफहरु पनि आमन्त्रित थिए। विगतका वर्षमा धेरै सेफहरु सहभागी हुने यो राउण्डमा यसपटक भने कोरोनाका कारण थोरै सेफको मात्रै सहभागिता थियो।  

‘मास्टरसेफकै सबैभन्दा महत्वपूर्ण राउण्ड मानिन्छ यो एपिसोड। बेलायतभरका मानिएका सेफहरुलाई आफ्नो खाना चखाएर मन जित्नु कठिन काम हो’, अन्नपुर्णसंग सन्तोषले भने, ‘तर मेरो सौभाग्य, मेरो लागि यो राउण्ड निकै राम्रो भयो। सेफहरुबाट मेरो खानाले निकै राम्रो प्रतिक्रिया पायो।’

मास्टर सेफको यात्रामा बुधबारको एपिसोड नै आफ्नो लागि सबैभन्दा विशेष बनेको सन्तोषको अनुभव छ। महत्वपूर्ण सेफ्स टेबल राउण्डमा उत्साहप्रद प्रतिक्रिया पाएका उनले आफ्नै आमालाई समर्पण गरेर विशेष परिकार पकाउने अवसर समेत पाए। 

आफूले सबैभन्दा धेरै माया गर्ने व्यक्तिको लागि खाना बनाउनुपर्ने राउण्डमा उनले आफ्नी आमाको लागि कयौं परिकारहरु बनाए। पुरी, भुटेको खुर्सानी र नुन, बासी भात भुट्ने  शैलीमा भुटेको चिउरा र गंगटाको करी जस्ता परिकार उनले आमालाई समर्पण गरी तयार गरेका थिए। 

‘बाल्यकालमा जब म नहर खन्ने काममा जान्थें, मलाई भोक लाग्ने बेलामा आमाले टिफिनमा खाजा बोकेर आउनुहुन्थ्यो। सुतीको धोतीमा बेरेर पुरीहरु ल्याउनुहुन्थ्यो। आमाको हातबाट बनेका तीनै परिकारको कन्सेप्टलाई लिएर मैले आमालाई डेडिकेट गरी खाना बनाउने कोशिस गरेको हुं’, सन्तोषले सुनाए। 

खानाको मौलिक ‘फिल’ल्याउने उद्धेश्यले उनले पृष्ठभूमिमा पानी र चराचुरुंगीको आवाज बजाएका थिए भने टिफिनकै बक्समा राखेर सर्भ गरेका थिए। मास्टरसेफको प्लेटफर्म, आफ्नै आमालाई समर्पित खाना र बाल्यकालकै झल्को दिने गरी आमाले बनाउनेजस्तै परिकारहरु पस्किंदा सन्तोष निकै भावुक बनेका थिए। 

‘मास्टर सेफको यो स्थानसम्म आइपुग्नु मेरो लागि सपना वास्तविकतामा परिणत भएजस्तै हो। अझ मेरी आमाकै लागि खाना बनाउने क्षण मेरो लागि निकै खुशी र इमोसनल थियो। त्यसमाथि यो खानासँगै जोडिएको मेरो बाल्यकाल र त्यो बेलाको हाम्रो अवस्थाको पनि झझल्को आउँदा म बढी भावुक बन्न पुगे’, उनले सुनाए।  

सिरहा कर्जन्हाका सन्तोष बीबीसी मास्टर सेफको स्टेजसम्म आइपुग्दासम्म संघर्षका धेरै कथाहरु बुनिएका छन्। पारिवरिक स्थितिका कारण १५ वर्षको कलिलो उमेरमै भारत भासिन बाध्य बनेका उनको करियर गुजरातमा किचन पोर्टरबाट सुरु भयो। निरन्तरको मेहनत र लगावले पछि भारतकै पाँचतारे होटेलहरुमा सेफसम्मको ठाउँ बनाए। एक दशकअघि बेलायत आइसकेपछि पनि उनले यहाँका प्रतिष्ठित होटेल तथा रेष्टुरेन्टहरुको अनुभव बटुलिसकेका छन्। 

बीबीसी मास्टर सेफमा भाग लिने पहिलो नेपाली सेफ सन्तोषले विश्वमाझ नेपाली खानाको प्रवर्द्धनका  लागि निरन्तर क्रियाशिल रहने अठोट व्यक्त गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.