म्याग्दी–मुस्ताङ जोड्ने वैकल्पिक पदमार्ग

म्याग्दी–मुस्ताङ जोड्ने वैकल्पिक पदमार्ग

बेनी : म्याग्दीबाट धौलागिरी हिमालको आधार शिविर हुदै मुस्ताङ पुग्न सकिने नयाँ पदमार्ग पहिचान भएको छ । बेनी–जोमसोम सडक सञ्चालन भएपछि विस्थापित भएको म्याग्दी–मुस्ताङ जोड्ने पुरानो पदमार्गको विकल्पमा धौलागिरी आइसफल पदमार्ग सञ्चालनको तयारी भएको हो। 

संसारको सातौ (८,१६७) मिटर अग्लो धौलागिरी हिमालको आधार हुँदै मुस्ताङको लेते पुग्न सकिने धौलागिरी आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले आधारभूत स्तरको पुर्वाधार निर्माणसँगै पर्यटक भित्र्याउन सम्भाव्यता अध्ययन गरिएको बताए ।  

‘रघुगंगाको अधिकांश वडाहरुलाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रुपमा सञ्चालनमा ल्याउनका लागि डीपीआर तयार पारेर पैदलमार्ग बनाइरहेका छौ,’ उनले भने ‘पर्यटन मन्त्रालयबाट प्राप्त २५ लाख रुपैयाँ बजेटबाट चिमखोलाका बासिन्दा जंगलको ओढारमा बास बसेर पदमार्ग बनाइ रहेकाछन् ।’

कुइने मंगलेको छहरीदेखि आधार शिविर क्षेत्रको अक्करे भिरमा पहाड खन्ने, जंगल र पाखामा ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माणले तिब्रता पाएको छ । ट्रेकिङ व्यवसायी एशोसीयसन (टान) र तत्कालिन जिल्ला विकास समिति म्याग्दीको अगुवाईमा २०६८ मा भगवतिदेखि लेते जोड्ने धौलागिरी आइसफल पदमार्ग पहिचान भएको थियो। 

पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरा लगायतका निकायबाट विनियोजन भएको बजेटबाट भगवतीको रुइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसेधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्याक निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष ध्रुबकुमार पाइजाले बताए । सातदेखि दश दिनमा यसको भ्रमण गर्न सकिन्छ । धौलागिरी हिमालबाट हिउँ खसेको नजिकबाट हेर्न सकिने भएकाले यसलाई आइसफल पदमार्ग नामाकरण गरिएको हो ।

म्याग्दी र मुस्ताङ जोड्ने पुरानो पैदलमार्ग बेनी–जोमसोम सडक सञ्चालन भएसँगै विस्थापित बनेको थियो । त्यसको विकल्पमा नयाँ पदमार्ग विकास गर्न थालिएको हो । धौलागिरी र अन्नपूर्ण रेञ्जका दर्जनौ हिमालहरुलाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवा लगायतका जंगली पशुपंक्षी र तीनको बासस्थान यस पदमार्गका आकर्षण हुन्। 

धौलागिरी आइसफल पदमार्ग सञ्चालन भएमा स्थानीयबासीको आयआर्जन बृद्धी, रोजगारी सिर्जना, जीवनस्तरमा सुधारका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए । पदमार्गमा आधारभूत पूर्वाधारसँगै खाने बस्ने सुविधाका लागि निजी क्षेत्रको लगानी भित्र्याउन र प्रर्वद्धनात्मक गतिविधिमा जोड दिएको उनले बताए ।

यसैगरी म्याग्दी उद्योग वाणिज्य संघले रघुगंगा र मंगला गाउँपालिकाको सिमानामा रहेको टोड्केदेखि रघुगंगाको झिँ–पाखापानी–रायखोर–घ्याँसीखर्क हुदै धौलागिरी हिमालको आधार शिविर जोड्ने अर्को पदमार्ग समेत पहिचान गरेर नक्सा तयार पारेको छ। 

गाउँपालिकाले दुबै पदमार्ग सञ्चालन गरेर पर्यटक भित्र्याउने तयारीमा जुटेको छ । पदमार्गको प्रचारप्रसारका लागि चालु आर्थिक वर्षमा रुइसेमा महोत्सव सञ्चालन गर्न बजेटसमेत विनियोजन गरेको छ। 

पदमार्गको अध्ययनका लागि गत हप्ता आधार शिविर पुगेर फर्किएका पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवम् प्रतिनिधि सभा सदस्य थपमाया थापाले म्याग्दी र मुस्ताङलाई जोड्ने वैकल्पिक पदमार्गको रुपमा धौलागिरि आइसफल पदमार्गलाई विकास गर्न लागिएको बताइन्। 

‘अत्यन्तै सम्भावना रहेछ यस पदमार्गको, केहि ठाउँमा अझै पदमार्ग बनाउन बाँकी नै रहेको पाईयो, पदमार्ग, आवासगृह लगायतका पर्यटन पूर्वाधार निर्माण गर्न संघिय सरकारमार्फत आवश्यक पहल गर्छु’ पूर्वमन्त्री थापाले भनिन्। 
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.