गोरखाका संयुक्त विद्यार्थी संगठनद्वारा संसद विघटनको विरोध
गोरखा : प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग गरिएको घटनाप्रति गोरखामा क्रियाशील विद्यार्थी संगठनले विरोध गरेका छन्।
बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियन गोरखाले विरोध जनाएका हुन्।
मुलुकको विषम परिस्थितिको बारेमा छलफल गर्न बसेको तीनै विद्यार्थी संगठनले सरकारको निर्णयविरुद्ध कडाइका साथ आन्दोलनमा अघि बढ्ने निर्णय गरेको नेविसंघका अध्यक्ष सुवास अधिकारीले जानकारी दिए।
‘गत पुस ५ गते हठात रुपमा गरिएको प्रतिनिधिसभा बिघटनको घोषणा असंवैधानिक छ’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त विद्यार्थी संगठन यस असंवैधानिक घोषणाको घोर भत्र्सना तथा निन्दा गर्दछ।’
त्याग तपस्या र बलिदानीबाट आएको वर्तमान संविधानलाई निष्प्रभावी बनाउँदै बदनियतवश गरिएको यस घोषणाविरुद्ध विद्यार्थी संगठन एकजुट भई संविधानको रक्षार्थ सहकार्य गर्ने विज्ञप्तिमा भनिएको छ।
साथै अलोकतान्त्रिक, असंवैधानिक तथा प्रतिगमनलाई सहयोग पुग्ने गरी चालिएको कदमविरुद्ध जिल्लाव्यापी प्रतिरोध गर्न विज्ञप्तिमार्फत आव्हान गरेका छन्।
सो विज्ञप्तिमा नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारी, अनेरास्ववियूका संयोजक संजीव थापा मगर र समाजवादी विद्यार्थी युनियनका संयोजक मिलन न्यौपानेले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस !