न्युड कसरी अश्लील ?

न्युड कसरी अश्लील ?

काठमाडौं : प्रेम आलिंगनमा आत्मीय बनिरहेका जोडीको न्युड स्वरूप। बिनाकपडा बिछ्यौनामा आराम गरिहेका एक पुरुष। आफ्नो नग्न वक्षस्थल हेरेर मुस्कुराइरहेकी युवती। पार्कमा हात समाउँदै न्युड हिँडिरहेको जोडी। 

माथिका यी दृश्य झट्ट हेर्दा जोकोहीलाई अप्ठ्यारो लाग्न सक्छ। अश्लील भनेर अत्तालिन सक्छन्। तर नआत्तिनोस्, यी दृश्य वास्तविक नभएर, पेन्टिङ मात्र हुन्। हामीले दैनिक रूपमा गरिने व्यवहार र सम्बन्धलाई आर्टका माध्यमबाट प्रदर्शन गरिएका हुन्।  

‘नेपालियन आर्ट’ नामक वेबसाइटमा भर्चुअली न्युड सो सञ्चालन भइरहेको छ। तारागाउँ म्युजियमका निर्देशक तथा चित्रकार रोशन मिश्रको अनलाइन प्लेटफर्म ‘नेपालियन आर्ट’मार्फत न्युड आर्ट सो भएको हो। यहाँ लुगा नलगाएका मानिसका विभिन्न भावभंगीलाई पेन्टिङमा उतारिएको छ। 

यही क्रममा कोही आधा लुगामा छन् त कोही प्रकृतिमा यसै रमाएका छन्। चित्रमा उतारिएका पात्रहरू बिन्दास भएर आफ्नो शरीरसँग रमाइलो गरिरहेका देखिन्छन्। विभिन्न २० देशका ५७ वटा न्युड आर्ट समावेश यो भर्चुअल प्रदर्शनी १८ वर्षभन्दा कम उमेरसमूहका व्यक्तिले हेर्न मिल्दैन। 

नेपालमा पछिल्लो समय कला विधा राम्रोसँग फस्टाएको देखिन्छ। चित्र बनाएरै हजारौं चित्रकारले जीवनयापन गरिरहेका छन्। कोभिडको समयमा पनि घरभित्रै बसेर चित्रकारले निकै जीवन्त चित्र बनाए तर कतिपय कलाकार चित्र बेच्न नपाएर समस्यामा परेका छन्। सरकारले अझै पनि ग्यालरी खोल्ने अनुमति दिएको छैन। यसैले पनि विभिन्न कलाकार भर्चुअल रूपमै चित्र प्रदर्शनीमा जुटेका छन्। 

नेपालमा न्युड आर्टको विषय धेरै पुरानो हैन। यो विधामा कलम चलाउने निकै कम मात्रै चित्रकार छन्। तर न्युडलाई अश्लील भनेर बुझ्ने हाम्रो सामाजिक मान्यता विस्तारै परिवर्तन भइरहेको छ। न्युड चित्रकार कपिलमणि दीक्षित न्युड भनेको प्रकृति र यथार्थ भएकाले यसलाई सौन्दर्यका रूपमा लिनुपर्ने मान्यता राख्छन्। उनी भन्छन्, ‘लुगा त बाहिरी आवरण मात्रै हो। न्युड अवस्थामा मात्रै संसारका सबै मानिस समान देखिन्छन्। जुन प्राकृतिक पनि हो।’ 

दीक्षितका अनुसार मानिसलाई एक–अर्काबाट विभेद गर्ने, वर्ग, जात, धर्म छुट्ट्याउने बाहिरी आवरणमा छोपिएको कृत्रिम मानिस कसरी वास्तविक हुन्छ। खासमा न्युड सुन्दर हुन्छ। यसले सुन्दरतालाई बोकेर हिँड्छ। 

क्युरेटर कपिलका अनुसार ग्यालरीमा न्युड आर्ट प्रदर्शन गर्दा मानिसहरू हेर्न आउन लाज मान्थे। कलाकारसँग भेट्न, छलफल गर्न अप्ठ्यारो मान्थे। तर, भर्चुअल रूपमा प्रदर्शनी गर्दा धेरैले निसंकोच हेरिरहेका, छलफल गरिरहेका छन्। कपिल भन्छन्, ‘न्युडिटीलाई खुला रूपमा बुझ्न जरुरी छ। आफ्नो शरीरका बारेमा बुझ्न जरुरी छ। न्युडमा मात्र मान्छे समान हुने गर्छ।’ 

नेपाली समाजमा यौनशिक्षा अहिले पनि संकुचनमा छ। हुर्किंदै गरेका किशोर–किशोरीले आफ्ना यौन अनुभूति बुवाआमालाई भन्ने वातावरण छैन। यसले गर्दा पनि न्युडिटीलाई अश्लील भनिने गरिएको छ।

न्युड आर्ट सोमा सहभागी हुने नेपाली चित्रकारको संख्या बढ्दो क्रममा छ। यसले घरमा चित्र बनाउने, न्युड आर्टमा लगाव भएका तर खुल्न नसकेका चित्रकारलाई खुल्ने वातावरण बन्दै गएको छ। तुलनात्मक रूपमा विदेशी कलाकारले बनाएका चित्रको तुलनामा नेपाली चित्रकार अझै पनि खुल्न सकेका छैनन्। ‘विदेशमा न्युडलाई अप्ठ्यारो रूपमा लिने चलन छैन। त्यसैले उनीहरूका चित्र तुलनात्मक रूपमा बोल्ड देखिन्छन्। लुगा नलगाएको रूख कहिल्यै अश्लील देखिएको छ ?’, कपिल भन्छन्, ‘ढुंगा, माटो, झरना, हिमाल लुगाबिना नै सुन्दर देखिएका छन्। अनि न्युड कसरी अश्लील ? नबुझेर हो, खासमा न्युडिटी त  रियल ब्युटी हो।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.