धार्चेमा जताततै डँडेलोले वनसम्पदा सखाप
गोरखा : गोरखाको दुर्गममा रहेको धार्चे गाउँपालिकाका सबै जंगलमा आगालागी भइरहेको छ। बिगत एकसातादेखि पालिकाभित्रका एकदर्जन भन्दा धेरै सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा डँडेलो लागिरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए।
‘बिगत केहीदिनदेखि रुप्सीताल सामुदायिक वन, प्राम्चा सामुदायिक वन, भूमेमण्डली सामुदायिक वनका सेमा प्रालाङ, सवो खर्क, नाङ्चे, मुण्डिली जंगल, पाङसिङ, दनसिरा, हुम्चेत, चाम्क्यो, स्याङराङ, चैडाँडा, नतुरडाँडामा डँडेलो लागिरहेको छ’, उनले भने, ‘डँडेलोले बहुमूल्य जडिबुटी, वन्यजन्तु, लोपोन्मुख तथा संरक्षित वनसम्पदा सखाप भइसक्यो। नियन्त्रण गर्न सफल भइएन।’
एउटा वनमा डँडेलो लगाएको आरोपमा एकजनालाई पक्राउ गरी प्रहरीलाई बुझाइएको उनले बताए। ‘शिकारी र घाँसको लोभले आगो लगाएका हुन् तर कुन कुन वनमा को को ले आगो सल्काए, थाहा पाउन सकिएन’, उनले भने, ‘कुख्यात शिकारीलाई पक्राउ गरी कारबाही प्रक्रियामा पठाइदिने योजना बनाएको छु।’ शिकारीको नामावली तयार गरिरहेको उनले बताए।
बारपाक सुलीकोटका डाँडाहरु, लाप्राकको डाँडापाखा सबैतिर डँडेलो सल्किएको अध्यक्ष गुरुङले बताए। धार्चे गाउँपालिकाको ३ उहियाको लेक, खोर्लाको लेक–२ केरौँजाको लेक७ लापुको लेकमा पनि डँडेलो मच्चिरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !