गण्डकीमा सत्ता-प्रतिपक्ष मिलेर एउटै प्रस्ताव ल्याउँदै
पोखरा : प्रतिनिधि सभा विघटन र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनपछि सबैतिरका सरकार धरमर हुँदा गण्डकीमा भने सत्ता र प्रतिपक्ष सबै दल एकै ठाउँमा उभिएका छन्। गण्डकी प्रदेश सभाको मंगलबार सुरु विशेष अधिवेशनमा प्रतिपक्षले प्रधानमन्त्री केपी ओलीको आलोचना गरे पनि यहाँको सरकारलाई कोभिड १९ र मूल्यवृद्धि नियन्त्रणमा साथ दिने प्रतिबद्धता जनाए।
यहाँका सबै ४ दलले यही अधिवेशनमा साझा संकल्प प्रस्ताव ल्याउने भएका छन्। कोभिड १९ लगायत विषयकै लागि डाकिएको अधिवेशनमा सबै दल एकै ठाउँ हुने गरी साझा प्रस्तावको प्रयत्न भएको हो। नेकपा विभाजन हुनुअघि नै प्रतिपक्ष कांग्रेस र जसपाले माग गरेअनुसार प्रदेश सभाको विशेष अधिवेशन मंगलबार डाकिएको थियो। अधिवेशनको पहिलो दिन सबै ४ पार्टीका संसदीय दलका नेताले सम्बोधन गरे। पार्टी विभाजनपछि नेकपाको दाहाल नेपाल समूहका सांसद सत्ता वा प्रतिपक्ष कुन लहरका कुर्चीमा बस्लान् भन्ने चासो थियो। उक्त समूह प्रतिनिधित्व गर्ने २ मन्त्रीसहित नेकपाका सबै सांसद सत्तापक्षकै दीर्घामा बसेका थिए।
निर्धारित कार्यसूची अनुसार सत्तारुढ नेकपाका तर्फबाट संसदीय दलका नेता तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नै अधिवेशनलाई सम्बोधन गरे। छुट्टै दलको मान्यताको खोजी गर्न प्रयासरत नेकपाको दाहाल नेपाल समूहबाट कसैले सम्बोधन गरेन। विधिवत छुट्टभिन्न नभएको हुँदा सिंगो नेकपाको प्रतिनिधित्व संसदीय दलका नेता स्वयं मुख्यमन्त्री गुरुङले गरे।
प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र प्रदेशको अर्काे दल जनता समाजवादी पार्टीका हरिशरण आचार्यले सम्बोधन गरे। ४ जनाको सम्बोधनपछि अधिवेशनको पहिलो दिनको बैठक सकियो। २६ पुसमा फेरि प्रदेश सभा बस्ने भएको छ।
मंगलबार ४ दलले यही अधिवेशनमा कोभिड १९ को रोकथाम र उपचार एवं नियन्त्रणका लागि साझा संकल्प प्रस्ताव ल्याउने सहमति गरेका थिए। त्यसै अनुसार मंगलबारको बैठकको कार्यसूची तय भएको थियो। २६ र २७ गते फेरि बैठक बस्ने र त्यसको सातादिनभित्र साझा संकल्प प्रस्ताव ल्याउने सहमति भएको जानकारी मुख्यमन्त्री गुरुङले संवाददाताहरुलाई दिए।
प्रमुख विपक्षी दल कांग्रेसका सांसद कुमार खड्काले कोभिड १९ नियन्त्रण र उपचार एवं रोकथामबारेमा साझा संकल्प प्रस्ताव लैजान प्रयत्न गर्ने मंगलबार दलहरुबीच सहमति भएको जानकारी अन्नपूर्णलाई दिए। उनले भने, ‘बुधबार पनि सर्वदलीय बैठक बस्दैछौं, त्यहाँ संकल्प प्रस्तावको बारेमा सहमति हुने विश्वास छ।’
प्रदेशको विशेष अधिवेशन माग गर्दा नै कांग्रेस र जसपाले कोभिड १९ नियन्त्रण, रोजगारी, मूल्यवृद्धि नियन्त्रण र प्रदेशका आयोजनाहरुको कार्यान्वयन गरी ४ बुँदा समेटेको थियो।
प्रदेश सभाहरुमा गण्डकीमा नै पहिलोचोटि विशेष अधिवेशन डाकिएको हो। विशेष अधिवेशनलाई विशेष बनाउनकै लागि र जनताका पक्षमा काम गर्न पनि सत्ता र प्रतिपक्ष मिलेर साझा संकल्प प्रस्ताव ल्याउनुपर्ने सम्बोधनको सुरुमै मुख्यमन्त्री गुरुङले बताएका थिए। प्रतिपक्ष दलका नेता पोखरेलले संघमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरी असंवैधानिक कार्य गरेको आरोप लगाए।
जनमोर्चाका कृष्ण थापाले जनताले स्थिरता चाहेर नेकपालाई दुई तिहाई दिँदा पनि अस्थिरता निम्त्याएको विचार राखे। उनले संघको कदमको विपक्षमा भए पनि स्थिरताका लागि गण्डकीको गुरुङ सरकारलाई विश्वासको मत दिने जानकारी पनि गराए। जसपाका आचार्यले कोभिड १९ नियन्त्रणमा लाग्न सरकारलाई आग्रह गरे। उनले पनि प्रधानमन्त्रीका ओलीको कदमको आलोचना गरेका थिए।
प्रतिक्रिया दिनुहोस !