म्याद सकियो, जौबारी सडक कालोपत्रे गर्ने काम अझै अलपत्र
गोरखा : ‘ज्यानले बचन के सारो लाएको, ब्यर्थै भएको जौबारी धाएको, रेलै घुमेर’ भनेर राम थापा र सुनिता सुब्बाले चार दसकअघि गीतमा भनेका थिए। कालोपत्रे सडकमा यात्रा गर्न पाउने जौबारीका बासिन्दाले २० वर्षअघिदेखि पालेको रहर पनि सोही गीतमा झैँ व्यर्थै भएको छ।
फिनामटार, जौबारी सडक कालोपत्रे गर्ने काम ठेकेदारको लापार्बाहीले तीनवर्षदेखि अलपत्र भएको स्थानीयबासीको गुनासो छ। फिनामटार, जौबारी, चैनपुर, भच्चेक सडकको सुरुको तीन किलोमिटर कालोपत्रे र चार किलोमिट ग्राभेल गर्न २०७४ सालको असार १४ गते गोरखा, कन्काई जेभी निर्माण कम्पनीले ११ करोड ४६ लाखको ठेक्का सम्झौता गरेका थिए।
नेपालका नाम चलेका नेता नारायणकाजी श्रेष्ठको जन्मघर जाने सो सडकको ट्रयाक खोल्ने काम २०५६ सालमा भएको थियो। ट्रयाक खुलेको १८ वर्षपछि कालोपत्रे गर्नका लागि ठेक्का लागेको थियो तर काम अलपत्र रहेको स्थानीयबासीको गुनासो छ। सम्झौतामा उल्लेख भए अनुसारको काम गर्ने म्याद गत असार ३० गते सकियो। तर अहिलेसम्म जम्मा ७८ प्रतिशत मात्र कार्यप्रगति भएको सडक योजना कार्यालय गोरखाले जनाएको छ। भुक्तानी भने नौ करोड ९२ लाख रुपैयाँ भइसकेको योजना प्रमुख राजेशकुमार यादवले जानकारी दिए।
नेकपाका नेता श्रेष्ठको जन्मघर जोड्ने सोही सडकका लागि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डाक्टर बाबुराम भट्टराईले पनि गत आर्थिक वर्ष एक करोड रुपैयाँ बिनियोजन गरेका थिए। तर ठेकेदारले समयमै काम नसक्दा बनिसकेको संरचनासमेत भत्किएर सुरुको अबस्था भन्दा पनि जीर्ण भएको छ। बनेको संरचना पनि गुणस्तरहीन रहेको स्थानीयबासीको गुनासो छ। ‘म एउटाले मात्र भनेको होइन, गाउँका सबैलाई सोध्नुस्, यो सडकको बनावट ठिक छैन’, स्थानीय सुमन दवाडी भन्छन्, ‘जति पनि पिच गरेको छ, त्यो दुई सेण्टिमिटर पनि बाक्लो छैन। सडकभन्दा तल लगाउने पर्खाल, सडकभन्दा माथि लगाउने पर्खाल कुनै पनि गतिलो छैन।’
लामो समयदेखि ठेकेदारले काम अलपत्र पारेको र गरेको काम पनि गुणस्तरहीन भएको बारे गाउँलेले गुनासो गरिरहेको सिरानचोक गाउँपालिका ८ का वडाअध्यक्ष झटकप्रसाद दवाडी बताउँछन्। ‘निर्धारित समयभित्र ठेकेदारले काम नगरेको, गरेको काम पनि गुणस्तरहीन भएको भनेर गाउँलेहरुले गुनासो गरिरहनु भएको छ’, वडाअध्यक्ष दवाडीले भने, ‘मैले सडक कार्यालयमा फोन गरेर यस बिषयमा कुरा पनि गरेको छु। अब प्राविधिकसहित आएर सडकको अनुगमन गर्नुपर्ने, बाँकी रहेको काम पनि यथासीघ्र सिध्याउनु पर्ने बिषयमा फेरि कुरा गर्नेछु।’
झण्डै १० करोड रुपैयाँ भुक्तानी लिइसके पनि ठेकेदारले तिर्नुपर्ने ठाउँमा रकम नतिरेको स्थानीयबासीको गुनासो छ। सडक योजना कार्यालयले पनि पिचको गुणस्तरबारे गुनासो आएकाले मापन नगरीकन भुक्तानी नदिने जनाएको छ। सो सडकको दुई किलोमिटर कटिङको काम पनि बाँकी रहेको सडक योजना कार्यालय प्रमुख यादवले बताए।
प्रतिक्रिया दिनुहोस !