अजिंगर भीरमा सडक निर्माण
बेनी : म्याग्दीको सबैभन्दा जोखिमयुक्त र कठिन मानिने दग्नामको अजिङ्गर भीर छिचोलेर रघुगंगा गाउँपालिकाका तीनवटा वडा सडक सञ्जालमा जोडिएका छन् । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने दग्नाम, दर्मीजा, चिमखोला र कुइनेमंगले अजिङ्गर भिरमा ट्याक खुलेसँग सडक सञ्जालमा जोडिएका हुन् ।
चिमखोला र कुइनेमंगमा निर्माणाधिन जलबिद्युत आयोजना र प्रदेश सरकारसँगको साझेदारीमा अक्करे भिरमा चट्टानी पहाड फुटाएर दुर्गम गाउँलाई सडक सञ्जालमा जोडिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।
‘अजिङ्गर भिरमा सडक खन्न यो वर्ष गाउँपालिकाले एक करोड पचास लाख र गण्डकी प्रदेश सरकारले पचास लाख बिनियोजन गरेको छ,’ उनले भने,'गत भदौ महिनादेखि सुरु भएको ट्याक खोल्ने काम सकिएको छ ।’
जलबिद्युत आयोजनाहरुसँग ट्याक निर्माणका लागि सरकारको बराबर लगानी गर्ने सम्झौता भएको थियो । मौवाफाँट–दग्नाम–दर्मीजा हुदै चिमखोला जोड्ने सडक रघुगंगा गाउपालिकाको गौरवको आयोजना हो ।
गाउँपालिकाका सब इञ्जिनियर कमल चोखालका अनुसार मौवाफाट देखि दग्नाम हुदै अजिङ्गर भिरसम्म ५ किलोमिटर र चिमखोला देखि दर्मीजासम्म करिब ४ किलोमिटर सडकको ट्याक यसअघिनै खुलिसकेको थियो ।
‘गाउँपालिका, प्रदेश सरकार र जलबिद्युत आयोजनाले प्याकेज छुट्टाएर फरक–फरक ठाउँमा काम गरेका छौ, 'उनले भने, 'कहाँ कति खर्च भयो भन्ने कामको मूल्याङ्कन र नापजाँच हुन बाँकी छ ।' अजिङ्गर भीरमा करिब पाँच सय मिटर सडक निर्माण भएको छ ।
जलविद्युत आयोजनाहरुको सहयोगमा नेपाली सेनाको निगरानीमा बिस्फोटक पदार्थको प्रयोग गरेर फुटाइएको चट्टान व्यवस्थापन गर्न डोजर र ब्रेकर प्रयोग भएको थियो । सडक निर्माणको अगुवाई गरेका दर्मिजाका सुबिन शेरपुञ्जाले परिकल्पनानै नगरेको ठाउँमा सडक खनेर गाडी गुडाउन पाउँदा खुसी व्यक्त गरे । 
‘ट्याक खुलेपछि रघुगंगा–४ दर्मीजा, ७ चिमखोला र ८ कुइनेमंगले सिधा सडक सञ्जालमा जोडिएका छन,' उनले भने, 'केही साघुरो ठाउँलाई फराकिलो बनाएर नियमित यातायात सञ्चालनको तयारीमा छौं ।’
गत आर्थिक वर्षमा प्रदेश सरकार र संघीय सरकारले पनि दग्नाम–दर्मीजा–चिमखोला सडक आयोजनालाई सडक बिनियोजन गरेका थिए । वि.स २०६७ मा स्थानीयबासी, तत्कालीन जिविस र गाबिसको ६० लाख रुपैयाँमा निर्माण भएको भगवति, बेग– चिमखोला हुदै घ्यासीखर्क जोड्ने ५६ किलोमटिर दुरिका सडक घुमाउरो, प्राबिधिक हिसाबले अनुपयुक्त, जोखिमयुक्त र लामो दुरीको भएकाले विकल्पमा नयाँ सडक निर्माण भएको हो ।
जिल्ला सदरमुकाम बेनी, गाउपालिकाको केन्द्र मौवाफाँट आउन र फर्कन दग्नाम–दर्मीजाको पैदलमार्गको प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । पुरानो सडकमा गाडी चढ्दा पुरै दिन लाग्ने तर हिडेर पाँच÷छ घण्टामै बेनी आउन सकिने अवस्था थियो ।
दर्मिजा, चिमखोला र कुईनेमंगलेका करिब एक हजार घरधुरी भिरपहरा, जंगल र खोल्साखाल्सीमा जोखिम मोलेर हिड्नुपर्ने बाध्यता हटेको छ । बिरामी पर्दा र अन्य कामले सदरमुकाम आउन जानका लागि पैदलयात्रा गर्नुपर्ने समस्या हटेकोमा खुसी भएका छन् ।
खच्चर, भरिया र ट्याक्टरबाट गरिने ढुवानी भाडा महँगो परेको थियो । नयाँ सडक पुरानो भन्दा आधा छोटोका साथै सुरक्षित र सस्तो पनि छ । सडकले दुर्गम बस्तीको जनजिबन सहज बन्नुका साथै राहुघाट र आसपासका नदीहरुमा निर्माणको अनुमति लिएर बसेका जलविद्युत आयोजनाहरुले गति लिने रघुगंगा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।
प्रतिक्रिया दिनुहोस !