दश महिनापछि खुल्यो तातोपानी कुण्ड

दश महिनापछि खुल्यो तातोपानी कुण्ड

बेनी : म्याग्दीका प्राकृतिक तातोपानीका कुण्डहरु दश महिनापछि खुलेका छन्। कोरोना (भाइरस)को जोखिमका कारण गत चैत ४ गतेदेखि बन्द भएका तातोपानीका कुण्डहरु माघ १ गतेदेखि सञ्चालनमा आएका हुन्। 

केही समयदेखि स्थानीय व्यक्तिहरुका लागि मात्र खुला गरिएको तातोपानी कुण्डमा अब बेजिल्लाबाट आएकाहरुलाई पनि स्नान गर्न पाउने व्यवस्था मिलाइएको कुण्ड व्यवस्थापन समितिका पदाधिकारीहरुले जानकारी दिएका छन्। 

बेनी नगरपालिका–४ को सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कुण्डमा स्नान गर्न सकिने बताए।  

यसैगरी पर्यटकीय स्थल भुरुङ–तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष अमृतमान शेरचनले सबै किसिमका पाहुनाहरुका लागि स्नानका लागि खुल्ला गरिएको जानकारी दिए। 

अन्य पर्यटकीय स्थल र मुस्ताङको पर्यटन खुलाएकाले स्थानीय होटल व्यवसाय र अर्थतन्त्रलाई चलायमान बनाउन कुण्ड सञ्चालनको निर्णय गरेको उनले बताए। कुण्डमा आउने बिरामी तथा पर्यटकको माध्यमबाट कोरोना भित्रने जोखिमलाई मध्यनजर गर्दै कुण्ड बन्द गरिएको थियो। 

सिंगाको तातोपानी कुण्ड प्राकृतिक चिकित्सालय र भुरुङ्ग–तातोपानी कुण्ड पर्यटकीय स्थलको रुपमा परिचित छ। पालिका र प्रशासनसँग समन्वय गरेर कुण्ड सञ्चालन गरिएको व्यवस्थापन समितिले जनाएका छन्। 

म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, खाना रुची नहुने लगायतका स्वास्थ्य समस्या निको हुने विश्वास छ।     
वीरेनून र गन्धन (सल्फर) तत्व सहितको ४५ देखि ५७ डिग्री सेल्सीयस तातोपानी निस्कने मुहान रहेको छ। सिंगाका साथै मुस्ताङ जाने बेनी–जोमसोम सडक अन्तरगत अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा कालीगण्डकी किनारमा रहेको तातोपानी कुण्ड पर्यटकीय स्थलको रुपमा परिचित छ। 

अन्नपूर्ण गाउँपालिकाको पाउद्धार, पोखरेबगरको रातोपानी, दोवाको सेकार्कु, रघुगंगा गाउँपालिकाको दर्मीजा, धवलागिरी गाउँपालिकाको बगर र गुर्जामा प्राकृतिक तातोपानी कुण्ड छन्। यी कुण्डहरुमा पनि स्नान गरेर उपचारका लागि बिरामीहरु आउँछन्। 

यसैबीच पर्बतको जलजला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई समेटेको अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग पनि बिहीबारदेखि सञ्चालन गरिएको छ। सञ्चालक समितिका कोषाध्यक्ष रमन पुनले पदमार्गका सामुदायिक होटल र होमस्टे खुल्ला गरिएको जानकारी दिए।  

यो पदमार्गले जलजला गाउँपालिकाको बाँसखर्क, डाडाकटेरी, अन्नपूर्ण गाउँपालिकाको नागी, मोहरेडाडा, फुलबारी, बयली, ढाडखर्क, खोपारा, पाउद्धारलाई समेटेको छ। पर्यटकीय स्थल घोरेपानी र पुनहिल गत पुष महिनादेखिनै खुल्ला गरिएको थियो। 

आन्तरिक पर्यटकको चहलपहल भएपनि विदेशी पर्यटक अझै आउन सकेका छैनन्। म्याग्दी हुँदै मुस्ताङ जाने स्वदेशी पर्यटकहरुको पनि आवत जावत बढ्न थालेको छ। कोरोनाले थला पारेको होटल र पर्यटन व्यवसाय पूर्ण रुपमा चलायमान हुन अझै समय लाग्दे देखिएको छ। फाट्टफुट्ट पर्यटक आउन थालेपछि व्यवसायमा राहत महशुस गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.