पर्यटकले भरियो लिगलिगकोट
गोरखा : नेपाल एकीकरणको जग गोरखाको लिगलिगकोट अहिले आन्तरिक पर्यटकले भरिभराउ छ। प्रसिद्ध लिगलिगकोट दरबार, कोट, किल्ला तथा भर्खरै स्थापित नेपालकै सबैभन्दा अग्लो राष्ट्रियझण्डाको अवलोकन गर्न पर्यटकको घुइँचो लाग्ने गरेको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए।
‘पहिले पनि अलिअलि पर्यटक त आउँथे। तर, अहिले अतिधेरै आउन थाले’, उनले भने, ‘कोरोनाको त्रास छँदाछँदै त यति धेरै पर्यटक आएका छन्, अब कोरोनाको त्रास हटेपछि पर्यटकको थामिनसक्नु ओइरो लाग्ने अनुमान गरेका छौं।’ नेपालको इतिहास पढ्नेहरू एकपटक लिगलिगकोट पुग्नैपर्ने उनको भनाइ छ।
लिगलिगकोटबाट विशाल नेपाल एकीकरणको सिलान्यास भएको, प्रतिस्पर्धामा उछिन्ने सर्वसाधारणले शासन गर्ने लोकतान्त्रिक परिपाटी संसारमै सबैभन्दा पहिले लिगलिगकोटबाट सुरु भएकाले यसको महत्व विश्वभर फैलाउनु पर्ने उनले बताए। ‘राजाको छोरो राजा हुने परिपाटी लिगलिगकोटमा थिएन। यहाँ जो क्षमतावान छ, जो सक्षम छ, उही राजा हुने अभ्यास यहाँ थियो। किसानको छोरो पनि राजा हुन पाउने गणतान्त्रिक अभ्यास ४६२ वर्षअघि यहाँबाटै सुरु भएको हो। समावेशिताको अभ्यास सबैभन्दा पहिले यहीँबाट सुरु भएको थियो’, अभियानका अध्यक्ष राना मगरले भने, ‘अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता यहीँबाट सुरु भएको हो। सबैभन्दा ठूलो पुरस्कार राशिको सुरुवात पनि यहीँबाट भएको थियो। पहिलो राजदूतको व्यवस्था पनि यहीँबाट सुरु भएको थियो। पहिलो राजदूत सुदर्शन देवकोटा जुम्लाबाट राजदूत भई यहाँ आएका थिए। ४५० वर्ष लामो इतिहास बोकेको शाही सेनाको सुरुवात पनि यहीँबाट भएको थियो। त्यसैले जसरी चारधाम गरेर पशुपतिनाथ एकपटक पुग्नैपर्छ भन्ने मान्यता छ, त्यसैगरी नेपाली भएर नेपाल एकीकरणको उद्गमस्थल लिगलिगकोट एकपटक पुग्नै पर्छ।’
लिगलिगकोट पर्यटकले भरिभराउ हुन थालेपछि स्थानीयबासीले यहाँको मगरगाउँ तथा ठकुरीगाउँमा होमस्टे निर्माण गर्न थालेका छन्। हाल सातवटा होमस्टे घर निर्माण भइसकेको लिगलिगकोट होमस्टे समितिका संरक्षक वेदबहादुर रानाले बताए। ‘पालुङ्टार नगरपालिका र अन्य सहयोगीको साथ र सहयोगमा हामीले सात वटा होमस्टे घर निर्माण गरेका छौं। सबैमा गरेर ३५ देखि ४० जना पर्यटकलाई हामी बसोबासको व्यवस्था गर्न सक्छौं’, उनले भने, ‘हामी यहाँ आउनुहुने आन्तरिक तथा वाह्य पर्यटकलाई अर्गानिक खाना खुवाएर स्थानीय कला संस्कृतिद्वारा पाहुनालाई सम्मान गर्न सक्छौं।’
लिगलिगकोटको महिमालाई मध्यनजर गरी नगरपालिकाको नाम लिगलिगकोट कायम गर्न आफूले पहल गरेको पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए। ‘लिगलिगकोटको प्रसिद्धिलाई ध्यानमा राखी हामीले नगरपालिकाको नाम नै लिगलिगकोट नगरपालिका राख्न पहल गरिराखेका छौं’, मेयर कँडेलले भने, ‘यहाँको पर्यटन विकास गर्न हामीले गुरु योजना बनाएका छौं।’
प्रतिक्रिया दिनुहोस !