गण्डकी प्रदेशमा कोभिड नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव
पोखरा : गण्डकी प्रदेश सभामा सत्ता र प्रतिपक्षसमेतको सहमतिमा कोभिड नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव पेस भएको छ। प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरलेले प्रस्ताव पेस गरेका हुन्।
सकारात्मक सुझाव, दिशानिर्देश गर्ने गरी सबै दलबीच साझा संकल्पको प्रस्ताव ल्याउने सहमति सत्तारुढ नेकपासहितका दलले गरेका थिए।
सत्तारुढ नेकपा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी, जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्य, नेकपा सचेतक गायत्री गुरुङ र राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा प्रस्तावको समर्थक छन्। प्रमुख सचेतक अधिकारी नेकपा ओली पक्षका हुन् भने सचेतक गुरुङ नेकपाको अर्को समूह दाहाल नेपाल पक्षकी हुन्।
प्रस्ताव पेस गर्दै नेता पोखरेलले महामारीमा जनताका समस्या समाधान भन्दा प्रचार धेरै भएको टिप्पणी गरे। उनले भने, ‘प्रतिपक्षीको सुझावलाई पनि आत्मसात गरिएन, निर्णय गर्ने लागु नगर्ने प्रवृत्तिमात्र देखाइयो। प्रदेशले केही गरेन भन्नु पनि न्यायोचित हुँदैन र गरेको भन्न पनि पूर्ण काम गरेको भन्न सकिन्न।’ पोखरेलले कोरोना कोषको रकम पनि जनताका लागि खर्च हुन नसकेको सुनाए। ‘करोडौं रकम कोरोना कोषमा राखियो, तर जनताका लागि प्रयोग गरिएन,’ उनले भने।
प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले सकेजति काम गरिरहेको र विपक्षीले भनेझैं काम नै नभएको भन्ने कुरा सही नभएको बताइन्।
अस्पताल, जनशक्ति, बजेट, आइसोलेसन केही पनि नरहेको अवस्थाबाट काम सुरु गरेको उनले सुनाइन्। ‘सीमित स्रोत साधनको अधिकतम प्रयोग गरेका छौं,’ उनले भनिन्। मन्त्री पुनले विदेशबाट आउनेलाई राख्न क्वारेन्टिनमा राख्न १ करोड ५३ लाख रुपैयाँ निकासा गरेको जानकारी दिइन्। १४१३ शैय्याका ४० आइसोलेसन केन्द्र बनाइएको पनि उनले बताइन्। कोरोना कोषमा ३४ करोड ७८ लाख जम्मा भएको र २७ करोड ८ लाख रुपैयाँ खर्च भएको फेहरिस्त मन्त्री पुनले पस्किइन्।
नेकपा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले सरकारी अस्पतालको स्तरोन्नतिमा सफलता मिलेको विचार राखे। ‘तर जनता यतिले मात्र सन्तुष्ट हुने अवस्था होइन,’ उनले भने, ‘सरकारले काम गर्या छ, संघीयताको बलमा कोरोनालाई जितेका हौं।’
राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले कोभिडबारे संकल्प प्रस्ताव ल्याउन ढिला भएको धारणा राखिन्। नेकपा सांसद राजीव पहारीले सरकारले काम नगरेको भनेर प्रतिपक्षी सांसदले गलत प्रचार गरेको बताए। ‘सरकारले नगरे छाया सरकारले गर्यो त ? उनले भने। कांग्रेस सांसद विष्णुप्रसाद लामिछानेले सुझाव नमानेर सरकारले कोरोना केबल प्रतिपक्षीको मात्र टाउको दुखाइको विषयको रुपमा रुपमा लिएको बताए।
नेकपा सांसद दीपक चर्ती मगर, नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडी, कांग्रेसकै सांसद मेघराज श्रेष्ठ लगायतले बोलेका थिए। सोमबार पनि संकल्प प्रस्तावमाथि छलफल हुनेछ।
गण्डकीमा अहिले विशेष अधिवेशन चलिरहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले मुख्य ४ विषयमा छलफल हुनुपर्ने मागसहित विशेष अधिवेशनको मागेका थिए।
बजेट कार्यान्वयन, बेरोजगारी र महँगी र कोरोना नियन्त्रणका विषयमा छलफल हुनुपर्ने माग थियो। तीमध्ये कोरोना नियन्त्रणबाहेक अरु ३ विषयलाई जरुरी सार्वजनिक महत्वको प्रस्तावका रुपमा प्रदेशसभामा छलफल भइसकेको छ।
प्रतिक्रिया दिनुहोस !