सभाहल निर्माणमा चलखेल
बेनी : प्रदेश सरकारसँगको साझेदारीमा म्याग्दीका मालिका गाउँपालिकाले एक करोड ४ लाख रुपैयाँ ठेक्कामा दरवाङको छ्यारछ्यारेमा १५० जना क्षमताको बहुउद्देश्यिय सभाहल बनायो।
हालै निर्माण सकेर हस्तान्तरण हुन बाँकी सभाहलको लम्बाई ७७ फिट ७ इञ्च र चौडाई ४२ फिट ३ ईञ्ज छ। एकतले सभाहल भवनमा पिल्लर बनाइएको छैन्। स्टेज, दुई वटा चेञ्जिङ रुम, तीन वटा शौचालय, पानी टंकी बनाइएको छ।
टिनको छाना भएको भवनमा फलामका ट्रस राखिएको छ। ११ फिट अग्लो इटाको पर्खाल लगाइएको भवनको भुई ढलान गरिएको छ भने ट्रसको उचाई ५ फिट छ।
रघुगंगा गाउँपालिकाले प्रदेश सरकारसँगको साझेदारीमा मौवाफाँटमा बनाउन लागेको सभाहलको डिजाइन भने मालिकाको भन्दा फरक छ। पिल्लर राखिने तीन तले भवनको भुई तलामा बन्ने सभाहलको ढलान, पहिलो तलामा कोठा पार्टेसन गरेर फिनिसिंग र तेसो तलामा पिलर उठाउन हिमालयन बिल्डर्स ललितपुरले भ्याटसहित ६७ लाख सात हजार ५२६ रुपैयाँमा ठेक्का लिएको छ।
गाउँपालिकाकै प्राविधिकले डिजाइन तयार पारेको यो सभाहल भवनको लम्बाई ४८ फिट र चौडाई ३७ फिट रहेको छ। दरवाङको सभाहल निर्माणको डिजाइन र ठेक्का प्रक्रिया प्रदेश सरकार अन्तरगत यो वर्षदेखि खारेज भएको भवन डिभिजन कार्यालय बागलुङका कर्मचारीले गरेका थिए।
दुई वटै भवन प्रदेश सरकारको एक स्थानीय तह एक सभाहल कार्यक्रम अन्तरगतका हुन्। गाउँपालिकाले सञ्चालन गर्ने योजनाको डिजाइन र ठेक्का प्रक्रियामा भवन डिभिजनका कर्मचारीको संलग्नता र सक्रियतालाई शंकाको रुपमा हेरिएको छ।
अस्वभाविक लागत बनाएर डिजाइन, ठेक्का प्रक्रियामा मिलेमतो र भवन निर्माणमा अनियमितता गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय मार्फत छ्यारछ्यारेमा निर्माण भएको सभाहलको छानबिन सुरु गरेको छ। _20210201095951.jpg)
म्याग्दीको मालिका–६ छ्यारछ्यारेमा निर्माण भएको बहुउद्देश्यीय सभाहलको नापजाँच गर्दै छानबिन टोली। तस्बिर :सन्तोष गौतम
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले आयोगको निर्देशन अनुसार प्राविधिक सहितको टोली बनाएर छानबिन सुरु गरेको जानकारी दिए। ‘छानबिन टोलीले भवनको नापजाँचका साथै सम्बन्धित कागजातको अध्ययन सुरु गरेको छ,’ उनले भने ‘कागजातको अध्ययन र नापचाजँपछि तयार पार्ने प्रतिवेदन प्रशासनमा बुझाउछ। त्यसलाई रायसहित थप अनुसन्धानका लागि अख्तियारमा पठाउँछौ।’
टोलीमा प्राविधिक, प्रशासनिक र लेखासँग सम्बन्धित अधिकृत स्तरका कर्मचारी छन्। मालिका गाउँपालिकाको ६० र प्रदेश सरकारको ४० प्रतिशत लागत साझेदारीमा सभाहल निर्माण भएको हो। बागलुङको जयलक्ष्मी निर्माण सेवाले २०७६ फागुन १५ गते एक करोड चार लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
विद्युतीय माध्यमबाट आव्हान गरिएको ठेक्का प्रक्रियामा दुई वटा फर्मले सहभागिता जनाएका थिए। २०७८ जेठ १५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको भवन गत पुष महिनामै सकिएको छ। लक्ष्यभन्दा छिटो काम भएको सो सभाहलको डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रियाका बिषयमा दरबाङका बासिन्दाहरुले शंकास्पद भएको प्रश्न उठाएका छन्।
गाउँपालिकाका लेखा अधिकृत फडिन्द्रप्रसाद आचार्यकाअनुसार बीस लाख रुपैयाँ पेस्की लगेका निर्माण व्यवसायीले दोस्रो चरणमा थप तीस लाख भुक्तानी लगेका छन्। अन्तिम बिल भुक्तानी गर्न कर्मचारीहरुले आनाकानी गरेको ठेकेदार कम्पनीका प्रतिनिधि बाबुराम सापकोटाले बताए।
सभाहलको ढोकामा प्रयोग भएका काठ बाङ्गिएपछि प्राबिधिकले फेर्न लगाएको थिए। सभाहल निर्माणमा आवश्यक पर्ने बालुवा निर्माण स्थलकै प्रयोग गरिएको मजदुर नाइके छिरी शेर्पाले बताए। डिजाइन र लागत अनुमानमा भने बाहिरबाट खरिद गर्ने उल्लेख छ।
मालिका गाउँपालिकाका इञ्जिनियर नमनारायण ढुङ्गानाले आफूहरु नियुक्त हुनुअघिनै भवन डिभिजनका प्राबिधिकले गरेको डिजाइन र ठेक्कामा १५ प्रतिशत ओभरहेड, १० प्रतिशत नाफा र डेढ प्रतिशत जमानत समेत जोडिएकाकाले लागत बढी देखिनु स्वभाविक भएको प्रतिक्रिया दिए।
मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले प्रदेश सरकारले तयार पारेको डिजाइन अनुसार भवन डिभिजनको प्राविधिक सहयोगमा ठेक्का लगाई पालिकाका प्राविधिकहरुको निगरानीमा सभाहल निर्माण भएको हुनाले शंका गर्नु नपर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस !