हिउँले ढाक्यो म्याग्दीको लेकाली बस्ती (फोटोफिचर)
बेनी : हिमाली जिल्ला म्याग्दीको लेकाली क्षेत्रमा हिमपात सुरु भएको छ । शुक्रबार बिहानैदेखिको हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । धवलागिरी गाउँपालिकाको गुर्जा र अन्नपूर्ण गाउँपालिकाको घोडेपानीमा हिउँ परेको छ । खोपारा, पुनहिल, मोहरेडाडा लगायत पर्यटकीयस्थल पनि हिउँले ढाकिएका छन् ।
पर्यटकीय बस्ती घोडेपानीको टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले यो वर्ष पहिलो पटक हिउँ परेको बताए । 'गत असोज दोस्रो हप्तापछि बल्ल अहिले वर्षा र हिउँ पर्यो,' उनले भने, 'हिउँले डाँडाकाँडा सेताम्मे भएका छन् ।' घोडेपानीमा दिउँसोसम्म एक फिट भन्दा बाक्लो हिउँ जमेको छ ।
चिसोले धाराको पानी जम्न थालेको छ । गुर्जामा पनि हिउँ परेपछि सञ्चार सम्पर्क विच्छेद भएको छ । मुनादेखि लुलाङहुँदै गुर्जा जाने पैदलमार्ग पनि बाटोमा हिउँ जमेर अवरुद्ध भएको छ । चिसो बढेपछि सर्वसाधारण घरभित्रै आगो तापेर बसेका छन् ।
सुख्खा र खडेरीले गहुँ, जौ, तोरी, आलु लगायत हिउँदे बाली प्रभावित भएको थियो । धवलागिरी गाउँपालिका–७ काफलडाडाका रेशम शर्माले करिब पाँच महिनापछि भएको वर्षाले कृषकलाई राहत मिलेको बताए ।
'खेतबारीमा लगाएको हिउँदेबाली सुक्न थालेका थिए,' उनले भने, 'वर्षाले आकाशे पानीको भरमा खेती गर्ने सिचाइँ सुविधा नभएका ठाउँका कृषक खुसी भएका छन् ।’ आकाशे पानी र हिउँले जमिन चिसो बनाउने, मल भिजेर बिरुवाका लागि आवश्यक तत्व आपूर्ति हुने र उत्पादन बढ्न सहयोग पुग्ने कृषक बताउँछन् । 









प्रतिक्रिया दिनुहोस !