गोरखाका स्थानीय तहले नदीजन्य सामग्री उत्खननमा आलटाल गर्दा चोरी बढ्यो
गोरखा: गोरखाका अधिकांश पालिकाले अहिलेसम्म ढुंगा, गिटी, बालुवा उत्खनन् कार्य सुरु गरेका छैनन् । उत्खनन् गर्न पाउने अवधी जम्मा चार महिना मात्र बाँकी छँदा अहिलेसम्म कतिपयले ठेक्का आह्वान नै नगरेको र कतिपयले भर्खरै ठेक्का नै नगर्ने जनाएका छन् ।
विधि र प्रक्रियाअनुसार उत्खनन हुन नपाउँदा अधिकांश घाटहरुमा ढुंगा, गिटी, बालुवा चोरी भइरहेका छन् । ‘घाटबाट धमाधम ढुंगा, गिटी, बालुवा चोरी भएका छन् । त्यस्ता घाटबाट निर्धारित परिमाणमा ढुंगा, गिटी, बालुवा नपाउने भएकाले ठेकेदारले ठेक्का हाल्नै मुस्किल छ’, पालुङ्टार नगरपालिका ९ का वडाअध्यक्ष भेजराज पाण्डेले भने ।
अजीरकोट गाउँपालिका, बारपाक सुलीकोट गाउँपालिका, सिरानचोक गाउँपालिका, शहीद लखन गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले अहिलेसम्म नदीजन्य सामग्री उत्खनन्को ठेक्का आह्वान गरेका छैनन् । नदीजन्य सामग्री उत्खननको ठेक्का नै नगर्ने बारपाक सुलीकोट र भीमसेनथापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले जनाएका छन् ।
सिरानचोक र शहीद लखन गाउँपालिकाले ठेक्का आह्वान गर्ने क्रममा रहेको बताएका छन् । गोरखा नगरपालिका, धार्चे र गण्डकी गाउँपालिकाले भने भर्खरै उत्खनन्सम्बन्धी ठेक्काको सूचना प्रकाशित गरेको जनाएका छन् ।
पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकाले यसअघि नै ठेक्का प्रक्रिया पूरा गरी उत्खनन् कार्य सुरु गरिसकेको छ । चेपे, मस्र्याङ्दी र दरौँदी नदीका विभिन्न घाटमा गरी तीन प्याकेजमा उत्खननको ठेक्का लागेको पालुङ्टार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज सापकोटाले जानकारी दिए । त्यस्तै दुईवटा प्याकेजमा ठेक्का लागेको आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए ।
बिगतमा धेरै पटक ठेक्काको सूचना आह्वान गर्दा पनि ठेक्का नलागेकाले यस वर्ष ठेक्का नगरिएको बारपाक सुलीकोट गाउँपालिकाले जनाएको छ । ‘गत वर्ष पाँच, छ पटकसम्म ठेक्का आह्वान गर्दा पनि कसैको ठेक्का परेन । त्यसैले यस वर्ष ठेक्का नै नगर्ने भएका छौं’, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले भने, ‘हाम्रो पालिकाभित्रका घाटमा खासै ढुंगा, गिटी, बालुवा पनि छैनन् ।’ विकास निर्माणको परियोजनाले माग गरेको आधारमा उत्खनन अनुमति दिने उनले बताए ।
बूढीगण्डकी जलविद्युत आयोजनाले बालुवा उत्खनन नगर्न भनेर बारम्बार पत्राचार गरेकाले यस वर्ष बूढीगण्डकी किनारका घाटहरुमा उत्खनन ठेक्का नगरिने भीमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाको तर्क छ ।
गोरखा नगरपालिकाले सातवटा प्याकेजका लागि दाखिला भएका सिलबन्दी दरभाउपत्र मूल्यांकनको चरणमा रहेको जनाएको छ ।
धार्चेले छ वटा घाटमा ८५ लाखको टेण्डर गरेको छ भने गण्डकी गाउँपालिकाले १२ वटा प्याकेजमा सूचना जारी गरेको जनाएको छ । सिरानचोक गाउँपालिकाले भने आइईई स्वीकृतको अन्तिम चरणमा रहेको जनाएको छ । त्यस्तै आईईई स्वीकृत गरेर ठेक्का आह्वानको अन्तिम चरणमा रहेको शहीद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले बताएका छन् ।
ठेक्का प्रक्रिया सुरु नगरेका पालिकाहरुमा नदीजन्य सामग्री उत्खननमा ढिलाइ हुने भएको छ । ठेक्का प्रक्रिया पूरा गर्न कम्तिमा पनि एक महिना लाग्ने र बाँकी रहेको तीन महिनामा उत्खनन गरी सक्न हतपतमा लतपत हुने अवस्था रहेको कतिपयको टिप्पणी छ ।
प्रतिक्रिया दिनुहोस !