अब बिजुली खेर जाँदैन

अब बिजुली खेर जाँदैन

बेनी : मुस्ताङको थासाङ–२ कोवाङस्थित १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु गरेको तीन वर्षपछि केन्द्रीय प्रसारण लाइनमा जोडियो। प्रसारण लाइन र सबस्टेसन नहुँदा थापाखोलाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकेको थिएन। 

३३ केभी क्षमताको बेनी–जोमसोम लाइनको कोवाङ सबस्टेसनको क्षमताले नधान्दा बढीमा ६.८ मेगावाट मात्रै विद्युत् केन्द्रीय लाइनमा जोडेको थापाखोलाले पूर्ण क्षमतामा चलाउन नपाउँदा ९२ करोड रुपैयाँ आम्दानी गुमाउनु परेको प्रवद्र्धक माउन्ट कैलाश इनर्जीका अध्यक्ष भरत खड्काले बताए। 

‘हामीले ३८ महिनाअघि थापाखोला निर्माण सकेका थियौं,’ उनले भने, ‘२२० केभी क्षमताको दाना सबस्टेसन र प्रसारण लाइन बनेपछि विद्युत् खेर फाल्नुपर्ने अवस्था अन्त्य भयो।’ थापाखोलाले दानासम्म यसअघि नै प्रसारण लाइन निर्माण गरेको थियो। 

म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा २०७६ माघमा निर्माण सकिएको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाले ३३ केभी क्षमताको घराप सबस्टेसनबाट करिब दुई मेगावाट मात्र विद्युत् केन्द्रीय लाइनमा जोडेको थियो। 

‘प्रसारण लाइन र सबस्टेसन नपाएर एक वर्षसम्म विद्युत् खेर पाल्दा १० करोड र बैंकको ब्याज तिर्दा १० करोड क्षति भएको छ,’ घलेम्दी हाइड्रो पावरका सञ्चालक प्रमोद श्रेष्ठले भने, ‘राज्यले समयमा पूर्वाधार, अनुकूल नीति र लगानीमैत्री वातावरण बनाउन नसक्दा नोक्सानी व्यहोर्नु र दुःख पाउनु परेको छ।’

म्याग्दीको अन्नपूर्ण–३ दाना र पर्वतको कुश्मा–२ खुर्कोटमा सबस्टेसन र प्रसारण लाइन बनाएपछि भने कालीगण्डकी र आसपासका क्षेत्रमा जलविद्युत् आयोजना निर्माणले गति लिने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका श्रेष्ठको अपेक्षा छ। 

कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले लक्ष्यभन्दा दुई वर्ष ढिला गरी २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेसन निर्माण गरेको हो। सन् २०१८ को नोभेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ति, जग्गाधनीसँगको विवाद, बाढी र पहिरोका कारण लक्ष्यभन्दा दुई वर्ष ढिला गरी आयोजना निर्माण सकिएको हो। एसियाली विकास बैंकको सहयोगमा सन् २०१६ को ३० मेमा दाना–खुर्कोट प्रसारण लाइन आयोजना निर्माण सुरु गरेकोे थियो। 

प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न टाटा–चिन्ट इलेक्ट्रिक जेभीले २ अरब ९० करोड रुपैयाँमा ठेक्का लिएको थियो। दाना सबस्टेसन म्याग्दीको जलविद्युत् विकासको ‘सेतु’ बनेको छ। 
आयोजना प्रमुख चन्दनकुमार घोषले दुवै ठाउँमा निर्माण भएका सबस्टेसन र प्रसारण लाइनको परीक्षण सकेर थापाखोला र घलेम्दीको विद्युत् केन्द्रीय लाइनमा जोडिएको बताए। ‘थापाखोला र घलेम्दीले अब विद्युत् खेर फाल्नु पर्दैन,’ उनले भने, ‘परीक्षण उत्पादनको तयारीमा भएको ४२ मेगावाटको मिस्ट्रिखोला पनि यही सबस्टेसन र प्रसारण लाइन भएर केन्द्रीय लाइनमा जोडिँदै छ।’ 

रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना र १३२ केभी क्षमताको राहुघाट सबस्टेसन जोड्ने चारवटा टावर निर्माणाधीन छन्। ११० वटा टावर बनाएर ३९.६ किलोमिटर डबल सर्किटको तार तानिएको आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुयालले बताए। 
‘यो सबस्टेसनमा सबैभन्दा पछिल्लो पटक विकास भएको अत्याधुनिक प्रविधियुक्त उपकरण जडान भएको छ,’ उनले भने ‘खुर्कोटदेखि पर्वतको कुश्मा नगरपालिका–८ चुवामा निर्माण भएको १३२ केभी क्षमताको सब स्टेसन जोड्ने ६ किलोमिटर लामो प्रसारण लाइन बनाइएको छ।’ 

कालीगण्डकी करिडोरको कुश्मा–न्यु बुटवल जोड्ने प्रसारण लाइन नबन्दासम्म चुवा–मोदी हुँदै पोखरा सबस्टेसनमा लगिने फुयालले बताए।  दाना–कुश्मा प्रसारण लाइनमा ६०० मेगावाट र कुश्मादेखि बुटवलसम्मको प्रसारण लाइनमा १५ सय मेगावाट विद्युत् प्रसारण क्षमता रहेको छ। यो हालसम्म नेपालमा निर्माण भएकामध्ये ४०० केभी क्षमताको ढल्केबर सबस्टेसनपछिको दोस्रो ठूलो हो। 

म्याग्दीको अन्नपूर्ण–६ पोखरेबगरमा जग्गाधनीसँगको विवादका कारण करिब तीन वर्षसम्म त्यहाँ प्रसारण लाइनको टावर निर्माण हुन सकेको थिएन। नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको ‘प्रसारण लाइनको एउटा टावर बनाउन एउटै आयोजना बनाउँदाको जस्तो मेहनत गर्नुपर्ने’ भन्ने भनाइले प्रसारण लाइन निर्माणको जटिलता पुष्टि गर्छ। 
तर प्रजिअ उमाकान्त अधिकारी जनप्रतिनिधिको साथ र प्रभावितलाई कुरा बुझाएर ‘कन्भिन्स’ गर्न सक्ने हो भने विकास आयोजनामा देखिएका जस्तोसुकै जटिलता समाधान गर्न सकिने अनुभव सुनाउँछन्। 

‘पोखरेबगर क्षेत्रमा ६ वटा टावर निर्माणमा बल प्रयोग नभएर आयोजना पनि बनाउने र प्रभावितको कुरा सुनेर सामाजिक उत्तरदायित्वमार्फत माग सम्बोधन गर्ने नीतिअनुसार सफल भयौं’, म्याग्दीमा प्रसारण लाइन निर्माणमा भएको अवरोध हटाउन प्रयोग भएको विधि अन्य समस्याग्रस्त आयोजनाका लागि सफल अभ्यास हुन सक्ने प्रजिअ अधिकारीको भनाइ छ। 

कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रिडमा जोड्न सबस्टेसन र प्रसारण लाइन निर्माण भएको हो।  मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीबाट पाँचवटा जलविद्युत् आयोजना निर्माणको तयारीमा छन्। चिनियाँ लगानीमा निर्माण हुन लागेको १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना जिल्लामा हालसम्मकै सबैभन्दा ठूलो आयोजना हो। 

कालीगण्डकी गर्जको विद्युत्गृहबाट निस्किएको पानी करिब पाँच सय मिटर पनि बग्न नपाउँदै हाइड्रो सपोर्ट प्रालिले निर्माण गर्न लागेको ५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको बाँधबाट सुरुङमा छिराइनेछ। 

अन्नपूर्ण गाउँपालिका–२ ठूलोबगर र ६ को पोखरेबगर सिमानामा बाँध र ७ को हिस्तान तिप्ल्याङमा विद्युत्गृह रहने गरी तिप्ल्याङ कालीगण्डकी हाइड्रोपावर प्रालिले ५८ मेगावाट क्षमताको तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको तयारी गरेको छ।

‘प्रसारण लाइन, सब स्टेसन र सडक सुविधा भएकाले कालीगण्डकी र आसपासका क्षेत्रमा जलविद्युत् आयोजना निर्माणमा प्रर्वद्धकहरूको आकर्षण बढेको छ’, तिप्ल्याङ कालीगण्डकी आयोजनाका प्रतिनिधि उपेन्द्र गौतमले भने, ‘सरकारले पूर्वाधार तयार पार्न थालेपछि लगानीकर्तासक्रिय बनेका छन्।’

ट्रेड लिंक ग्लोबल प्रालिले रघुगंगा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमाना बेगखोलामा बाँध र रघुगंगा गाउँपालिका–३ घुमाउने तालमा विद्युत्गृह रहने ६५ मेगावाट क्षमताको अपर कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाइएको छ। 

घुमाउने तालभन्दा केही तल रघुगंगा नदी कालीगण्डकीमा मिसिने दोभानभन्दा केही तल बाँध र जलजला गाउँपालिका–४ मिलनचोकमा विद्युत्गृह रहने गरी ५० मेगावाट क्षमताको बेनी कालीगण्डकी जलविद्युत् आयोजनाको सर्वेक्षण भइरहेको छ। 

करिब ७० प्रतिशत निर्माण सकिएको म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना पनि दाना सबस्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिन्छ। दाना सबस्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादनको तयारी गरेको छ।

माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोलामा निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण अन्तिम चरणमा पुगेको हो। आयोजनाको परामर्शदाता इन्जिनियर दिवाकर खड्काले सुरुङ, पेनस्टक पाइपलाइन र विद्युत्गृहमा एकैसाथ परीक्षण भइरहेको बताए।  
नीलगिरि खोला हाइड्रोपावर लिमिटेडले नारच्याङमा एकैसाथ १०९ मेगावाट क्षमताको नीलगिरि १ र २ जलविद्युत् आयोजना निर्माण कार्य तीव्र रूपमा अघि बढाएको छ। 
वि.सं. २०४३ मा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना निर्माण भएको नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माणाधीन छ। १२ मेगावाट क्षमताको मिस्ट्रिखोला दोस्रो र ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना सर्वेक्षणका क्रममा छन्।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.