पाहुनाको पर्खाइमा मालिका (फोटो फिचर)
मालिका(म्याग्दी) : भौगोलिक हिसाबले म्याग्दीको बीच भागमा पर्ने सबैभन्दा उच्च स्थान मालिका धुरी पर्यटकको पखाईमा छ । मालिका र रघुगंगा गाउँपालिकाको सीमानामा पर्ने मालिका धुरी धार्मिक र पर्यटकीय दुबै किसिमले महत्वपूर्ण छ ।
मालिका गाउँपालिकाको ७ र ६ तथा रघुगंगा गाउँपालिकाको ६ को सिमानामा अवस्थित मालिका धुरी समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटरको उचाईमा अवस्थित छ । २० भन्दा बढी हिमशृङखला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पंक्षीहरुको अवलोकन गर्न सकिने मालिकाको धार्मीक महत्व छ । दर्शन र पूजाआजा गरेमा मनोकांक्षा हुने जनविश्वास रहेको मालिका क्षेत्र विकास समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताए ।
_20210221081703.jpg)
मालिका, कालीका र जाल्पादेवीको मूर्ति रहेको मालिका थानमा भाकल पुरा भएमा बोका र परेवाको बली चढाउने चलन छ । लालीगुराँसको जंगलको बिचमा रहेको मालिकादेखि सिस्ने, गुर्जा, मानापाथी, धौलागिरी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङखला, सूर्योदय, म्याग्दीका अधिकांश बस्तीहरुको अवलोकन गर्न सकिन्छ ।
सदरमुकाम बेनीदेखि सवारी साधन मार्फत एकै दिन र पैदलयात्रा गर्दा दुई दिनमा पुगिने मालिका क्षेत्रको जंगलमा पाइने वन्यजन्तु, पंक्षी, विभिन्न प्रजातीका फूल, जडिबुटी र वन पैदावार थप आकर्षण भएको मालिका पुगेर फर्किएका बेनीका खम थापाले बताए ।
थापा अध्यक्ष रहेको लायन्स क्लब अफ बेनी पिस सिटिले मालिका धुरीको पर्यटन प्रर्वद्धन गर्न शुक्रबार र शनिबार जिल्लाका पत्रकार र क्लबका पदाधीकारीको मालिका धुरीमा हाइकिङ कार्यक्रम गरेको थियो । _20210221081703.jpg)
मालिकाको बिम, दुखु, मंगलाको हिदी, टोड्के र रघुगंगाको ठाडाखानी भएर मालिका धुरीमा पुग्न सकिन्छ । मालिकामा केही वर्षयता पदमार्ग, सडक, आश्रयस्थल लगायतका पुर्बाधार निर्माण भइरहेका छन् ।
भू तथा जलाधार संरक्षण कार्यालय पर्वतले गत आर्थिक वर्षमा बिम हुँदै मालिका धुरी जाने एक हजार २७२ मिटर पदमार्ग बनाएको छ । कार्यालयका संरक्षण अधिकृत शम्भुकुमार मिश्रले ३९ लाख २० हजार रुपैयाँको लागतमा देउराली भन्ने ठाउँ भन्दा केही माथिबाट मालिका धुरीसम्म डेढ मिटर फराकिलो ढुङ्गाको सिढी चिनेको र बिछ्याएको पदमार्ग निर्माण भएको बताए ।
यसअघि उकालो, भिरालो र साँघुरो बाटोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने समस्या थियो । पदमार्ग निर्माण भएपछि सुरक्षित र सहज रुपमा यात्रा गर्न सकिने भएको बिमका पलवीर जुग्जालीले बताए । ‘साँघुरो बाटोमा चिप्लिएर लड्ने जोखिम थियो,’ उनले भने,'अब भने ढुक्क भएर हिड्न सकिन्छ ।’ जुग्जालीले भक्तजन र पर्यटकको सुबिधाका लागि मालिकामा खानेपानी सुबिधाको व्यवस्था मिलाउनुपर्ने प्रमुख आवश्यकता औल्याए । _20210221081703.jpg)
सडक र पदमार्ग बनेपछि मालिकाको यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिकाले बिम हुदै मालिका धुरी जाने ११ किलोमिटर सडक निर्माण गरेको छ । रु. ८३ लाखको लागतमा बाइन्दफाँट देखि धौलागंगा र नागीथलाको बिचसम्म सडक पुर्याइएको बिमका वडा अध्यक्ष रेशम जुग्जालीले जानकारी दिए । ‘बिमबाट अहिले साढे दुई देखि तीन घण्टामै मालिका पुग्न सकिन्छ,’ उनले भने, ‘पहिलेको तुलनामा आधा भन्दा धेरै यात्रा अवधि घटेको छ ।’
रघुगंगा गाउँपालिकाले दश लाखको लागतमा ठाडाखानी देखि पहिरेनी सम्म करिब ५ किलोमिटर सडक र. चार लाख २० हजारमा बथानडाँडादेखि सरघारीसम्मको उकालो बाटोमा तीन किलोमिटर पैदलमार्ग निर्माण गरेको छ । _20210221081703.jpg)
गत वर्ष बिनियोजन भएको १५ लाख बजेटबाट सत्तल र मालिका थान परिसरमा पर्खाल बनाएर रेलिङ निर्माण भएको छ । थप पुर्बाधार बनाउन बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने काम अन्तिम चरणमा पुगेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । उनका अनुसार खानेपानी ब्यवस्थापन र हेलिप्याड निर्माण गर्ने तयारी भएको छ । _20210221081704.jpg)
_20210221081704.jpg)
प्रतिक्रिया दिनुहोस !