किन बढ्दै छ हत्या हिंसा
के ही वर्षयता हरेक दिन नेपालमा पनि हत्या हिंसाका दर्जनौं घटना भइरहेका छन्। छोराद्वारा बाबुको हत्या। बलात्कारपछि बालिकाको हत्या। गोलीप्रहार गरी युवकको हत्या। बलात्कारपछि युवतीको हत्या। अज्ञात समूहबाट एकै परिवारका तीन सदस्यको हत्या। पतिद्वारा पत्नीको हत्या। यस्तैयस्तै प्रकृतिका हत्या हिंसाका घटना हरेक दिन भइरहेका छन् र दिनप्रति बढिरहेका छन्। किन यसरी बढेका छन् हत्या हिंसाका जघन्य अपराध ? के हत्या हिंसा कुनै संक्रमण रोग हो ? यसका राजनीतिक, सामाजिक, पारिवारिक, जैविक तथा मनोवैज्ञानिक कारण केके हुन सक्छन् ? हत्या हिंसाका यस्ता घटना न्यूनीकरणका उपाय केके हन् सक्छन् ? ढिलो नगरी यसको गहिराइमा पुग्न अति आवश्यक छ। यसका लागि सबैभन्दा पहिला हिंसाको अर्थ र हत्या हिंसाका कारण केके हुन् ? खोज्ने प्रयास गरांै।
हिंसाको शाब्दिक अर्थ हुन्छ– अर्कोको ज्यान लिने वा काटमार गर्ने काम। यसर्थमा कुनै पनि प्राणीको हत्या गर्नु नै हिंसा हो। तर हिंसाको अर्थ यति साँगुरो भने छैन। अरूलाई पीडा–कष्ट–हानि आदि पुर्याउने काम पनि हिंसा नै हो। वास्तवमा मनोवैज्ञानिक दृष्टिमा हिंसाको भावना मनमा उत्पन्न हुनु नै हिंसा हो। त्यो किनभने हत्या तब हुन्छ, जब मनमा हिंसा भाव पैदा हुन्छ। अतः मनमा असन्तोष, कुण्ठा, संघर्ष, तनाव, बेचैनी तथा अन्तद्र्वन्द्व उत्पन्न हुनु भनेको पनि मानसिक रूपमा भित्रभित्र कुनै न कुनै हिंसा गर्नु हो। क्रोध दबाउनु, मनमा कसैप्रति विरोध वा प्रतिरोधको भावना उब्जनु पनि हिंसा नै हो।
हिंसालाई ग्ल्यामर दिने, यसैको मद्दतबाट नै आफ्नो समस्या सुल्झाउन खोज्ने मूर्खता त्याग्दै हतियारको राजनीतिबाट देशलाई सधैं मुक्त राख्नुपर्छ।
अतः प्राणीको बध वा हत्या गर्ने अथवा शारीरिक आक्रमण गरेर प्राणीलाई अंगभंग पार्ने तथा पीडा पुर्याउने कामलाई शारीरिक वा भौतिक हिंसा भनिन्छ भने प्राणीहरूलाई कुट्छु, पिट्छु, मार्छु भनेर डर–धम्की दिने, गाली–गलौज गर्ने, दुर्वाच्य तथा बोलीले अरूलाई पीडा–कष्ट दिने कामलाई वाचिक वा शाब्दिक हिंसा भनिन्छ। त्यसैगरी मनमनै गरिने हत्याको विचार, अंगभंग पार्ने संकल्प तथा मनमा कसैप्रति विरोध वा प्रतिरोधको भावना उब्जनुलाई मानसिक वा भाविक हिंसा भनिन्छ।
मनोवैज्ञानिकहरूको भनाइ छ कि मानिसले हिंसाको भावना जन्मदेखि नै लिएर आउँछ। आमाका काखमा जब नवजात शिशुलाई भोकले सताउँछ, तब ऊ आमाको स्तनतिर लपक्क लप्किन्छ। तर आमाले अनिच्छा जाहेर गरेमा उसले स्तनमा हान्छ, हात–खुट्टा झट्काउँछ। यहींबाट नै मानिसको मनमस्तिष्कमा क्रोध तथा हिंसा भावना फैलिँदै र झागिंदै जान्छ।
मनोवैज्ञानका अनुसार हिंसा फौलिनुका पछाडि मुख्यतयाः तीन कारण छन्। एक हो– मनोसामाजिक कारण, दोस्रो रासायनिक कारण र तस्रो हो– आनुवांशिक कारण अर्थात् जन्मजात आमाबाबुबाट आउने गुण। मनोवैज्ञानिकहरूको मान्यता छ– उपर्युक्त एक वा दुई वा तीनै कारणबाट नै हिंसाको जन्म हुने गर्छ। यसको प्रभाव कहिले प्रारम्भिक स्थितिमा नै दब्छ त कहिले यसले उग्ररूप धारण गर्छ। तब सानातिना कुरामै मानिसले हत्याजस्ता जघन्य अपराध गर्छ।
सामाजिक रूपमा हिंसा तेरो र मेरो भावानाबाट जन्मिने गर्छ। तेरो र मेरोको झगडा मिल्यो भने त ठीकै भयो। तर झगडा मिलेन भने घर, समाज, राज्य, देश तथा विश्वमै हिंसा फैलिन सक्छ। त्यसो त पुरुषप्रधान समाजमा मूलतः पुरुषलाई नै हिंसाको कारक मानिन्छ। त्यो किनभने तुलनात्मक रूपमा पुरुष समर्थ हुन्छ। त्यसैले आपूmभन्दा निर्धालाई दबाउन ऊ कहिल्यै पछि पर्दैन। त्यसैले परिवारमा जब पतिको हिंसा पत्नीमाथि हावी हुन्छ, तब पत्नी मात्र होइन कि सम्पूर्ण परिवार नै भय र सन्त्रासको चपेटामा पर्छ।
तर अचम्मको कुरा के भने यही स्थिति त्यहाँ पनि पैदा हुन्छ, जहाँ पत्नी पतिमाथि हावी हुन्छे, तब पतिलाई आफ्नो इज्जत, परिस्थिति तथा गृहस्थी चलाउनका लागि पत्नीको कर्कश व्यवहार सहनुपर्छ। तर एक स्थिति यस्तो पनि आउँछ, जब धैर्यको बाँध फुट्छ र कुरा हिंसामा आउँछ। यहीं नै तनाव, कुण्ठा, हिंसा, भय र सन्त्रास आदि रोगले जन्म लिन्छ।
मनोवैज्ञानिक समस्याका कारण पनि हत्या हिंसाका घटना हुने गर्छन्। हत्या हिंसा बढ्नुमा राजनीति पनि त्यत्तिकै दोषी देखिन्छ। नेपालमा दण्डहीनताका कारण पनि हत्या हिंसा फैलिएको छ। राजनीतिक पार्टीहरूले हत्याराहरूलाई राजनीतिक संरक्षण दिने, डनहरूलाई साँढे झैं पाल्ने तथा आफ्ना कार्यकर्तालाई विरोधीको खुट्टा भाँच्न उस्काउनेजस्ता आपराधिक गतिविधिले हत्या हिंसालाई झन् बढवा मिलेको छ।
दण्डहीनता यसरी मौलाउनुमा दोष नागरिकको पनि छ। अधिकांश नागरिकले अपराधीलाई सजाय दिलाउन त चाहन्छन्, यदि ऊ आफन्त वा आफ्नो पक्षको नभए मात्र। एकपटक कल्पना गर्नुहोस् त, सडकमा हत्यारा वा बलात्कारीलाई फाँसी दे भन्दै नारा लगाउनेहरूमध्ये कतिजनाको उनका आफन्त वा पक्षका मानिसले यस्तै अपराध गरेको खण्डमा यसरी नै पीडित पक्षलाई न्याय दिलाउनका लागि आवाज बुलन्द गर्छन् ? वा आफन्तको अपराध छुपाउने कार्यमा सहयोग गर्छन् ?
नेपालमा यौन हिंसा तथा घरेलू हिंसा पनि बढ्दो छ। आर्थिक समस्या, घरेलु झैझगडा तथा मध्यपान आदि घरेलु हिंसाका प्रमुख कारण हुन्। खासगरी निम्नवर्गीय परिवारमा मद्यपानका कारण नै प्रशस्त घरेलु हिंसा हुने गर्छन्।
नेसनल इन्स्टिच्युट अफ हेल्थका वैज्ञानिकहरूले हतियारलाई हिंसाको भाइरस भनेका छन्। हतियार र हिंसाको सम्बन्ध गरिएका अनेकौं अध्ययनबाट यहाँका वैज्ञानिक यो निष्कर्षमा पुगेका हुन्। उनीहरूको दाबी छ कि समाजमा हतियारको संख्यालाई नियन्त्रण गर्ने हो भने हिंसाका घटना तथा काटमारमा ठूलो कमी आउँछ। तर विडम्बनाको कुरा के भने हिजोआज संसारमा हतियार केवल विद्रोही, आतंकवादी तथा अपराधीसँग मात्र छैन कि आम नागरिकसँग पनि छ्यापछ्याप्ती साना–ठूला हतियार छन्।
यस्ता हतियार लाइसेन्सबिना नै राख्ने र प्रयोगमा ल्याउने गरिन्छ। त्यसैले हिंसाको भाइरस फैलाउने हतियार जतिजति विश्वभरि फैलिँदै छ, त्यतित्यति नै हिंसाले डरलाग्दो स्वरूप धारण गर्दै छ। वास्तवमा हतियारको होडबाजी र तेरोमेरो भावनाका कारण नै संसारमा हिंसा ज्यादै डरलाग्दो रूपमा फैलिएको छ। त्यसैले हिंसाको महामारीलाई नियन्त्रण गर्न हरेक देशका सरकारले ढिलो नगरी ठोस कदम चाल्नुपर्छ। तर सरकारी प्रयास मात्र काफी छैन; हामी सबैले हिंसा रोगको नियन्त्रणमा अआफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्नुपर्छ। होस्टेमा हैंसे थप्नुपर्छ। हिंसालाई ग्ल्यामर दिने, यसैको मद्दतबाट नै आफ्नो समस्या सुल्झाउन खोज्ने मूर्खता त्याग्दै हतियारको राजनीतिबाट देशलाई सधैं मुक्त राख्नुपर्छ। नत्र विश्वव्यापी रूपमा फैलिँदै गएको हत्या हिंसा महामारीबाट कोही पनि सुरक्षित हुनेवाला छैनन्।