आरुघाट गाउँपालिकाले बाँड्यो पाडा र राँगो
गोरखा : गोरखाको आरुघाट गाउँपालिकाले किसानलाई पाडा र राँगो बाँडेको छ। युवालाई स्वरोजगार बनाउन तथा पालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातको राँगो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहालले बताए।
किसानको मागअनुसार ल्याइएको उन्नतजातका सातवटा राँगोमध्य छ वटा राँगो गत सोमबार वितरण गरिएको उनले बताए। एउटा भने दुर्घटनामा परेर मरेको छ।
त्यस्तै ५० वटा पाडा वितरण गरेको अध्यक्ष दाहालले बताए। ‘हामीले १० वटा वडामध्ये हरेकमा पाँच/पाँच वटाका दरले पाडा वितरण गरेका छौँ’, अध्यक्ष दाहालले भने। व्यवसायिक रुपमा दूध उत्पादन गर्दै आएका र इच्छुक किसानबाट आवेदन माग गरी उनीहरुको समेत लागत सहभागीतामा पाडा र राँगो वितरण गरिएको थियो।
‘पाडा लिन चाहने किसानलाई गाउँपालिकाले २० हजार बाँकी रकम किसान स्वयंले तिर्ने गरी वितरण गरिएको हो’, दाहालले भने, ‘युवालाई रोजगार बनाउने र विशेषगरी पालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउन यो कार्यक्रम अघि सारेका हौँ।’ सार्वजनिक सूचना आह्वान गरी निवेदनको आधारमा पाडो वितरण गरेको उनले बताए।
राँगो लिन चाहनेलाई ५० हजार अनुदान दिएको अध्यक्ष दाहालले बताए। त्यो भन्दा बढी जति थप गर्नुपर्छ, किसानबाट थप गरी राँगो उपलब्ध गराइएको अध्यक्ष दाहालले बताए।
आरुघाट बजारमा दुग्ध डेरी संचालन गर्ने योजना अनुसार दुध उत्पादन बढाउने, किसानलाई ब्यवशायिक बनाउने, युवाहरुलाई गाउँमै रोजगारी दिने उद्देश्यले पाडा र राँगो वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !