बाहिर जानु छ
धेरै भयो नगएको
मन्दिर पुगेर
मन्दिरभित्र देउता छन् कि छैनन्
हेर्न मन छ।
पर्खिनु छ आँखा बिछ्याएर
देउताको दर्शन गर्न लम्केका
सुकिला पाइतालालाई र
त्यही पाइतालामा
टाँसिएको धुलो पुछेको हेर्न मन छ
फेरि फर्किनु छ मन्दिरबाट।
धेरै दिन भयो स्वच्छ हावा नखाएको
उकुसमुकुस छु कोठाभित्र अनुष्ठानमा
मेरो ज्ञान हारेको छ
प्रगोगशालाभित्र विज्ञान हारेको छ
चार–चार जोड्दा आठ हुनुपर्ने
हिसाब बिग्रिएर गुणन बनेको छ
कसले सच्याउँछ हँ हिसाब ?
हिसाब सच्याएको हेर्न मन छ
पराजयमाथि विजयको हारमाला
उन्ने रहर छ,
अब घाम चर्कोस्
कि हुरी चलोस्
या असिनै बर्सियोस्
सद्दे छु म, अहँ च्यातिन्नँ
खिइने भाग जस्ताको तस्तै बाँकी छ
निकाल मलाई घरभित्रबाट निकाल !
मलाई तलुवा फटाउनु छ
ए मालिक ! बिर्सेको तिमीले ?
पुछपाछ गर पोलिस गरेर टल्काऊ
सुर्कना बाँध र घिसार मलाई !
साँच्चै ! मलाई बाहिर जानु छ।