विदेशबाट फर्किएका युवा सामुहिक तरकारी खेतीमा
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ ठूलोबगरका नारायण पुनले गाउँ नजिकैको बारीमा सात वर्षअघि खेती गर्न छोडेका थिए। एक वर्षअघिसम्म झाडी रहेको पुनको करिब दुई रोपनी बारी अहिले केरा र तरकारीले हराभरा भएको छ।
‘बाँदरले बाली नष्ट गरेपछि बारी बाँझै छोडेको थिए,’ उनले भने ‘साथीहरुले सामुहिक तरकारी खेती गर्ने योजना अघि सारेपछि पुनः तरकारी र केरा लगाएर हराभरा भएको छ।’
नारायणलगायत ठूलो बगरका आठ जना युवाहरुले बाँझो बनेको जमिनमा सामूहिक रुपमा तरकारी खेती गरेका छन्। विदेशबाट फर्किएका युवाहरु मिलेर ठूलोबगर बहुउद्देश्यीय कृषि फार्ममार्फत बीस रोपनीभन्दा बढी जमिनमा व्यवसायिक रुपमा तरकारी खेती गरेका छन्।
खेती नभएर बाझिएको हाम्रो आफ्नै र केही अरुको पनि भाडामा लिएर तरकारी लगाएका छन्। स्थानीय बजारमा आवश्यक तरकारी आपुर्ति, रोजगारी र आयआर्जनका लागि सामुहिक तरकारी खेती गरेका हुन्।
पूर्णबहादुर पुर्जा, लोकबहादुर पुन, वुद्धी पुन, नारायण पुन, रामबहादुर गर्बुजा, मिमबहादुर पुर्जा र गुनबहादुर राम्जाली फार्ममा आवद्ध छन्। ‘सबैजना रोजगारीका लागि विदेश गएर फर्किएका हौँ,’ पुर्णबहादुर पुर्जाले भने ‘रोजगारी, आयआर्जनसँगै बाँझिएको जमिनको सदुपयोग भएको छ।’-(1)_20210315092620.jpg)
बन्दा, काउली, केराउ, ब्रोकाउली, आलु, गाजर, घिरौला, बोडी, चिचिन्दा, करेला, टमाटर लगाएका छन्। सबै सदस्यहरुले समान रुपमा काम गर्ने र तरकारी बेचेर भएको आम्दानी वितरण गरिएको समूहका सदस्य वुद्धी पुनले बताए। ‘रासायनिक मल र बिषादीको प्रयोग बिनै तरकारी फलाएका छौँ,’ उनले भने ‘बाख्रा र गाइवस्तुको मल र मुत्र तरकारी खेतीमा प्रयोग गरेका हौँ।’
एक्लैभन्दा समूहमा काम गर्दा छिटो, सजिलो र अनुभव साटासाट गर्न पाएका छन्। मासिक दुई लाख रुपैयाँभन्दा बढीको तरकारी बिक्री गर्ने उनीहरुको योजना छ। उनीहरुले तरकारीको अलावा केरा खेती पनि गरेका छन्।
पाँच वटा प्लट बनाएका छन्। आम्दानीको हिसाब एकै ठाउँमा राख्छन्। गाउँपालिकाको केन्द्र पोखरेबगर, पर्यटकीय स्थल भुरुङ्ग तातोपानी, घोडेपानी, मुस्ताङका होटल र निर्माणाधिन जलविद्युत आयोजनाको क्याम्पमा तरकारी खपत हुन्छ।
होटल र जलविद्युत आयोजनाले फोनबाटै अर्डर गरेर तरकारी लैजाने गरेका छन्। उनिहरुलाई अन्नपूर्ण गाउँपालिकाको कृषि शाखाले बीउ र प्राविधिक सहयोग गरेको छ। प्लास्टिक टनेल र यान्त्रिक हलो सहयोग गरेको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताए। _20210315092620.jpg)
ठूलोबगरलाई अन्नपूर्ण गाउँपालिकाको तरकारी पकेट क्षेत्र बनाउने योजना छ। खानेपानी, सिचाईं तथा जलस्रोत विकास डिभिजन कार्यालय म्याग्दीले ठूलोबगरलाई लक्षित गरेर ३५ लाख रुपैयाँको लागतमा जारवाङ खोला सिचाई आयोजना निर्माण अन्तिम चरणमा पुर्याएको छ। २५ घरधुरीको बसोबास रहेको ठूलोबगर गाउँका अधिकांश कृषक बाख्रा र कुखुरापालन व्यवसायमा आवद्ध छन्। कृषि पर्यटनको विकासका लागि ठूलोबगरमा घरबास सुरु गर्न लागेका छन्।
प्रतिक्रिया दिनुहोस !