संज्ञानात्मक पूर्वाग्रहमा नेपाली राजनीति
इमानदार, सक्षम तथा शिक्षित राजनीतिले नै कुनै पनि राष्ट्र सुखी र समृद्ध हुन्छ। तर, नेपालको राजनीति तस्बिर हेर्ने हो भने अधिकांश कम पढेलेखेका, अल्पज्ञानी, अदक्ष्य तथा अक्षम व्यक्ति जान्नेसुन्ने पल्टेर राजनीति गरेको देखिन्छ भने धेरै पढेलेखेका विज्ञ, दक्ष्य तथा क्षमतावान् मानिसले या त जागिर व्यवसाय गरेको या किनाराका साक्षी बसेको देखिन्छ। जसको कारण मैले गर्छुको साहस देखाउने मुर्खहरूले सत्तामा रजाइँ गरेका छन् भने मैले सक्दिन कि भन्ने बुद्धिमान सडकमा अलपत्र परेका छन्।
अतः यसबाट प्रष्ट हुन्छ, नेपालको राजनीति पूर्णरूपमा डनिगंक्रुगर इफेक्टबाट प्रभावित छ। डनिगंक्रुगर इफेक्ट भनेको के हो ? डनिगंक्रुगर इफेक्ट एक संज्ञानात्मक पूर्वाग्रह हो। यस संज्ञानात्मक पूर्वाग्रहको खोज कसरी भयो भन्ने सम्बन्धमा एउटा रोचक सत्य घटना छ।
कुरा सन् १९ अप्रिल १९९५ को हो। अमेरिकामा एउटा अकल्पनीय तथा मुर्खतापूर्ण घटना भयो। म्याकआर्थर वहिलर नामक एक व्यक्तिले दिउँसै बिना मास्क लगाएर दुई–दुई बैंक डकैती गर्यो। सीसीटिभी क्यामरामा हेरेर मुस्कुराउँदै (समात्न सके समात भन्दै) फरार भयो। प्रहरीले सीसीटीभी फुटेज हेरेर उसको खोजतलास गर्यो र तुरुन्तै उसलाई गिरफ्तार गर्यो। ऊ हैरान भयो, कसरी मलाई प्रहरीले गिरफ्तार गर्न सक्यो ? मैले त अनुहारमा कागतीको रस लगाएको थिएँ। कागतीको रसको मसीले सेतो कागजमा लेखेको देखिँदैन भने मेरो अनुहार कसरी देखियो ?
यो अचम्मको खबर मनोवैज्ञानिक डेभिड डनिंगले थाहा पाएँ। अनि आफ्ना विद्यार्थी जस्टिन क्रुगरसँग मिलेर यस विषयमा शोध गर्न थाले। शोधको क्रम वहिलर कुनै मनोवैज्ञानिक समस्याबाट पीडित भएको पनि देखिएन। बरु समाजमा यस किसिमका मुर्खहरू धेरै देखिए। यस विषयमा अनेक प्रयोग भए। अनि विकास भयो डनिगंक्रुगर इफेक्ट्स।
शंकाले भरिएका बौद्धिक मानिस र आत्मविश्वासले ओतप्रोत मुर्खहरूको कारण नै संसारमा समस्या देखा परेको हो।
डनिगंक्रुगरका अनुसार समाजमा कतिपय यस्ता मानिस हुन्छन्, जो यथार्थमा अल्पज्ञानी तथा अक्षम हुन्छन् तर उनीहरूले आफूलाई अद्भुत बुद्धिमान, सर्वज्ञानी र प्रतिभाशाली ठान्छन्। अरू मान्छेहरूलाई मान्छे गन्दैनन्। यहाँसम्म कि विशेषज्ञ तथा समाजले बुद्धिमान ठानेका मानिसको कुरा पनि सुन्दैनन्, आफूले जेजस्तो गरेको छन् त्यही नै ठीक हो भन्ने गर्छन्। त्यसैगरी समाजमा अर्काथरि मान्छे पनि हुन्छन्, जो ज्ञानी, दक्ष्य तथा बुद्धिमान भएर पनि आफूलाई अरूभन्दा कम क्षमतावान् सम्झिन्छन्। यो नै हो डनिगंक्रुगर इफेक्ट्स।
डनिगंक्रुगर इफेक्ट एक यस्तो संज्ञानात्मक पूर्वाग्रह हो, जुन भ्रमात्मक श्रेष्ठताका कारण देखा पर्छ। यस किसिमको संज्ञानात्मक पुर्वाग्रही व्यक्ति आफ्नो अल्पज्ञान, अल्पक्षमता तथा आफूले गरेका गल्ती पहिचान गर्न नसक्ने उल्टो मै हँु भन्ने खालका हुन्छन् भने क्षमतावानमा भ्रमात्मक हीनता हुन्छ। यो संज्ञानात्मक मनोविज्ञान विलियम शेक्सपियरको मुर्खले आफूलाई बुद्धिमान ठान्छ, तर बुद्धिमानले आफूलाई मुर्ख ठान्छ भन्ने भनाइसँग मेल खान्छ।
मानिसमा डनिगंक्रुगर मनोविज्ञान कसरी विकास हुन्छ भन्ने सन्दर्भमा अनेक सिद्धान्त छन्। भ्रमात्मक श्रेष्ठता वा हीनताका कारण मानिसमा डनिगंक्रुगर इफेक्ट देखिने भएता पनि शिक्षादीक्षा तथा वातावरणले यसलाई प्रत्यक्ष असर गर्छ। यो संज्ञानात्मक मनोविज्ञानको समस्या हो।
मानिसमा डनिगंक्रुगर मनोविज्ञान कसरी विकास हुन्छ भन्ने जान्न एउटा बोध कथा पढौंः
जंगलको रुखमुनि एउटा ढाडे बनबिरालोले मरेको मृगको गर्धन फोडेर खाँदै थियो। रुखमा बसेका मोतिया बिन्दु भएका बाँदरहरूको एक हुलले त्यो देखे। उनीहरूलाई त्यो बिरालो सिंह जस्तो लाग्यो। अनि स्वरमा स्वर मिलाएर बिरालोको जय जयकार गर्न थालेः जंगलको राजा सिंह सरकारको जय जय होस्। सिंह राजा अमर रहुन्। बाँदरहरूले चिच्चाउँदै उसको जयजयकार गरेको देखेपछि बिरालोले सोच्यो, हैन, म जंगलको राजा सिंह नै त होइन ? मासु खाइवरि अगाएपछि बिरालो अगाडि बढ्यो। बिरालोलाई देखेर कौवा, डांग्रे तथा भँगेरा उड्दै कराउन थाले। बिरालोलाई लाग्यो, चराचुरुंगीले पनि उसको जयजयकार गरिरहेका छन्। अलि अगाडि पुगेपछि एउटा खरायोको बच्चा उसलाई देख्ने बित्तिकै सुइँकुच्चा ठोक्यो।
अब उसलाई आफू सिंह नै हो भन्ने कुरामा एकरत्ति पनि शंका रहेन। अनि ऊ सिंहझैं गर्जिदै राजसी ठाटबाटमा जंगल जंगल चर्हादै हिँड्न थाल्यो। ऊ जता जान्छ त्यता कौवा, डांग्रे तथा भँगेरा कराएको उसलाई जयजयकार गरेको जस्तो लाग्यो। यसरी दिनहरु बित्दै थियो। एक दिन कतै जाँदा उसले बाटो छेकेर बसेको सिंहलाई देख्यो। अनि गर्जिदै सिहंलाई भन्यो, तेरो यत्रो हिम्मत ? मेरो बाटो छेकेर बस्ने ? मेरो बाटो छोड पाजी। बिरालोको कुरा सुनेर सिंह अचम्म पर्दै उठ्यो र भन्यो, पहिला यो भन मलाई आदेश दिने तँ को होस् ? बिरालोले टाउकोमाथि गरी छाती फुलाउँदै भन्यो, तैले सुनेको छैनस् चराचुरुंगीले मेरो जयजयकार गरेको ? म यस जंगलको राजा हुँ।
सिंहले बिरालोको पछिपछि जय जयकार गरेका जनावर तथा चराचुरुंगीको ठूलो बथान देख्यो, छाती फुलाउँदै राजसी चालको हिँडेको बिरालोलाई हेर्यो। सिंहलाई पनि बिरालो जंगलको राजा जस्तै लाग्यो। अनि उसले बिरालोलाई बाटो छोड्दिँदै भन्यो, माफ गरिदिनुहोस् महाराज गल्ती भयो। अनि सिंह पनि बिरालो महाराज कि जय भन्दै बिरालोको पछिपछि लाग्यो।
ठीक यसरी नै नेपालमा पनि उहिलेदेखि बिराला सिंह बनेर सिंहदरवारमा मोज गरिरहेका छन् भने सिंहहरू भने आफूलाई बिरालो ठानेर झर्ला र खाउँलाको म्याउँ म्याउँ गरिरहेका छन्। यो नै नेपाल र नेपालीका लागि ठूलो दुर्भाग्य हो।
के छैन नेपालमा ?
जल छ, जमिन छ, बन छ, जडीबुटी छ। हिमाल–पहाड–तराई, पाखा–पखेरा, छाँगा–छहरा, नदीनाला, वनजंगल, डाँफे–मुनाल र लेखबेंसीले शोभायमान छ नेपाल। प्रकृतिले सुन्दर नगरीका रूपमा सिंगारेको यस नेपालमा बहुुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधता छ, अनेकौ धर्म, भाषा र संस्कृति अपनाउने यावत् जातजाति सदियौंदेखि हातमा हात गाँसी मिलेर बसेका छन्। यस्तो सामाजिक सद्भाव संसारमा बिरल्लै देख्न पाइन्छ। समाजिक सद्भाव र आपसी एकता, अनुशासित र इमानदार नागरिक र जनशक्तिले पनि धनी छ नेपाल।
तर नेपालको राजनीति भने डनिगंक्रुगर इफेक्टले ग्रस्त छ। सधैँभरि सत्तामा मुर्खको हालीमुहाली छ भने विद्धान कि त उनीहरूको झोला बोकेर कि त तमासा हेरेर बसेका छन्। अतः कारण प्रष्ट छ, डनिगंक्रुगर प्रभावमा रहेका यस्ता माइण्डहरूका कारण नै नेपाल पछाडि परेको हो। इमानदार र सक्षम व्यक्ति नेपालको राजनीतिमा नआएका कारण नै देशको यो दुर्गति भएको हो। यस सम्बन्धमा चाल्र्स बकोवस्कीले बढो यथार्थ कुरा गरेका छन् शंकाले भरिएका बौद्धिक मानिस र आत्मविश्वासले ओतप्रोत मुर्खहरूको कारण नै संसारमा समस्या देखा परेको हो। नेपालको राजनीतिक समस्याको कारण पनि यही हो। त्यसैले देशलाई सुखी र समृद्धिशाली बनाउन आफ्नो ठीक पहिचान गरी इमानदार र सक्षम व्यक्ति राजनीतिमा अगाडि आउन आवश्यक छ। यसको कुनै विकल्प छैन। इमानदार र सक्षम व्यक्तिहरूले सत्ताको बागडोर समाते भने नेपाल सुखी र समृद्धिशाली राष्ट्र बन्न धेरै वर्ष पर्खिनु पर्दैन।