गुराँसले रंगिए बनपाखा
बेनी : बसन्त ऋतुको सुरुवातसंगै म्याग्दीको उच्च पहाडी क्षेत्रका वनपाखा रंगिविरंगी लालीगुराँसले रंगिन थालेका छन्। पाखाभरी ढकमक्क फुलेका लालीगुराँस अवलोकन गर्न आन्तरिक पर्यटकहरु पहाड उक्लिन थालेका छन्। कोरोना भाइरसको महामारीका कारण विदेशी पर्यटक भने आएका छैनन्।
अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, पुनहिल, मोहरेडाँडा, फुलबारी, खोप्रा, बयली, मालिका गाउँपालिको सोले, बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रम, धवलागिरी गाउँपालिकाको जलजला, देउराली, मंगलाको टोड्के, झाँक्रीपानी, रघुगंगाको रुइसेमा गुराँसको ठूला जंगल छन्।
नेपालमा पाइने ३२ प्रजातीका मध्य घोडेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलावी, चिमाली लगायत ८ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ। पृष्ठभुमिका हिमाल र लालीगुराँसको जंगलको प्राकृतिक सौन्दर्यले रिफ्रेस बनाएको पोखराबाट घोडेपानी घुम्न आएकी सरिता सिग्देलले बताइन्।
‘एक वर्षपछि बजार बाहिर घुम्न निस्किएका हौ’, उनले भनिन्, ‘पाखाभरि फुलेका गुराँस, हिमाल, पहाडको मनोरम वातावरणले रिफ्रेस बनायो।’
घोडेपानी टोल सुधार समितिका कोषाध्यक्ष ज्ञानबहादुर गर्बुजाका अनुसार गुराँसको सौन्दर्यमा रमाउन केही दिनयता पोखरा, काठमाडौं, चितवन, बेनी, बागलुङ लगायत सहरी क्षेत्रबाट पर्यटक आउन थालेका छन्। शनिबार बिहान घोडेपानी नजिकैको पुनहिलबाट दृष्य अवलोकनका लागि करिब डेढ सय जना आन्तरिक पर्यटक पुगेका थिए।
अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी कास्कीको घान्द्रुक र बिरेठाटी भएर म्याग्दी भित्रने नाका समेत हो। समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा ४५ घरधुरीको बसोबास छ। अधिकांश घर पर्यटक स्तरका होटल हुन्।
विदेशी पर्यटक नआए पनि आन्तरिक पर्यटकको भरमा होटल सञ्चालन गरिएको ब्यवसायीले बताएका छन्। अवस्था सामान्य हुँदा यहाँ वार्षिक पचास हजार जनाको हाराहारीमा पर्यटक आउँथे। कोरोनाका कारण २०७६ पुष महिनायता विदेशी पर्यटक आएका छैनन्।
घोडेपानीको लालीगुराँसको जंगलको पृष्ठभुमिमा धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरि हिमालको साथै सुर्योदयको अवलोकन गर्न सकिन्छ। अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय केन्द्र मानिने घोडेपानी क्षेत्रको गुराँसको जंगललाई समेटेर समुदाय स्तरमा अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्ग सञ्चालन भएको छ।
घोडेपानीका बासिन्दाले गुराँस बचाउनका लागि गुराँसको रुख नकाट्ने नियम बनाएका छन्। पुनहिल नजिकै फुलबारीमा प्रदेश सरकारको सहयोगमा गुराँस पार्क निर्माण सुरु गरिएको घोडेपानीका बासिन्दा समेत रहेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए।



प्रतिक्रिया दिनुहोस !