जहाँ १८ वर्षसम्म भारतीय सेनाले अड्डा जमायो

जहाँ १८ वर्षसम्म भारतीय सेनाले अड्डा जमायो

गोरखा : यो त्यही अवशेष हो, जहाँ ७० वर्षअघि भारतीय सेनाका ‘बडेसाप्’ले अड्डा जमाएको थियो। अठारसय खोलाको उङ्वे, जहाँ २००८ सालमा आएका भारतीय सेना २०२६ सालसम्म यहाँ परेड खेलेका थिए। यो हालको चुमनुब्री गाउँपालिका वडा नं. ३ मा पर्छ।

दुई सय ५० जनाको भारतीय सेनाको डफ्फा बोकेको दुइटा विमान २००८ साल फागुन १५ गते काठमाडौंको विमानस्थल उत्रियो। उनीहरु आउने चाँजोपाँजो तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले मिलाएका थिए। सैन्य डफ्फाको नेतृत्व मेजर जनरल वाइएस पारान्जपेले गरेका थिए।
नेपाली सेनालाई एक वर्षभित्र तालिमप्राप्त, दक्ष र व्यवस्थित गराउने बहानामा भित्र्याइएको भारतीय सैनिकको सो टोलीलाई ‘इन्डियन मिलिटरी मिसन’ नामाकरण गरिएको थियो। भारतीय सेना आउने बारे २००८, फागुन ९ गते सार्वजनिक सूचना प्रकाशन गरी सरकारले आम जनमानसलाई जानकारी गराएको थियो। सो सूचनामा भनिएको थियो, ‘२० जना भारतीय अफिसर स्टाफसहितको सैनिक मिसन आउने भएको छ। एक वर्षभन्दा कम समयमा फिर्ता जाने सहमति पनि भएको छ।’

नेपाली सेनालाई थप व्यवस्थित बनाउन आवश्यक देखिएको भन्दै भारत सरकारले सैनिक मिसन टोली रहने अवधि लम्ब्याउँदै लग्यो। यसमा तत्कालीन नेपाल सरकारले कुनै अबरोध गरेन। यसरी नेपालमा भारतीय फौजको बसाइ लम्बिदै गयो। थपिएको अवधिमा बस्ने भारतीय सैन्य मिसन टोलीको नाम पनि परिवर्तन हुन थाल्यो। उनीहरुको संरचना र संख्या पनि बदलिँदै गयो। सुरुमा ‘इन्डियन मिलिटरी मिसन’ भनेर नामाकरण गरिएको थियो, तर पछि ‘इन्डियन मिलिटरी ट्रेनिङ एन्ड एड्भाइजरी ग्रुप’ भनियो। त्यसपछि फेरि नाम संशोधन भरी ‘इन्डियन मिलिट्री लियाजन ग्रुप’ राखियो।

यसबीचमा भारतीय सेनाले कुटनीतिक मर्यादा विपरीत नेपालको उत्तरी चिनियाँ सिमानामा धमाधम सैन्यपोस्ट स्थापना गर्न थाल्यो। यही क्रममा स्थापना भएका हुन्, नेपालका १७ वटा उत्तरी सिमानामा हतियार र सञ्चार उपकरणसहित भारतीय सेनाका पोस्ट। तीनै १७ मध्य गोरखाको लार्केभञ्ज्याङ र अठारसयखोलामा दुई वटा भारतीय सैन्य क्याम्प स्थापना भएका थिए। जसको अवशेष अहिले पनि देख्न सकिन्छ।

तीबाहेक ताप्लेजुङको ओलाङचुङगोला, पाँचथरको च्याङथापु, संखुवासभाको चेपुवाघाँटी, सोलुखुम्बुको नाम्चे (च्याक्सा), दोलखाको लामाबगर, सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी र सोम्दाङ, मनाङको थोराङ पास, मुस्ताङको छुसाङ, डोल्पाको छार्काभोट, मुगुको गुगुगाउँ, हुम्लाको मुचु, बझाङको जावारीकोट, दार्चुलाको टिंकर भञ्ज्याङमा यही बेला भारतीय पोस्ट थिए।

२०१७ सालमा स्थापना भएको पञ्चायती व्यवस्था १० वर्षे नौजवान भइसकेको थियो, त्यसैले राजा महेन्द्र पनि भारतसंग पौँठेजोरी खोज्न सक्ने अवस्थामा थिए। यही तागतमा २०२६ मा प्रधानमन्त्री कीर्तिनिधि विष्टले भारतीय सैनिक मिसन फिर्ता गराउन पहल थाले। परराष्ट्रसचिव यदुनाथ खनाल पनि विदेशी सेना पठाउनुपर्छ भन्नेमा स्पष्ट थिए। उनकै योजनामा २०२६ साल असार ११ गतेको द राइजिङ नेपालमा प्रधानमन्त्री कीर्तिनिधि विष्टको अन्तर्वार्ता छापियो। त्यसमा भारतीय सैन्य शिविर हटाउनुपर्छ भन्ने थिम थियो।

सो अन्तर्वार्तापछि राष्ट्रिय पञ्चायतमा यो विषयमा घनिभूत बहस सुरु भयो। १० साउन ०२६ मा नेपालको राष्ट्रिय पञ्चायतले भारतीय मिलिट्री लियाजन ग्रुप फिर्ता गर्नुपर्ने प्रस्ताव पारित भयो। भारत पनि वार्ताका लागि तयार भयो। सो विषयमा वार्ता गर्न नेपाल सरकारले परराष्ट्रसचिव खनालको नेतृत्वमा प्रतिनिधिमण्डल दिल्ली पठायो। १३ देखि १९ भदौसम्म दिल्लीमा भएको वार्तापछि सैनिक फिर्ता गर्न भारत सहमत भयो।

भारतीय सेना १७ पुस २०२६ सम्म नेपालमा थियो, नेपाली भूमिमा १७ पोस्टमा तैनाथ भएका भारतीय सैनिक १८ वर्षपछि मात्र फर्किए, तर ०१९ सालमा कालापानी आएको सेना अहिलेसम्म फर्किएको छैन। यही क्रममा स्थापना भएको थियो, गोरखाको हालको चुमनुब्री गाउँपालिका वडा नं. १ को लार्केभञ्ज्याङ र वडा नं. ३ उङ्वेमा भारतीय क्याम्प।

२०२६ मा भारतीय सैनिकले शिविर छाडेपछि २०३० सालमा वुद्ध प्राविधको रुपमा त्यहाँ विद्यालय स्थापना भएको थियो। २०६३ सालमा वुद्ध प्रावि स्तरोन्नति भएर वुद्ध मावि बन्यो र फिलिममा स्थानान्तरण भयो। अहिले सो जीर्ण टहरो झाडीभित्र बेपर्वाह अलपत्र छ। स्थानीय बलबहादुर कार्कीका अनुसार त्यहाँ २००८ सालदेखि २०२६ सालसम्म भारतीय सेना बसेका थिए। ‘सबै गाउँले मिलेर यहाँ ठूलो ब्यारेक घर बनाएका थिए। गाउँलेले श्रमदान गरेर पनि ब्यारेक घर बनाउँदा १५ हजार रुपैयाँ खर्च भएको थियो’, उनले भने, ‘त्यहाँ पाँच जना भारतीय सेना बस्थे। उनीहरुलाई हामी बडेसाप् भन्थ्यौँ। उनीहरु वाकीट्वाकी सेटमा सिधै नयाँ दिल्लीमा सम्पर्क गर्थे। हिन्दीमा खै के के बोल्थे।’ भारतीय सेनासँग नेपालको महिन्द्र दलका छ जना सेना पनि बस्ने उनले बताए।

सिर्दिबास क्याम्पमा बस्ने भारतीय सेना बेलाबेला सीमा क्षेत्रतिर गस्तीमा जाने र जासुसी गर्ने कार्की बताउँछन्। ‘बेलाबेला निस्केर नाम्रुङसम्म गस्ती जान्थे। खम्पासित भेटघाट गर्थे, चिनियाँ सरकारको जासुसी गर्थे भन्ने सुन्थ्यौँ तर आफ्नो आँखाले देखिएन’, उनले भने। भारतीय सेना बस्ने ढुङ्गा माटोले बनेको र फलेकले छाएको घर धेरै आकर्षक थियो। बेलाबेला आफूहरु पनि त्यहाँ जाने गरेको तत्कालीन जगत प्रहरी चौकीमा कार्यरत नारायणभक्त अर्याल बताउँछन्। ‘फलेकले छाएको, ठूल्ठूला कोठा भएको घर थियो।

स्रोत साधनले सम्पन्न थियो’, अर्याल भन्छन्, ‘कहिलेकहीँ हामी पनि त्यहाँ जान्थ्यौँ। चिया खान्थ्यौँ। नेपाली सेनाको भने कोही पनि देखेनौँ।’ सहयोगीहरु भने नेपाली नै रहेको उनले बताए। ‘नाम्रुङतिर गस्ती जाँदा पनि नेपाली सहयोगी लिएर जान्थे’, उनले भने, ‘उनीहरुले के के गर्थे भन्ने बारेमा बुझ्नुपर्ने हाम्रो ड्युटी थिएन। बुझ्नुपर्ने ड्युटि भएको भए बुझिन्थ्यो।’ आफू बसुञ्जेल भारतीय सेनासँग सम्बन्धित सम्झन लायक कुनै घटना नभएको उनले बताए।
तर स्थानीय गंगबहादुर गुरुङको भने फरक अभिमत छ।

भारतीय सेना बसेकाले सो ठाउँमा स्थानीय छोरीचेली हिडडुल गर्न डराउने गुरुङ बताउँछन्। ‘घाँसदाउरा गर्ने, घट्टामा जाने छोरीचेलीहरु डराएर अर्को बाटो हिड्थे’, उनी भन्छन्, ‘दलाई लामालाई खोज्दै चिनियाँ सेना आउला कि भनेर उनीहरु दलाइ लामाको सुरक्षा गर्न यहाँ बसेका हुन् भन्ने सुनिन्थ्यो। दलाई लामाको सेना(खम्पा)लाई सहयोग गर्न आएका हुन् भन्ने पनि सुनिन्थ्यो। तर खासमा किन बसेका हुन् भन्ने चाहिँ थाहा थिएन।’ उनीहरुको क्याम्प २०२६ सालमा उठ्यो। त्यसपछि त्यहाँ वुद्ध प्रावि स्कूल खुल्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.