पालुङ्टार नगरपालिकामा फोहरमैला प्रशोधनकेन्द्र सञ्चालन
गोरखा : गोरखाको पालुङटार नगरपालिकामा फोहरमैला प्रशोधनकेन्द्र सञ्चालनमा आएको छ। वडा नं. ३ को गिद्देखोला फाँटमा निर्माण सम्पन्न प्रशोधनकेन्द्रको शुक्रबार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले उद्घाटन गरेका हुन्।
छाया नेपालसँग सहकार्य गरी पालुङटार नगरपालिकाले ३५ लाख रुपैयाँ लागतमा फोहरमैला प्रशोधनकेन्द्र निर्माण गरेको हो। १६ रोपनी क्षेत्रफलमा फैलिएको फोहरमैला प्रशोधन केन्द्रमा कुहिने फोहरलाई प्रशोधन गरी मल उत्पादन गर्ने र नकुहिने फोहरलाई पुनप्रयोग गर्न मिल्नेलाई संकलन गरी पुन प्रयोग गर्ने ठाउँमा पठाउने र नमिल्नेलाई डम्पिङ गरिने नगपालिकाकी उपमेयर पम्फा बसेलले जानकारी दिइन्।
सो प्रशोधन केन्द्रमा हालका लागि वडा नं. ३, ४ र ५ का बजार क्षेत्रका बाह्रसय घरधुरीबाट फोहर संकलन गरी प्रशोधन गरिनेछ। पछि अरु वडाका बस्ती क्षेत्रबाट पनि फोहर संकलन गरिने उपमेयर बसेलले जानकारी दिइन्।
नगरपालिकाले गत बर्ष नै प्रशोधन गर्ने मेसिन खरिद गरी ल्याएको थियो। तर कोभिडका कारण जडान गरी प्रयोगमा ल्याउन सकेको थिएन।
फोहरमैला व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नं. ५ का अध्यक्ष दीपक पाण्डेको अध्यक्षतामा सम्पन्न प्रशोधन केन्द्र उद्घाटन समारोहमा मेयर कँडेलले फोहोर व्यवस्थापनमा सहयोग गर्न नगरबासीलाई अपिल गरे। ‘शहरीकरणतर्फ उन्मुख हुँदै गरेको यस नगरपालिकामा भविष्यलाई समेत मध्यनजर गर्दै फोहोरमैला प्रशोधन केन्द्र स्थापना गरिएको हो’, उनले भने, ‘हामी सबैले हातेमालो गर्दै सुन्दर र सफा पालुङटार बनाउने हो। त्यसैले सबै नागरिकले आफ्नो घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याई व्यवस्थापनमा सहयोग गर्न अनुरोध गर्दछु।’
प्रतिक्रिया दिनुहोस !