ओलीविरुद्ध अविश्वास प्रस्ताव छिट्टै : बाबुराम
गोरखा : प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव छिटै पेश गर्ने जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् ।
गृह जिल्ला गोरखामा मंगलबार पत्रकारसँगको भेटमा उनले प्रधानमन्त्रीलाई हटाउने प्रक्रिया छिट्टै अघि बढ्ने बताएका हुन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदैनन् । नैतिकता भएको मान्छेले मात्र राजीनामा दिन्छ । उनबाट त्यो अपेक्षा गर्नु मूर्खता हो,’ उनले भने, ‘त्यसैले उनलाई हटाउने तरिका भनेको अविश्वास प्रस्तावमार्फत नै हो । अब छिट्टै अविश्वास प्रस्ताव अघि बढाउछौँ ।’ काङ्ग्रेसले पनि प्रधानमन्त्री ओलीको राजीनाममा माग गरिसकेकाले अविश्वास प्रस्ताव लैजाने ढोका खुलेको उनले बताए ।
‘कांग्रेस, जसपा, माओवादी यी तीनवटा शक्ति र एमालेभित्र जो केपी ओलीसँग सहमत छै्रन, उहाँहरु पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्छु भनेर तत्परता देखाएको अवस्थामा हामी छिट्टै अविश्वास प्रस्ताव ल्याएर ओलीलाई हटाउछौँ,’ उनले भने ।
संविधानमा भएअनुसार अविश्वास प्रस्ताव लैजाँदा प्रधानमन्त्रीको वैकल्पिक उम्मेद्वारी दिनुपर्ने तर माओवादीले सरकारबाट समर्थन फिर्ता नलिइसकेको हुनाले प्राविधिक रुपमा गृहकार्य गर्न केही कठिनाइ भएको समेत उनले बताए ।
‘प्रधानमन्त्री जो पनि हुनसक्छ । अहिले कुनै पार्टीको बहुमत छैन । धेरै ठूलो अन्तर पनि छैन । तीनै पक्षको दाबी रहनसक्छ तर यही कारणले ओलीको लोकतन्त्र विरोधी अभियानलाई बल पुग्ने कामचाहिँ हुने दिँदैनौँ,’ उनले भने । ओली सरकारको आयु जति लम्बिँदै जान्छ, मुलुकलाई उति धेरै क्षति हुँदै जाने भट्टराईले टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस !