प्रदेश २ का प्रमुख अहिराजले गोरखा पुगेर भने: पृथ्वीनारायणको भूमि स्पर्श गर्न आएँ
गोरखा: कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्वीर राखेर मात्र पदभार सम्हालेका प्रदेश नं. २ का प्रमुख राजेश अहिराजले शनिबार पृथ्वीनारायण शाहको जन्मस्थल गोरखाको भ्रमण गरेका छन् ।
विभिन्न छ वटा प्रदेशका प्रमुखरुहरुलाई पनि पृथ्वीनारायण शाहको तस्वीर उपहार दिँदै हिँडेका अहिराज भ्रमणको शिलशिलामा शनिबार नेपाल एकीकरणको उद्गम स्थल गोरखा आइपुगेका हुन् ।
गोरखा भ्रमणको क्रममा उनले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको दरबार भ्रमण गरी शाहको शालिकमा माल्यार्पण गरेका थिए । बिहानै ८ बजे गोरखा दरबार पुगेका उनले सर्वसाधारणसँग लामवद्ध भएर गोरखकाली भगवती तथा गोरखनाथको पूजाअर्चना गरेका थिए ।
यस क्रममा राजसंस्थाप्रति बफादार रहेका गोरखनाथका पूजारी नाथ सम्प्रदायका प्रदीपनाथ योगीसँग विशाल नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदानका बारेमा छलफल पनि गरेका थिए । पृथ्वीनारायण शाहले एकीकरण गरेर विशाल नेपाल निर्माण गरेको त्यही आडमा अहिले ७ प्रदेशमा निर्माण भएको र आफू प्रदेश प्रमुख हुन पाएको भन्दै पृथ्वीनारायण शाहको योगदानको चर्चा गरेका थिए ।
प्रदेश प्रमुख अहिराजले मार्क्सवाद, लेनिनवाद, माओवादको मूल आधार पृथ्वीनारायण शाहको दिव्योपदेश भएको दाबी पनि गरेका थिए । विश्वका ठूलाठूला नेताहरुले प्रतिपादन गरेका सिद्धान्त भन्दा पनि पृथ्वीनारायण शाहको दिव्योपदेश हाम्रो देशको माटो, हावापानी सुहाउँदो ‘वाद’ भएकाले समुन्नत नेपाल निर्माणका लागि यही काफी भएको दाबी गरे ।
छिमेकी मित्रराष्ट्रहरु चीन र भारतले पनि पृथ्वीनारायण शाहको दिव्योपदेशलाई अवलम्वन गर्दै सम्मृद्धिको उचाइमा पुगेको हुँदा नेपालले पनि यसलाई अक्षरसः अपनाउन सके १० वर्षभित्र नेपाल पनि सम्मृद्ध बन्ने तर्क गरे ।

गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेल, प्रहरी प्रमुख एसपी शैलेन्द खनाल, गोरखा दरबारका प्रमुख हरि भुसाल, गोरखा दरबार संग्रहालय प्रमुख नवराज अधिकारीसँगको छलफलका क्रममा प्रदेश प्रमुख अहिराजले पृथ्वीनारायण शाहले भूगोलको एकीकरण गरेको र नेपालीको मनहरुको एकीकरण गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेको बताएका थिए ।
गोरखा दरबार संग्रहालयमा रहेका सम्पदाहरुको अवलोकनपछि अहिराजले नेपाल एकीकरणको क्रममा सहादत प्राप्त गर्ने तथा अहोरात्र खट्ने तराई मधेशका योद्धा र मुस्लिमको योगदान जनाउने सम्पदालाई उच्च सम्मानका साथ संग्रहालयमा समेट्न निर्देशन दिएका थिए ।
‘पृथ्वीनारायण शाहले सबैखालका भूगोल जोडेर सिँगो नेपाल निर्माण गरिदिनु भएको छ र त हामी नेपाली भनेर रहन पाएका छौँ’, उनले भने, ‘देश निर्माताका लागि हरेक नेपालीले उच्च तहको आदर, सत्कार र श्रद्धा गर्नुपर्छ । त्यसैले उहाँको जन्मस्थानमा स्पर्श गर्न म आएको हुँ ।’
संघीयता, समावेशिता, अर्थतन्त्रको आधुनिक रुप त्यतिबेला दिव्योपदेशमा पृथ्वीनारायण शाहले दिएकाले त्यसको मनन गर्नुपर्ने उनले बताए ।
'तराईका नागरिकले पहाड र हिमालको भ्रमण गर्ने, पहाड र हिमालको मान्छेले तराईको भ्रमण गरेमा मनहरुको एकीकरण हुने छ’, उनले भने, ‘७७ वटै जिल्लाका बासिन्दाले ७७ वटै जिल्ला भ्रमण गर्नुपर्छ । आत्मीय एकताका लागि अध्ययन गर्ने, भ्रमण गर्ने र अपनत्व लिने गर्नुपर्छ ।’आफू गएका सबै ठाउँका नागरिक अगुवालाई तराई मधेस भ्रमणको निम्तो दिँदै आएको उनले बताए ।
प्रदेश प्रमुख अहिराज मुस्ताङ, मनाङको भ्रमण सकेर गोरखा आइपुगेका हुन् । शनिबार गोरखाको भ्रमण सकेर उनी नुवाकोट भ्रमणमा गएका छन् ।
प्रतिक्रिया दिनुहोस !