गोरखा तिब्बत सीमा सडकको काम सुरु
गोरखा : बिगत तीन वर्षदेखि काम सुरु हुन नसकेर बजेट फ्रिज भइरहेको गोरखा र तिब्बतको सीमाना जोड्ने सडकको काम सुरु हुने भएको छ । साँढे तीन किलोमिटर सडक यही हप्तादेखि खन्न सुरु गरिने पूर्वाधार कार्यालय गोरखाले जनाएको छ।
कार्यालयले साम्दोदेखि रुईको ३५ नम्बर पिलरसम्मको नौ किलोमिटर सडक केही दिनअघि सर्भे गरेर सकेको छ । तीन जनाको प्राविधिक टोलीले गतहप्ता सो सडक सर्भे गरेर शनिबार सदरमुकाम फर्केको छ ।
हेभिइक्यूपमेण्टको अभावका कारण श्रमिकले नै सडक निर्माण गर्ने योजना बनेको पूर्वाधार कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए ।
‘साँढे तीन किलोमिटर लम्बाई, चार मिटर फराकिलो सडक खन्न यही हप्तादेखि सुरु हुन्छ’, उनले भने, ‘सडक भनेर निर्माण गर्दा प्राविधिक समस्या हुने भएकाले गोरेटो बाटो भनेर निर्माण हुनेछ तर गाडी गुडाउन सकिने गरी निर्माण हुनेछ ।’ आईईई निर्माणमा ढिलो हुँदा सडकको नाममा काम गर्न नसकिएको उनले बताए ।
सो सडक निर्माणका लागि चालु आर्थिक वर्ष ५८ लाख रुपैयाँ खर्च गरिने छ । सो कामका लागि लाक्पाडुण्डुप लामा अध्यक्ष रहेको उपभोक्ता समिति गठन भइसकेको छ । समितिले पूर्वाधार कार्यालयसँग सो कामका लागि योजना सम्झौता गरिसकेको छ ।
५० लाख रुपैयाँ सरकारी बजेट र आठलाख रुपैयाँ जनश्रमदान जुटाई काम गर्न लागिएको कार्यालयले जनाएको छ।
गोरखा र तिब्बतको रुइला जोड्ने सडकको सर्भेको क्रममा । तस्बिर सौजन्य : सूर्यचन्द्र थापा
सर्भे टोलीका अनुसार ३५ नम्बर सीमास्तम्भबाट सडक निर्माण गर्ने योजना रहेपनि अहिले तीन फिटसम्म बाक्लो हिउँ जमिरहेका कारण माथिबाट तल सडक खन्दै आउन सकिने अवस्था छैन ।
‘हिउँ जमिरहेका कारण सीमानाबाट खन्दै आउन सकिएन । अब सीमानाभन्दा चार किलोमिटर तलबाट सडक खन्दै जाने योजना बनेको छ’, इञ्जिनियर सुरज थापाले भने, ‘सर्भे रिपोर्ट, लागत स्टमेटलगायतका सम्पूर्ण कागजपत्र बनिसकेको छ ।’
विभिन्न प्राविधिक कारणवश ठेक्का प्रक्रियामार्फत निर्माण गर्न नसकिएको सो सडक अब उपभोक्ता समिति बनाएर काम सुरु गर्न लागिएको पूर्वाधार कार्यालयका प्राविधिकको टोली हालै सो सडक सर्भे गरेर फर्किएको कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए ।
‘विभिन्न कारणवशः ठेक्का लगाउन सकिएन । अब मान्छेले नै खन्ने गरी उपभोक्ता समितिसँग सम्झौता गर्ने तयारी भइरहेको छ’, इञ्जिनियर सुवेदीले भने, ‘यसवर्ष ५८ लाख रुपैयाँको काम हुनेछ । यो बजेटले साम्दो गाउँबाट तीन किलोमिटर सडक निर्माण हुनेछ ।’ त्यसपछि क्रमागत रुपमा थप सडक निर्माण गरिने उनले बताए ।
साम्दोदेखि रुई पाससम्म करिब १८ किलोमिटर सडक निर्माण गर्नुपर्ने छ । रुई गाउँबाट सीमानासम्म ल्याएको सडकसम्म यताबाट लगेको सडक जोड्न सकेमा सीमापारिबाट डोजर ल्याएर सडक खन्ने बारे समझदारी बनेको चुमनुब्री गाउँपालिका १ साम्दोका वडा सदस्य निमा दोर्जे लामाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !