महामारीमा मौन

महामारीमा मौन

विराटनगर : कोरोना भाइरसको पहिलो चरणमा संक्रमण फैलिएको केही समयमा नै प्रदेश १ का स्थानीय तह आफैंले लकडाउन गराउन प्रशासनसँग माग गरेका थिए। लकडाउन भएको केही दिनमै राहत बाँड्ने लहर चल्यो। संघसंस्था मात्रै होइन, स्थानीय तहले चरणचरणमा राहत प्याकेज ल्याए। घरघरमा चामलका बोरा पुर्या‍ए। राहतमा तह र प्रदेश सरकारले लाखौं, करोडसम्म खर्च गरे।

पहिले विकास निर्माणका लागि आएको रकमसमेत रकमान्तर गरेर खर्च गर्ने स्थानीय तहहरू दोस्रो चरणमा कोरोना नियन्त्रणसँगै संक्रमित र मृतकको व्यवस्थापनमा समेत उदासीन देखिएका छन्। अधिकांश तहलाई अहिले कोरोना रोकथामभन्दा रकम जोहो र विकास निर्माणकै चिन्ता छ। 

प्रदेश १ का १४ जिल्लामा १ सय ३७ वटा स्थानीय तह छन्। तीमध्ये एक महानगर र दुई उपमहानगरले संक्रमण नियन्त्रणमा चासो दिएर काम गरे। नगरपालिका र गाउँपालिकाको भने संक्रमणसँग जुध्ने योजना छैन। बनाएकाहरूको पनि प्रभावकारी छैन। झापा, मोरङ, सुनसरी र उदयपुरबाहेक पहाडी केही जिल्लामा निषेधाज्ञा गर्नुबाहेक अन्य कार्यमा तहहरू उदासीन छन्। 

कोभिडको ‘हटस्पट’ बनेको विराटनगरसहित धरान र इटहरीले कोभिडसँग जुध्ने तयारी आफ्नो क्षमताअनुसार गर्दै आएका छन्। प्रदेशलाई नै नेतृत्व गर्ने विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिकाले कोभिडको संक्रमण रोकथाम, उपचार, आइसोलेसन, सचेतना र अक्सिजन व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेका छन्। ‘हामीले हाम्रो तहमा सकेसम्मको काम गरेका छौं,’ विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली भन्छन्, ‘प्रदेशले नभ्याएपछि अहिले हामी आफैंले स्वाब संकलन र कन्ट्याक्ट टे«सिङसमेत गर्न थालेका छौँ।’

विराटनगरमा संक्रमित बढ्दै जाँदा प्राथमिक स्वास्थ्य चौकीमा १९ बेडको आइसोलेसन केन्द्र बनाइएको छ। १९ वटै वडामा फिबर क्लिनिक सञ्चालनमा रहेको उपप्रमुख इन्दिरा कार्कीले जानकारी दिइन्। विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याएको दुई वटा एम्बुलेन्समध्ये एउटामा कोभिड संक्रमित मात्र बोक्ने गरिएको छ भने अर्को एम्बुलेन्स सुत्केरी महिलाको उद्धारमा प्रयोग गर्ने गरिएको छ। नोबेल, विराट र कोसी अस्पतालसँग विराटनगर महानगरपालिकाले संक्रमितको उपचार र व्यवस्थापनमा समन्वय गर्दै काम गरिरहेको छ। महानगरमा केही दिन अघिबाटै निषेधाज्ञा छ।

दुई उपमहानगरपालिकामध्ये इटहरी र धरानले पनि कोभिड रोकथाम र नियन्त्रणका लागि कामलाई तीव्रता दिएको बताएका छन्। इटहरीमा ५० शय्याको आइसोलेसन सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ। आइसोलेसन अबको तीन दिनभित्र तयार भइसक्नेछ। खानपानको व्यवस्थाका लागि प्रक्रिया पूरा गरेर आइसोलेसन सञ्चालनमा ल्याइने उपमहानगरका स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले बताए। 

इटहरीमा अहिले अक्सिजनको समस्या छैन। धरान उपमहानगरलाई पनि यो चिन्ता खासै छैन। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नगरमा नै भएकाले समस्या नहुने दाबी मेयर तिलक राईको छ। 

झापाका तहहरूले बिरामीलाई समयमा अस्पताल लैजाने, स्वाब संकलन र परीक्षण गर्नेसम्मका काम नियमित गर्दै आएका छन्। सुनसरी र झापामा पनि निषेधाज्ञालाई कडा बनाइएको छ। 
तीन जिल्लाका केही तहमा यी नमुना काम भए पनि अन्य तहहरू चुपचाप बसेका छन्। प्रदेश वा केन्द्रबाट निर्देशन आए गर्ने नत्र सधैंजसो काम चलेकै छ भन्ने सोचमा संक्रमणलाई बेवास्ता गर्दा अन्य तह र जिल्लामा पनि जोखिम बढ्दै गएको छ। यस्तै खेलाँचीकै कारण छिमेकी जिल्लामा संक्रमण न्यून हुँदाहुँदै हिमाली जिल्ला ताप्लेजुङमा संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ। ‘पाथीभरा दर्शन गर्न आउनेहरूको लहर बढ्दा स्थानीयले सावधानी नअपनाएकाले र भारतीय आर्मीमा गएकाहरू आफन्तकोमा आउँदा जिल्लामा संक्रमण फैलिएको छ,’ ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भने, ‘नियन्त्रण गर्न नगर क्षेत्रमा निषेधाज्ञा र अहिले कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.