डोजरले निल्यो पानीको मुहान
जनकपुरधाम : ‘आजकल नियमित साँझ–बिहान धारामा पानी आउँदैं किन ? टुटी खोल्दा हावा मात्रै आउछ, मिटर फनफनी घुमेर युनिट उठाउछ,’ बर्दिबास–३ गौरिडाँडाकी बिनिता श्रेष्ठले खानेपानी समितिका अध्यक्ष भोला खड्कालाई प्रश्न गरिन्।
‘मुहान सुकेर पानी कम भइसकेको छ। खुसी हुनुस्, कम्तिमा साँझ न आए पनि बिहान एक पखत त आउँछ,’ बर्दिबास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खड्काले उनलाई उत्तर दिए।
धारामा नियमित पानी नआएकोबारे बिनिता श्रेष्ठले मात्रै अध्यक्ष खड्कालाई यो प्रश्न गरेका होइन। उनी जस्ता महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १, २, ३ र १४ का ५ हजार उपभोक्तले गर्छन्। चैत्र लागेसँगै जेठसम्म धारामा पानी नियमित नआएपछि अध्यक्ष खड्का उपभोक्तालाई उत्तर दिदैं हैरान हुन्छन्, कहिले कार्यालयमा त कहिले फोनमा त कहिले जहाँ भेटियो त्यही। ८ वर्षदेखि हिउँद लागेपछि बर्दिबासमा खानेपानीको अभाव हुन्छ।
‘खोला दोहनले खानेपानीको मुहान हिउँदमा सुकेर आधा हुन्छ,’अध्यक्ष खड्का भन्छन्,‘तलपट्टी खोला खनेर गहिरो भएपछि चुरेमा पानीको स्रोत हराउँदै गएको छ।’ बर्दिबासको मुल शहरी क्षेत्रका वडाहरुमा दैनिक ७ लाख लिटर खानेपानीको माग हुन्छ। हिउँद आएपछि उपभोक्ताको माग धान्न खानेपानी समितिकालाई समस्या हुने गरेको अध्यक्ष खड्काले बताए।
बर्र्दिबास शहरीकरण हुँदैं गएपनि चार वर्ष अघि साँढे चार करोंड खर्चेर बर्दिबासमा खानेपानीको नयाँ योजना निर्माण गरियो। रातु खोलाको सुनारमरे दहमा त्यसको मुहान छ। अहिले त्यो मुहान पनि खोला उत्खननले जोखिममा छ। बर्दिबासमा जनसंख्या बढ्दो छ, पिउने पानीको मुहान घट्दो छ। मुहानको दक्षिणतिर डोजरले गरिने अवैध उत्खखनले मुहानलाई त्यसैले स्वाटै निलिरहेको छ। जेसिबी, स्काईभेटर, लोडरलाई जनबोलीमा ‘डोजर’ भनेर बुझिन्छ।
बर्दिबासमा मात्रै खानेपानीको समस्या छैन। यो तराई मधेशको ३७ जिल्लाको साँझा समस्या बन्दै गएको छ। सरकारले खानेपानीका लागि टोलमा इनार, बस्तीमा ओभर हेडटयांक धामाधम निर्माण गरिरहेको छ भने खेतखेतमा डिपबोडिङ्ग गाड्ने बर्दिबाससहितका ठाउँमा लहर नै चलेको छ। तर, खानेपानी मुहान रहेको चुरे, भावर क्षेत्र संरक्षणमा सरकार चुक्दा खानेपानी पूर्वधारमा गरेको लगानी बालुवामा पानी झै भइरहेको छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका १ करोंड ४७ लाख ४८ हजार ६७२ नागरिक चुरेको जलभण्डारमा निर्भर छन्।
अर्थशास्त्री डा. सुरेन्द्र लाभलाई बीस वर्षको अन्तरालमा तीन वटा चापाकल गाड्नु परेको छ। बसाईसराई वा सोखले उनले ह्याण्ड पाइप गाडेका होइन्। जलस्तर जसरी जसरी तल तल गयो उनी पनि नयाँ पाइप गाड्दैं पानी खोजे।
डा. लाभको घर जनपुरधाममा छ। जहाँ प्रदेश २ को अस्थाई राजधानी छ। जानकी मन्दिरको पछाडी पट्टी जनकपुरको बीच शहरमा उनको बसोबास छ। उनलाई बीस वर्षको अन्तरालमा क्रमश : पहिलो मुहान १२५, दोस्रो मुहान २५० र तेस्रो मुहान ४२५ फिटबाट शुद्ध पिउने पानी प्राप्त गर्नु परेको छ। सहज प्राप्त हुने पानी मुहान सुकेर हराउँदै तल गएपछि गरिबहरुकोे शुद्ध पिउने पानी पहुँचमा छैन।
‘पानी हाम्रो सभ्यता हो। चुरे संरक्षणले मात्रै यो सम्भयता बाँच्छ। तर, पैसा कमाउने दाउले यसको अनावश्यक दोहन भइरहेको छ,’ डा. लाभले भने, ‘भोजन नभएपनि एक केही दिन बाँच्न सक्छौं तर, पानी नभए हामी एक छिनमै प्याकप्याक हुन्छौं।’ वालुवा, गिट्टी, ढुंगा निकासी गर्न सरकारले ल्याएको नीति फिर्ता लिनु पर्ने उनको माग छ।
‘प्राकृतिक दोहनले पर्यावरणमा मात्रै असर पर्दैन,’उनले भने,‘सामाजिक तथा आर्थिक क्षेत्र चौपट बन्छ। चुरेमा गरिने दोहनले मधेश मरुभूमीकरण हुन्छ।’ अहिले नै खानेपानीको मुहान सुक्ने समस्या विकराल बनेको उनले बताए। ‘देशमा राजनीतक अस्थिरता भएको बेला प्रकृतिमाथि प्रहार भएको विगतमा देखिएकै हो। त्यो फेरि अहिले नदोहोरियोस्,’उनले भने।
चुरे विनासले सर्लाहीको उत्तरी क्षेत्रका गाउँहरु काकाकुल भएका छन्। बर्षाभएपछि साउन, भदौं र असोजमा कुवा, मुल पुट्ट। त्यहाँबाठ गाउँलेहरु प्यास मेटाउँछन्। बाँकी ९ महिना पिउने पानीको चरम अभाव खेप्छन्। लालबन्दी, ईश्वरपुर हरिवन र बागमती नगरपालिकाको चुरे क्षेत्रका दर्जनौ बस्तीमा खानेपानीको समस्या बिकराल छ भने चुरेको भावर र गाउँमा पानीको लिएर गहिरिदैं गएको छ।
महोत्तरीको बर्दिबासस्थित अनियन्त्रित रुपमा खोला खनिदैं।
दुई दशकदेखि सर्लाहीमा पत्रकारकारी गर्दै आएका नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्री भन्छन्,‘चुरेमा भएका कतिपय बस्तीका मानिस र गाईवस्तुका एउटै मुहानको पानी खान्छन्।’ ईश्वरपुर नगरपालिकाको वडा नम्बर १२ स्थित गुइडुङ्ग गाउँमा ५० घरधुरीका स्थानीय प्रयोग गर्ने पानीको मुहानमा उनीहरुले पालेका गाईवस्तु पनि त्यही पानी खान्छन्, उनले भने।
सर्लाहीको चुरे क्षेत्रमा पर्ने कालिन्जोर, परवानीपुर, पथरकोट, अत्रोली लगात दर्जनौ गाउँका नागरिकले ५–६ किलोमिटर टाढा धाएर खोलाको धमिलो पानी खान बाध्य छन्। त्यसले गर्दा उनीहरुको स्वास्थ्यमा नकारात्मक असर परेको छ।
ईश्वरपुर नगरपालिका मेयर मनोज देवकोटाले भू–कम्प गएपछि चुरेका मुहानहरुको भू–बनोट खलबलिएर त्यस क्षेत्रमा खानेपानीको समस्या भएको बताए। ‘वन जंगल मासिदै गयो, वृक्षारोपण हुँदैन। त्यसमाथि पनि भू–कम्पले पहाल हलाएर कमजोर बनायो। बर्षामा पहिरो गएर खानेपानीको मुहानमै क्षति पुर्याउँछ,’मेयर देवकोटा भन्छन्,‘चुरेमा एक सय वर्षदेखिका पनि बस्तीहरु छन्। त्यहाँ बाटो, खानेपानी पुर्याउनै समस्या छ।’
चुरेका बालुवा, गट्टी, ढुङ्गा सदुपयोगको नाममा जथाभावी उत्खनन गरिदाँ चुरेका गाउँहरुमा पिउने पानीको हाहाकार हुनुको मुख्य कारण भएको पत्रकार महासंघका अध्यक्ष क्षेत्रीले अनुभव सुनाउँछन्।