लिचीबाट मनग्य आम्दानी

लिचीबाट मनग्य आम्दानी

गोरखा : गोरखाको लिची ब्लक भनेर चिनिने पालुङटार नगरपालिकामा यतिबेला लिची बिक्री गर्ने सिजन सुरु भएको छ। नगरपालिकाको वडा नं. ६ पौवाटार, खत्रीटार, वडा नं. ७ को बिरुवाटारलगायतका सबै क्षेत्र, वडा नं. ८ को रातामाटे, डुँडाटारलगायतका क्षेत्रका किसान अहिले लिची बेच्नमा व्यस्त छन्।

यस क्षेत्रको करिब ३ हजार ५ सय रोपनी क्षेत्रमा लिची बगैंचा छ। ठूलो क्षेत्रमा लिची खेती हुन थालेपछि कृषि ज्ञान केन्द्रले यस क्षेत्रलाई लिची ब्लक घोषणा गरेर विभिन्न कार्यक्रम लागू गरेको छ।

लिची बेचेर सिजनमा यस क्षेत्रका किसानले १० करोडदेखि १२ करोड रुपैयाँसम्म भिœयाउने संयुक्त लिची ब्लक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिए। लिची पाक्ने सिजनमा काठमाडौं, पोखरा, चितवन, झापा र भारतदेखिका व्यापारीहरू बगैंचामा किन्न आउने उनी बताउँछन्। लिची बेचेर मनग्य आम्दानी हुन थालेपछि किसानहरू पनि खुसी भएका छन्।

‘धान, मकै खेतीभन्दा किसानलाई लिचीबाट १० गुना बढी फाइदा हुने रहेछ’, गुरुङ भन्छन्, ‘त्यसैले किसानहरू लिची खेतीमा लागेका छन्। मोटामोटी अनुमान गर्दा दुई सय जना किसानले १०, १२ करोड रुपैयाँ आम्दानी गर्छन्।’

लिची बिक्रीका लागि जारी निषेधाज्ञाले पनि असर नगरेको बगैंचामा आएका व्यापारीहरूको भनाइ छ। फलफूल किन्न, बेच्न तथा ओसारपसारमा निषेधाज्ञाले केही असर नगर्ने गुरुङको बगैंचाको ठेक्का लिएका एक व्यापारीले बताए।

लिचीबाट मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका किसानहरू अन्नबाली हुने खेतबारीमा धमाधम लिची खेती गर्न थालेका छन्। कम दुःख गरेर मनग्य आम्दानी हुने भएपछि लिचीमा किसानहरूको लगाव बढेको अध्यक्ष गुरुङको भनाइ छ। 

१० बोटभन्दा धेरै लिची लगाउने किसानलाई लिची ब्लक समितिमा आबद्ध गराउने गरिन्छ। अहिलेसम्म दुई सय जनाभन्दा धेरै किसानहरू लिची ब्लक सञ्चालन तथा समन्वय समितिमा आबद्ध भएको समितिका कोषाध्यक्ष सुब्बा पन्तको भनाइ छ। 

समितिमा आबद्ध भएका किसानलाई कृषि ज्ञान केन्द्र तथा नगरपालिका कार्यालयले सहयोग गर्ने गरेको छ। सरकारले लिची ब्लकका किसानलाई औषधि, विषादी छर्कने मेसिन, लिची टिप्ने भर्‍याङ, हातेट्याक्टर, सिँचाइका लागि प्लास्टिक पोखरी, खोल्सी छेकेर बाँध बनाउनेजस्ता कार्यक्रममा सहयोग गरेको पन्तले बताए।

अझै धेरै सहयोगको खाँचो रहेको स्थानीय लिची व्यवसायी राजेश काफ्लेको भनाइ छ। हावापानी उपयुक्त भएकाले कृषक लिचीखेतीतर्फ आकर्षित भएका छन्। ‘जति मल र सिँचाइ भयो उति नै राम्रो हुने भएकाले यो सुक्खा टारमा सिँचाइको व्यवस्था गरिदिनु अत्यन्त खाँचो छ’, उनले भने, ‘जति उत्पादन भए पनि बजारको समस्या नहोस् भन्नका लागि स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारले यहाँ नै लिचीको कच्चा जुस प्रशोधन गर्ने उद्योग स्थापना गर्नुपर्ने देखिन्छ।’ 

यस क्षेत्रमा २०३० सालदेखि लिची खेती सुरु गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.