थातथलो छाड्दै सल्लेरीबासी
गोरखा : अबिरल वर्षापछिको बूढीगण्डकीको बाढीले बस्ती बगाएपछि चुमनुब्री गाउँपालिका ३ सल्लेरीका बासिन्दा बुधबार दिनभर थातथलो छाड्न व्यस्त छन्। बाटोमुनिका नौ घरका बासिन्दाले घर खाली गरेर गाउँमाथिका पखेरामा गएर बसेका स्थानीय गणेश कार्कीले जानकारी दिए।
२७ घर रहेको सल्लेरीको बाटोमुनिको सबै घर विस्थापित भएका र बाटोमाथिका घरहरु पनि घर छाड्दै गरेका उनले बताए।
झमझम पानी परिरहेकाले नयाँठाउँमा बस्न पनि कठिन भएको उनले बताए। ‘घर बूढीगण्डकीले लगेपछि मान्छेमाथि पाखामा सरेका छन्’, उनले भने, ‘त्रिपाल पनि छैन। बस्ने, सामान राख्ने ठाउँ पनि छैन। सामान पाखा पखेरामा असरल्ल छ।’ कसैले कतैबाट त्रिपाल ल्याउँछन् कि भन्ने आशामा दिन बितेको उनले बताए।
बाटो जताततै अबरुद्ध भएको र मौसम पनि प्रतिकूल भएका कारण त्रिपाल पठाउन कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले बताए।
सामाजिक संस्था मिलेर त्रिपाललगायतका राहत सामग्री पठाउन तयारी गरिएको तर बाटो अबरुद्ध हुँदा नसकिएको काठमाडौं रहेका अर्का स्थानीय वीरबल घलेले जानकारी दिए।
तीन दिनदेखिको अबिरल वर्षाका कारण सल्लेरीको चार घर बूढीगण्डकीले बगाइसकेको छ। नेपाली सेनाको सडक निर्माण कार्यदलको शिविर पनि जोखिममा छ।
सदरमुकामबाट ३० कोश टाढा रहेको यहाँ झरी पर्न थालेपछि बिगत केही दिनदेखि सञ्चार सम्पर्क पनि अबरुद्ध छ।
प्रतिक्रिया दिनुहोस !