जता गयो त्यतै पुग्छ बूढीगण्डकी
गोरखा : चुमनुब्री गाउँपालिका–३ सल्लेरीका ६० वर्षीय थर्पती गुरुङको अहिले पालमुनि बास छ। गत बुधबार बेलुकी आएको बूढीगण्डकीको भेलले घर बगाएपछि उनको बिल्लीबाठ भएको हो।
सल्लेरी गाउँभन्दा माथि पखेराको अलि समथर ठाउँमा गाउँले भेला भएर एउटा पातलो पाल टाँगिदिएका छन्। त्यसैभित्र एकसरो म्याट्रेस ओछ्याएर उनी त्यहीँ बस्छन्, त्यहीँ सुत्छन्। अत्यासको बेला टाँगेको पालले न झरी ओत्छ, न बाछिटा।
टहरोमा उनी एक्लो छन्। पहिलो रात उनी र बाढीले लखेटेका अन्य सबैलाई नेपाली सेनाको सडक निर्माण कार्यदलले खाना खुवायो। ओत लाग्ने ठाउँ नपाएर सिँगै रात झरिमै बित्यो। दोस्रो दिन बिहीबार बिहानै एक दाता हेलिकोप्टर चढेर आए। पाल, म्याट्रेस, चाउचाउ र मास्क दिएर गए।
भोलिपल्टदेखि बस्ने ठाउँ त भयो। तर, उनको घरभित्र खानेकुरा केही छैन। नौ वर्षअघि उनी अलिक पर पैयुँमा बस्थे। त्यहाँ उनको एक रोपनी बारी पनि थियो। बस्तीमाथिबाट ठूलो पहिरो झर्यो। पैयुँ गाउँमा रहेका १० वटामध्ये सबै घर बूढीगण्डकीमा पुर्यायो। खनीखोस्री गर्ने माटो पनि बाँकी रहेन। त्यहाँबाट विस्थापित भएका १० घरपरिवारलाई सल्लेरीका बासिन्दाले निःशुल्क घडेरी दिए।
त्यहाँ बसेको नौ वर्षपछि फेरि बूढीगण्डकीले बास खेदेको स्थानीय गणेश कार्की बताउँछन्। ‘थर्पती जस्तै समस्या भएका यहाँ अरू तीन जना छन्’, कार्की भन्छन्, ‘पैयुँबाट भागेर बास खोज्दै आएकामध्ये कोही बाटो माथि बसे। बाटोमुनि बस्ने राम गुरुङ, लक्ष्मण गुरुङ र लोङ्बा गुरुङको पनि हालत उस्तै छ। उनीहरूको पनि न ओत लाग्ने ठाउँ छ, न गरिखाने ठाउँ छ।’ बूढीगण्डकीले बास उठाएको सुन्दर गुरुङ, सूर्य, गणेश, अर्का सुन्दर गुरुङ, कान्छीमाया, साहिली गुरुङ र इन्द्रबहादुर गुरुङको पनि अवस्था नाजुक रहेको उनले बताए।
सल्लेरीमा भूकम्प पीडितले लाभग्राहीबापत पाउने तीन लाख रुपैयाँले उनीहरूले ढुंगामाटोको पक्की घर बनाएका थिए। ‘पहिले पो भूकम्प पीडितबापतको तीन लाख रुपैयाँ पाएका थिए र घर बनाएका थिए’, कार्कीले भने, ‘अब न घर, न घडेरी। सुकुम्बासीको पनि महासुकुम्बासी भए।’
बेलुका सात बजेतिर बूढीगण्डकीले एक्कासि हान्न थालेपछि भागाभाग भएको थर्पती गुरुङले बताए। ‘एक्कासि ड्याङ्का ड्याङ हान्न थालिहाल्यो। भागाभाग भइहाल्यो’, उनी भन्छन्, ‘अहिले यहाँ न खाने कुरा छ, न ओढ्ने ओछ्याउने। न फेर्ने लुगा छ। यही एक्लो ज्यान मात्र छ।’ बर्खा काट्न बाछिटा नलाग्ने खालको त्रिपाल पाउन पाए हुन्थ्यो भन्ने उनको आशा छ।
आठ जनाको परिवारसहित पालमुनि गुजारा चलाइरहेका राम गुरुङले चिसोले असर गर्न थालेको बताए। ‘यस्तो चिसोमा यो एक महिनाको नाति छ। कसरी जोगाउने खोइ ?’, उनी भन्छन्, ‘आफ्नो नाममा नङमा लगाउने माटो पनि छैन। अर्काको बारीमा अधियाँ गरिखाएको हो। त्यही अन्न पनि निकाल्न पाइएन। बिचल्ली भयो।’
तीन दिनको अबिरल वर्षापछि उर्लिएको बूढीगण्डकीले गत बुधबार साँझ सल्लेरीका चार घर बगाएको थियो। १० घर विस्थापित भएका थिए। त्यस्तै बूढीगण्डकीले चुमनुब्री ३ तल्लो जगतका चार घर, चुमनुब्री २ अदाफुकका दुई घर, धार्चे १ यारुबगरका दुई घर र धार्चे ३ लुस्याङको एक घर पनि बगाएको थियो।
प्रतिक्रिया दिनुहोस !