बाढीपहिरोले भत्काएका मनहरू
बाढीपहिरोले मेलाम्चीलगायत देशका थुप्रै ठाउँमा जनधनको ठूलो क्षति पुर्यायो। यसबाट वर्षेनी ठूलो धनजनको क्षति पुर्याउनमा अव्यवस्थित बसोवासको मात्र होइन कि भूमाफिया तथा वनमाफियाद्धारा पहाड, खोलानाला तथा वनको नांगो रूपमा दोहन, अन्धाधुन्ध सडक निर्माण तथा बाढीपहिरोको न्युनीकरणमा सरकारको उदासिनता यसका प्रमुख कारणहरू हुन्। विपत्तिहरूमा परि घाइते भएका तथा अंगभंग भएका मानिसहरूमा मात्र होइन, सकुसल जोगिएकामा समेत अनेक मानसिक समस्याहरू देखिन सक्दछ। भूकम्प, बाढीपहिरो तथा युद्ध आदिको चपेटामा परेर बालबाल बाँचेका तथा यस्ता परिस्थितिहरूको सामना गरेका मानिसमा देखिने प्रमुख मानसिक समस्या भनेको पोष्ट ट्राउमाटिक ट्रेस डिसअर्डर (पीटीएसडी) हो।
के हो पीटीएसडी ?
साधारण शब्दमा भन्ने हो भने मानिसको मनमस्तिष्कले थेग्नेभन्दा बढी मानसिक आघात (ट्राउमा) का कारण यदि व्यक्तिमा एक्कासि आघातको कहालीलाग्दो स्मृति, निरन्तर भय, छटपटि, आतंक तथा तनाव देखा पर्छ भने त्यसलाई ‘ट्राउमाटिक ट्रेस डिसअर्डर’ (पीटीएसडी) भनिन्छ। सजिलोका लागि ट्राउमाटिक ट्रेस डिसअर्डरलाई दुई वर्गमा विभाजित गर्न सकिन्छ। ती हुन् : एक्युट ट्रेस डिसअर्डर। पोष्ट ट्राउमाटिक ट्रेस डिसअर्डर (पीटीएसडी)। एक्कासि र बारम्बार आघातपूर्ण घटनाका दृश्यहरू मानसपटलमा आउने (फ्ल्यासब्याक), अनि उत्तेजना र छटपटि एकदम बढ्ने (हाइपरअराउजल) र मुटुको धड्कन तथा श्वासप्रश्वासको गति बढ्ने, शरीर काँप्ने तथा घबराहट बढ्ने तथा त्यो स्मृतिलाई हटाउन खोज्ने तर हटाउन पूर्णरूपमा सफल नहुनेजस्ता लक्षणहरू यदि घटना घटेको तुरुन्त वा एक महिनाभित्र देखा पर्यो भने त्यसलाई एक्युट स्ट्रेस डिसअर्डर भनिन्छ।
विश्वका ८ प्रतिशत मानिस यस मानसिक समस्याबाट पीडित छन्। तर द्वन्द्व प्रभावित ठाउँहरू, प्राकृतिक विपत्तिाहरू आइरहने देशहरूमा पीटीएसडी पीडितको संख्या निकै धेरै छ।
तीन महिनापछि यस्ता लक्षणहरू देखिए भने त्यसलाई पोष्ट ट्राउमाटिक ट्रेस डिसअर्डर (पीटीएसडी) भनिन्छ। एक्युट ट्रेस डिसअर्डरको समय अविधि एक महिनाको हुन्छ। एक महिनापछि पनि यस्ता लक्षणहरू देखिएमा त्यसलाई पीटीएसडी मानिन्छ। पीटीएसडीमा उपर्युक्त लक्षणहरूका साथै एक्लै बस्ने, समाजिक कार्यमा अभिरुचि नदेखाउने, चिन्ता बढ्ने, निद्रा नलाग्ने, घटनासँग सम्बन्धित डरलाग्दो सपना देख्ने, ध्यान एकाग्र नहुने, चिडचिडापना तथा क्रोध बढ्ने आदि लक्षणहरू पनि देखा पर्न सक्छन्। दैनिक जीवनमा देखापर्ने घटनासँग सम्बन्धित कुराहरूले स्थितिलाई झन् जटिल बनाउन सक्छन्। जस्तो बाढीबाट संयोगवश बाँचेका व्यक्तिमा ‘बाढी’ शब्दले मात्र तीव्र भय र आतंकको संवेग देखा पर्नसक्छ। र, ऊ एक्कासि उत्तेजित भएको देखिन्छ।
पीटीएसडीको कारण
मानिसले थेग्नेभन्दा बढी मानसिक आघात (ट्राउमा)का कारण नै पीटीएसडी पैदा हुनसक्छ। युद्ध, यातना, भयंकर प्राकृतिक आपत्विपत्, महाविनाशकारी भूकम्प, सुनामी, भयानक तुफान, बाढीपहिरो, बलात्कार, बीभत्स दुर्घटना, टाउकाको चोट तथा अन्य हिंसात्मक आक्रमण आदिमा परेका, अंगभंग भएका तथा यस्ता घटनाहरू प्रत्यक्ष देखेका मानिससमेत पीटीएसडीबाट पीडित हुनसक्छन्। त्यसैले अहिले नेपालमा आएको विनाशकारी बाढीपहिरोको चपेटामा परेका, त्यसलाई नजिकबाट देखेका व्यक्तिहरूमा पनि पीटीएसडी लगायतका मानसिक समस्या देखिने सम्भावना हुन्छ।
पोष्ट ट्राउमाटिक ट्रेस डिसअर्डर कुनै पनि उमेर समूहका व्यक्तिलाई हुनसक्छ। यस मानसिक समस्याबाट ससाना बालबालिकासमेत पीडित हुनसक्छन्। एक अध्ययनका अनुसार विश्वका ८ प्रतिशत मानिस यस मानसिक समस्याबाट पीडित छन्। तर द्वन्द्व प्रभावित ठाउँहरू, प्राकृतिक विपत्तिहरू आइरहने देशहरूमा पीटीएसडी पीडितको संख्या निकै धेरै छ।
डिप्रेसन र मनो त्रास
केही दिनअघि देशका विभिन्न ठाउँमा आएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। हजारौं मानिस बेघरबार भएका छन्, आफन्त गुमाएका छन्। पशुचौपाया तथा खेतबारी नै बाढीपहिरोले बगाएर लगेको छ। बाढीपीडितहरू बस्ने ठाउँ छैन। खानेकुरा छैन। पीडामाथि पीडा, दुःखमाथि दुःख थपिएको छ। यस किसिमको आपत्विपत्ले बाढीपीडितको मन भत्किएको छ। उद्धारमा सरकारको ढिलासुस्तीले गर्दा मनको चोट झन् गहिरो हँुदै गएको छ। त्यसैले बाढीपीडितहरूमा डिप्रेसन (उदासिनता) तथा मनो त्रासजस्ता मानसिक समस्याहरू पनि देखिने पक्का छ।
डिप्रेसनको लक्षण
डिप्रेसनको मूल लक्षण भनेको उदासिनता तथा खिन्नता हो। डिप्रेसनबाट पीडित व्यक्तिको मन सधैं उदासी र निराशाले घेरिएको हुन्छ। कुनै पनि आन्नददायक घटनाले उसलाई खुसी पार्दैन। डिप्रेसनको मनस्थिति आमरूपमा हुने उदासी र निराशाभन्दा फरक हुन्छ। हरेक मानिसको दैनिक जीवनमा उतारचढाव आउँछन्, केही समय रहन्छन् तर सुखद् घटनासँगै मन पुनः खुसी हुन्छ। तर डिप्रेसनमा चाहीँ यस्तो हँुदैन। कडा खालको डिप्रेसनका रोगी कहिल्यै खुसी देखिँदैनन्।
अतः उदासीसँगै अरुचि पैदा हुनु, आत्मविश्वासमा कमी आउनु, इच्छाहरू मरेर जानु, ध्यान केन्द्रित गर्न गाह्रो हुनु, सम्झना शक्तिमा कमी आउनु, चिडचिडापना बढ्नुजस्ता मानसिक लक्षणहरू तथा निद्रामा गडबढी, शरीरको तौल घट्नु वा बढ्नु, थकान तथा कमजोरी महसुस हुनु, कब्ज रहनु, टाउको भारी हुनु, दुख्नु, खानामा रुचि कम हुँदै जानु वा धेरै खानु, यौनइच्छामा कमी आउनु, धड्कन बढ्नु, चक्कर लाग्नु आदि शारीरिक लक्षणमध्ये तीनचार लक्षण देखिएमा डिप्रेसनको शंका गर्नुपर्ने हुन्छ। यसका साथै आत्महत्याको विचार मनमा आउनु तथा आत्महत्याको कोसिस गर्नु आदिले यो रोगको गम्भीर स्थितिलाई दर्शाउँछ।
मनो त्रासको लक्षण
मनो त्रास (पैनिक अटैक) दृश्चिंता विकृतिको एक अर्को रूप हो। बिनाकारण एक्कासि पूर्वसूचना बिनाडर लागेर आउने, मुटुको धडकन तेज हुने, सास रोकिएलाजस्तो हुने, हात खुट्टा लगलग काम्ने, रिंगटा लाग्ने तथा पसिना आउने समस्यालाई मनो त्रास भनिन्छ। मनो त्रासको बेलामा व्यक्तिलाई बेहोस भई पल्टिने वा मर्ने वा कुनै भयानक घटना घट्ने भय हुन्छ। ऊ अत्याहटलाई नियन्त्रण गर्न नसकी कराएर मानिस एकत्रित गर्ने प्रयास गर्छ। मनो त्रासको यस्तो समस्या अचानक देखा पर्छ र केही समयसम्म तीब्र भएर बिस्तारै स्वतः शान्त हुन पुग्छ। तर एकपटक मनो त्रासको समस्या आएपछि मानिस फेरि पनि त्रास आउने हो कि भन्ने डरले भयभित भइरहन्छ। पटकपटक यस्तो प्रहार भएपछि मानिसले बाटोमा हिँड्न, बजार आदि ठाउँमा जान तथा सवारीसाधन चलाउनसमेत छोड्छ। धड्कन बढ्ने र मुटु हल्लिने हँुदा यस रोगबाट पीडित व्यक्तिले आफू हृदय रोगबाट पीडित भएको ठान्छ।
बाढी पीडितहरूको व्यवस्थापन
बाढीपहिरोमा परेर घाइते भएकाहरूको उपचारमा केवल शारीरिक चोटपटकलाई ध्यान दिइन्छ। तर बाढीपीडितहरूको मनमा परेको चोटलाई ध्यान दिइएको देखिँदैन। यसप्रति नेपाल सरकार तथा उपचारमा संलग्न चिकित्सकहरूको ध्यानाकर्षण हुन जरुरी छ। समयमै मनको चोटमा मल्हम लगाउने कार्य भएन भने थुप्रै नागरिक पीटीएसडी, डिप्रेसन तथा मनो त्रासजस्ता मानसिक समस्याको शिकार बन्न सक्छन्। त्यसैले छिटोभन्दा छिटो बाढीपहिरो प्रभावित क्षेत्रहरूमा सरकारले उपस्थिति देखाएर राहतसँगै बाढीपहिरो पीडितलाई भौतिक तथा मानसिकरूपमा पुनस्र्थापना गर्ने ठोस कदम चाल्नुपर्छ।
अन्त्यमा, यस धरतीमा जन्म लिएपछि मानिसहरूले जीवनमा अनेक किसिमका संकट तथा विपत्तिहरूको सामना गर्नुपर्छ। बाढीपहिरो, भूकम्प, आँधीबेहरी तथा चट्याङजस्ता प्रकृति प्रकोप र मानिसले आफैं निम्त्याएका युद्धजस्ता विपत्तिले मानिसको मानसिक स्वास्थ्यमा ठूलो असर पार्छ। यस्ता संकटबाट ग्रस्त मानिसले आत्महत्यासमेत गर्न सक्छन्। त्यसैले भूकम्प, बाढीपहिरो तथा युद्धमा परेका मानिसको उचित मनोवैज्ञानिक उपचार आवश्यक हुन्छ। मनोवैज्ञानिक उपचार पद्धतिहरूमा बिहाबियर थेरापी तथा कग्निटिभ बिहाबियर थेरापी (सीबीटी) उत्तम मानिन्छन्। यसका साथै सहयोगी समूह (सपोर्ट ग्रुप), ईएमडीआर, तथा सम्मोहन (हिप्नोसिस) आदि पनि अन्य उपयोगी चिकित्सा विधिहरू हुन्।
लेखक मनोविद् हुन्।