प्रदेश नं १ मा बढदो सङ्क्रमण: एकैदिन १ हजार ९१ जनामा कोरोना पुष्टि
बिराटनगर: प्रदेश नं १ मा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएको छ । स्वास्थ्य सतर्कता नअपनाउँदा पछिल्लो समय प्रदेश १ का मोरङ, सुनसरी र झापामा संक्रमण बढ्न थालेको हो ।
प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ हजार ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ६ सय ६१ जनाको पीसीआर परीक्षणमा ३ सय ३८ र २ हजार २ सय ८१ जनाको एन्टिजेन परीक्षणमा ७ सय ५३ जनाको रिपोर्ट पोजिटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरीमा ९२, इलाममा ४, उदयपुरमा ३, पाँचथरमा २, भोजपुर र खोटाङमा १ ,१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।
प्रदेश १ मा शनिबार ३०७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २४३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
निषेधाज्ञामा कडाइ गरिँदै
मोरङ, सुनसरी र झापा प्रशासनले केही दिन यता कोरोना सङ्क्रमण दर बढ्दैगएको भन्दै भिडभाड हुने स्थानमा कडाइ गर्न थालेका हुन् । सुनसरी प्रशासनले कोरोनाको सङ्क्रमण दर बढ्न थालेपछि मानिसको विशेष भिडभाड हुने गतिविधिमा रोक लगाएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले कोरोना संक्रमण दर बढेको भन्दै त्यसको रोकथाम र नियन्त्रणका लागि पुनः लकडाउन गर्ने तयारी गरेको छ । प्रशासनले संक्रमणबाट बढी प्रभावित हुने स्थान, बजार लगायतका क्षेत्रमा अनुगमन तथा कन्ट्याक्ट ट्रेसिङ गर्ने काम थालिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।
झापा प्रशासनले पनि कोरोना सङ्क्रमणको दर बढेपछि निषेधाज्ञामा थप कडाइ गर्न थालेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले संक्रमण बढेको भन्दै निषेधाज्ञालाई थप कडाइ गरी लैजाने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालले बताए ।
उनले संक्रमण रोकथाम र नियन्त्रणका लागि साविकको निषेधाज्ञाको समयावधिलाई घटाइएको र त्यो समयलाई पूर्णरुपमा कार्यान्वयन गर्न गराउनेतर्फ स्थानीय प्रशासन लाग्ने बताए ।
उनका अनुसार जिल्लामा शुक्रबारदेखि लागू हुनेगरी बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म मात्र पसल व्यवसाय सञ्चालन गर्न दिने नियम लगाइएको छ ।
मोरङ प्रशासनको बिहीबार बसेको बैठकले शुक्रबारदेखि लागू हुने गरी बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । त्यसैगरी पूर्ववतरूपमा सञ्चालन हुँदै आएका अति आवश्यकबाहेक पसल, व्यवसायहरु बिहान ५ देखि बेलुकी ६ बजेसम्म मात्र खोल्न दिने निर्णय गरेको छ ।
मोरङ प्रशासनले मानिसको विशेष भिडभाड हुने गुन्द्री बजार, हाट बजार, सब्जीमण्डी, पार्टी प्यालेस सञ्चालनमा रोक लगाएको छ । त्यसैगरी जिम खाना, स्वीमिङ पुल, सिनेमा हल, रंगशाला, ट्युशन सेन्टर, धार्मिक तथा सांस्कृतिक कार्यहरु, सभा सम्मेलन, अन्तर्राष्ट्रिय सीमा नाकाबाट विदेशीलाई प्रवेशमा रोक लगाएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले केही दिन यता कोरोना सङ्क्रमितको संख्या जिल्लाभित्र बढेको भन्दै निषेधाज्ञालाई थप कडाइ गर्दै लैजाने तयारी भइरहेको बताए ।
उनले अस्पतालहरूमा संक्रमितको संख्या बढ्दै गएको र सरकारी कार्यालयमा पनि दैनिक पाँच/सात जनाको दरले कर्मचारी संक्रमित हुने क्रम बढेको जानकारी दिए ।
नागरिकलाई कोरोना सङ्क्रमण दर बढ्दै गएकोमा सचेत गराएर सङ्क्रमण दर न्यूनीकरण गर्ने उद्देश्यमा स्थानीय प्रशासन लागेको भन्दै उनले यदि सङ्क्रमण दर बढ्ने क्रम नरोकिए पूर्ण लकडाउन गर्नेतर्फ अघि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस !