सुमनको ‘सुनको टप’

चितवन
आमाको अहिलेको फोटोमा
आमाले हातले छाम्दा पनि भेटिने होस्
मलाई यसपाली
एउटै भए पनि
आमाको कानमा
सुनको टप लगाइदिने मन छ
यो देशको गुमेको भूभाग ‘लिपुलेक, लिम्पियाधुरा’ कागजी रुपमा फर्किए पनि स्वामित्वमा नभएको पीडालाई कवि सुमन घिमिरेले शब्दमा खर्चिएका हुन्। नेपालको अतिक्रमित भूभाग गुमेको पीडा कवितामा लेखेका हुन्। उनले आफ्नो कविता संग्रह ‘सुनको टप’मा राष्ट्रिय स्वाधिनताको आवाज उठाएका छन्। गुमेको भाग नक्सामा मात्रै सीमित रहेको भन्दै उनले कवितामार्फत सबैलाई झकझकाएका छन्। चुच्चो नक्सालाई उनले आमाको कानको रुपमा ब्याख्या गरेका छन्। त्यही बुच्चो कानमा उनले सुनको टप लगाउने चाहना कवितामार्फत पोखेका छन्।
कविताको माध्यमबाट उनले मुलुकको राष्ट्रियताको मर्म र राजनीतिक विकृतिप्रति प्रहार गरेका छन्। सीमा अतिक्रमण हुनुलाई राजनीतिक उदासिनताप्रति लक्षित गरेका छन्। गैडा, मान्छे र लकडाउन, दाउरा र मृत्यु, हतारमा जीन्दगी, नयाँ धर्साहरूमा देश, ईश्वर र भुइँचालो, घ्यूकुमारीलगायतका कविता उनको कृतिमा छन्। कवि तथा नियात्राकार प्रतीक ढकालले कविता संग्रहको विमोचन गरेका थिए। विमोचन कार्यक्रममा कवि भूपिन र चेतराज रेग्मीले कविताको समीक्षा गरेका थिए।
‘सुनको टप’ मा ४१ वटा कविता छन्। यो उनको दोस्रो कृति हो। २०६८ मा उनले पहिलो कविता संग्रह मेरो बैंसको क्यालेन्डर निकालेका थिए। १० वर्षको अवधिमा लेखिएका प्रतिनिधि कवितालाई उनले कृतिमा स्थान दिएका छन्। देशमा १० वर्षमा भएका मुख्य घटना र विषयहरू कवितामा जोडिएको घिमिरेले बताए। भूकम्प, नाकाबन्दी, नक्सा विवाद र कोभिड–१९ का कारण भएका लकडाउनका विषयमा लेखिएका कविताहरू पनि कृतिमा समावेश गरिएको छ । ‘जसरी सन्तानले आफ्नो आमाको कानबुच्चो देख्न सक्दैनन्, त्यसरी नै एउटा देशभक्त नागरिकले आफ्नो देशको भूभाग नक्सामा मात्रै सीमित नभएर साँच्चिकै आफ्नो होस् भन्ने चाहन्छ’, कवि घिमिरेले भने, ‘नक्सा थप्यौं। तर, ब्यवहारमा पाएका छैनौं। भूभाग पाए त्यहाँ केही सिर्जना गर्ने रहर कवितामा पोखेका हुँ।’ उनको पाँच वर्षअघि उपन्यास ‘मौनता’ प्रकाशन भएको थियो। उक्त कविता संग्रहको अंग्रेजी अनुवाद पनि प्रकाशन गरिएको छ।
कविडाँडा साहित्य समाजका अध्यक्ष साहित्यकार एलबी क्षत्रीले कविताले मुलुकको वास्तविक चित्रलाई उतारेको बताए। ‘देशको राष्ट्रियता झकझकाउने सिर्जनाका रूपमा यो कविता आएको छ’, क्षत्रीले भने, ‘निद्रामा रहेका नेता तथा नागरिकहरूलाई कविताले उठाउने प्रयास गरेको छ।’
प्रतिक्रिया दिनुहोस !
