अमेरिकामा ६ लाख ५० हजार सेतो झण्डा गाडियो
वासिङटन : कोभिड- १९ संक्रमणबाट मृत्यु भएकाको सम्झनामा ६ लाखभन्दा बढी सेतो झण्डा गाडिएको छ। भाइरस संक्रमणबाट मृत्यु भएका अमेरिकी नागरिकको सम्झनामा वासिङटननजिकै नेसनल मलको अगाडि शुक्रबार ६ लाख ५० हजार सेतो झण्डा गाडिएको हो।
‘इन अमेरिकाः रिमेम्बर’झण्डा गाड्ने कार्यक्रम डिसी कलाकार सुजेन ब्रेनान फस्र्टेनवर्गले आयोजना गरेका हुन्। कोभिडका कारण मृत्यु हुनेको सम्झनामा शुक्रबार प्रदर्शन गरिएको सो सेतो झण्डा अक्टोबर ३ सम्म देखाइने बताइएको छ। सेतो झण्डा २० वर्ग स्क्वायर क्षेत्रफलमा गाडिएको छ। सो झन्डा वासिङटन मोनुमेन्ट र नेसनल म्युजियम अफ अफ्रिकन अमेरिकन हिस्ट्री एण्ड कल्चरमा समेत प्रदर्शन गरिने बताइएको छ।
फस्र्टेनवर्गले गत वर्ष अक्टोबरमा वासिङटनस्थित २ लाख ४० हजार झण्डा गाडेर प्रदर्शन गरेका थिए। जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार विश्व महामारी सुरु भएसँगै अमेरिकामा हालसम्म मृत्यु हुनेको संख्या ६ लाख ७० हजार पुगेको छ।