संक्रमण दर घट्यो, जोखिम घटेन

चितवन : चितवनमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या निरन्तर ओरालो लागे पनि जोखिम भने कम हुन सकेको छैन। कोरोना नियन्त्रणतर्फ उन्मुख भए पनि जोखिम कम भएको छैन। सक्रिय सङ्क्रमितको संख्या कम भए पनि जोखिम कम नभएको कार्यालयले जनाएको छ।
गत साउनको अन्तिमसम्ममा उग्र रुप लिएको सङ्क्रमितको संख्या अहिले निरन्तर ओरालो लागेको छ। भदौ १ गते दुई हजार ५०१ जना संक्रिय सङ्क्रमित थिए। त्यसको एक महिनामा अर्थात असोज १ गतेसम्म ६५५ मा झरेको थियो। अहिले त्यसमा पनि घटेर पाँच सय २३ जना छन्। जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले सक्रिय सङ्क्रमितको संख्या ५०० भन्दा कम नहुँदासम्म जोखिम नै रहने उनले बताए।
जिल्लामा बिहीबारसम्म सक्रिय संक्रमितको संख्या पाँच सय २३ छ। ५०० भन्दा कम नभएसम्म जोखिम कम नहुने जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। ‘संक्रमितको संख्या धेरै माथि छैन तैपनि जोखिम कम भयो भनेर ढुक्क हुने अवस्था छैन ’, तिवारीले भने, ‘सङ्क्रामक रोग कतिखेर फैलन्छ भन्ने थाहै हुँदैन, डर अझै कम भएको छैन। ’
चितवनमा कोरोना संक्रमितको संख्या २५ हजार ९४६ पुगेको छ। सुरूको अवस्थामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित हुँदा जिल्लामा लकडाउन गरिएको थियो। अहिले पाँच सय कट्दा लकडाउन गरिएको छैन। जोखिम बढे पनि मानिसहरुले यसलाई सामान्य रुपमा लिन थालेका छन्।
पछिल्लो समय नयाँ सङ्क्रमित थपिनेभन्दा सङ्क्रमणमुक्त हुनेको संख्या भने तुलनात्मकरुपमा बढी छ। ‘नयाँ भेरियन्ट नआउँदा संक्रमणदर घट्दो छ। तर जोखिम भने उत्तिकै छ।’, जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले भनिन्, ‘परीक्षणको दायरा पनि खासै कम भएको छैन किनकि अहिले पनि दैनिक पाँच-छ सय जनाको परीक्षण त भइरहेकै छ।’
चितवनका अस्पतालमा बुधबार ५५ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ। अस्पतालमा उपचाररतमध्ये पाँच जना भेन्टिलेटरमा, आइसियूमा २० जना र एचडियूमा १० जना छन्।
प्रतिक्रिया दिनुहोस !
