जोसिला जोशी, भन्छन्– चिन्तन गरौं, चिन्ता नगरौं
‘उहाँको दैनिकी पहिला जस्तै छ’
सेक्सपियरको नाटक ‘एज यु लाइक इट’ (तपाईंलाई मन परेबमोजिम)ले मेरो मन अति नै छोएको छ। यसमा जीवन के हो भन्ने प्रश्न आउँछ। पात्रहरू संवाद गर्छन्। ज्येष्ठ नागरिकको जीवन शब्दचित्रमा उतार्छन्। सेक्सपियरले भन्नुभएको छ– ‘द वल्र्ड इज लाइक अ स्टेज।’ अर्थात्, संसार एउटा डबलीजस्तै हो।
डबलीमा जति पनि मान्छे छन् उनीहरू आआफ्नो भूमिका निर्वाह गर्न आएका हुन्। जे काम गर्नुपर्ने हो त्यो सकेर आफ्नो ठाउँ फर्किनुपर्छ। डबलीमा भूमिका निर्वाह गरेर निस्किनु नै जीवन हो। हरेकले जीवनमा भूमिका सकियो भने फर्किएर जानुपर्छ।
जीवन भनेकै डबलीभित्र पस्ने, भूमिका निर्वाह गरी निस्कने हो। तर, त्यसलाई टुक्रा–टुक्रा गरेर हेर्दा बालक, किशोर, जवानी हुँदै वृद्ध हुन्छन्। सेक्सपियरले जीवनलाई सात खण्डमा विभक्त गर्नुभएको छ। मान्छेले जसरी एउटा बालकका रूपमा जन्म लिएको हुन्छ, वृद्ध भएपछि ठीक बालकजस्तै हुन्छ भन्ने सन्देश दिनुभएको छ। उसको दाँत हुँदैन। कान भए पनि सुन्दैन। जिब्रोले स्वाद थाहा पाउँदैन। मान्छेले सात खण्डमा अभिनय गरेर जानुपर्छ।
नेपाली साहित्यमा नाटककार बालकृष्ण सम मलाई असाध्यै मन पर्छ। उहाँको ‘मुकुन्द इन्दिरा’ अत्यन्तै रोचक छ। उहाँले पनि जीवनलाई विभिन्न खण्डमा छुट्याउनुभएको छ।
मुकुन्द इन्दिरामा भनेका छन्–
जब पुग्यो एक, भुइँमा खुटा टेक
जब पुग्यो दुई, आ मेरो बुई .....
यसैगरी भनेका छन्–
जब पुग्यो चालीस मनमा कुरा हालिस्
जब पुग्यो पचास पेटमा बतास
जब पुग्यो साठी हातमा लाठी
जब पुग्यो नब्बे हब्बे न कब्बे
जब पुग्यो सय यमराजको भए
यो कविताजस्तै सुनिन्छ। यसलाई सवाई भनिन्छ। उहाँले नाटकमा उमेर बढ्दै जाँदा विभिन्न भूमिका र परिस्थिति पार गर्नुपर्छ भन्ने सन्देश दिनुभएको छ।
०००
जुरेली चरीको जीवनदर्शन
सबैले मलाई १ सय २ वर्ष पुगिसक्दा पनि बलियो भन्ठानेका छन्।
म ठूलो भइन्जेल आमाको दूध खान्थेँ। त्यसैले मेरो शरीर बलियो भएको हुन सक्छ। जेठो छोरो भएकाले अलिकति रुनेबित्तिकै आमाले दूध चुसाइहाल्नु हुन्थ्यो। आमाको दूध निकै पोसिलो हुन्छ। त्यसैले काम गरेको हुन सक्छ। म सधैंभरि गाईको ताजा दूध पनि एक मुठी खार्ने गर्थें। हाल कोरोनाले गर्दा टुटेको छ। अरू खाना सामान्य नै हो। दालभात, तरकारी, कहिलेकाहीँ मासु खाने हो।
अरू ज्येष्ठ नागरिकलाई जीवनप्रति गुनासा होलान्। तर, म कहिल्यै गुनासो गर्दिनँ। चिन्तनमनन गर्नुपर्छ, चिन्ता गर्नु हुँदैन। भोलि के होला भनेर पीर लिनु हुँदैन। अरूले के भन्लान् ? चामल छ कि छैन ? यावत् कुराको चिन्ता लिनु हुँदैन। जिन्दगीलाई सरल ढंगमा अगाडि बढ्न दिनुपर्छ।
मलाई जुरेली चरीको जीवनदर्शन खुब मन पर्छ। उसलाई भोलिको वास्ता छैन। कहाँ जाऊँ, के खाऊँ भन्ने तनाव छैन। जे पाइन्छ त्यसमै सन्तोष मान्नुपर्छ। सादा जीवन र उच्च विचार हुनुपर्छ। लोकगीत तथा लोकभाकाको अध्ययन रुचाउने भएकाले यसै सिलसिलामा मैले जुरेलीको गीत रचना गरेको थिएँ।
‘के खायो, के लायो होला मेरो माया रेलीमाई जुरेली चरीले।’
मान्छे सधैं दौडधुप, लोभलालच, चिन्तामा हुन्छ। फलानाले यस्तो ग¥यो उस्तो ग¥यो भन्छ। मेरो केही भएन भन्छ। तर, चराले जस्तै आनन्दको जिन्दगी जिउन जान्नुपर्छ। जुरेलीले कहाँ चिन्ता लिन्छ ?
प्रसिद्ध कवि जोन किड्सले जुरेलीबारे कविता लेख्नुभएको छ। तिमी जीवन्त छांै। तिमीलाई मृत्युवरण गर्न आमाले जन्माएको होइन। गीत गाउँदै आनन्द लिन्छौं भन्दै तारिफ गर्नुभएको छ। मलाई पनि जुरेली दर्शन मन प¥यो। नचाहिँदो चिन्ता किन लिने ? निस्फिक्री तनावमुक्त हुनुपर्छ।
‘सन्तोषम् परम सुखम। असन्तुष्टि सदा दुखी।’
०००
उमेरले नदिएपछि के गर्ने ?
राज्यले मलाई सबै कुरा दिएको छ। १० रुपैयाँ जाने हुलाक टिकट निकालिदिएको छ। २५ सय जाने चाँदीको सिक्का निकालिदिएको छ। सय र हजार जाने सिक्का पनि छ। तक्मा पनि उपलब्ध गराएको छ। योभन्दा बढी मलाई केही चाहिन्न। कहीँ असन्तोष र गुनासो छैन।
स्वास्थ्य अलिकति बिग्रिएको हो। त्यसैले अस्पताल गएर आएको हुँ। म किस्ट अस्पताल जाने गरेको छु। मैले त्यहाँ अंगदान गर्ने घोषणा पनि गरेको छु। किस्ट अस्पतालले दैनिक रूपमा मेरो स्वास्थ्य स्थितिबारे बुभ्mदै आएको छ। बेला–बेला अस्पतालमै बोलाउँछ। अस्पतालमा चिकित्साशास्त्र पढिरहेका भाइबहिनीले मेरो शरीरका बारेमा अध्ययन गर्न पनि चाहेका छन्। एक दिन मर्नु परिहाल्छ। धर्म, संस्कृतिलाई विश्वास गरे पनि मेरो फोक्सो, आँखा, मिर्गौला काम लाग्न सक्छ। खरानी हुनुभन्दा कसैलाई प्रत्यारोपण गरोस् भनेर अंगदान गर्ने निधो गरेँ।
मेरो दिनचर्या सामान्य भइरहेको छ। पढ्न धेरै सक्दिनँ। पढ्दा, लेख्दा मुन्टोको नशा दुख्छ। तापनि कहिलेकाहीँ पढ्छु। उमेरले नदिएपछि के गर्ने ? बेला–बेला कार्यक्रममा पनि उपस्थित हुन्छु।
०००
आउनेहरू सबैलाई भेट्नुहुन्छ : राधादेवी जोशी
उहाँ (सत्यमोहन जोशी)को दैनिकी पहिला जस्तो थियो अहिले पनि उस्तै छ।
उहाँलाई भेट्न आउनेको धेरै चाप हुन्थ्यो। अहिले पनि हुन्छ। आज पनि तीन–चार समूह मान्छे बिहानैदेखि आइसके।
कोही बिहान मुख नधुँदै आउँछन्। आउनेहरूलाई सबैलाई भेट्नुहुन्छ। जति बेला पनि फोन आउँछ। सबैसँग कुरा गर्नुुहुन्छ। उहाँ जहिल्यै व्यस्त भएकाले मचाहिँ बोल्नै पाउँदिनँ। सधंै व्यस्त हुँदा कहिलेकाहीँ दिक्क लाग्थ्यो। तर, उहाँको जीवनशैली जस्तो भए पनि त्यसमै रमाएँ। कहिल्यै झगडा परेन। एकले अर्कालाई सहयोग नै गरिरह्यौं। अहिले पनि राति १०–११ बजेसम्म पढेर बस्नुहुन्छ। बिहान ४ बजे नै उठेर रेडियो बजाएर खबर सुन्नुहुन्छ।
मैले पढाइ, लेखाइ जानिनँ। त्यसैले फुर्सदको समय सदुपयोग गर्दै जजंका (पूजाआजालाई आवश्यक सामग्री) बनाउन थालेँ। यो सबै धागोबाट बनाउने हो। पहिला नेपाली बोल्न आउँदैनथ्यो। उहाँलाई भेट्न आउनेहरूसँग नेपाली बोल्ने भएको छु।
थाइराइडको अप्रेसन गरेकी छु। खुट्टामा समस्या छ। उभिन सक्दिनँ। केही समातेर मात्र एकछिन उभिन सक्छु। हिजो पनि झन्डै लडेँ। निल्न गाह्रो भएको छ। गुलियो मन पराउँछु।
उहाँ एक दिन बिराएर खसीको मासु खान रुचाउनुहुन्छ। आजकल कोही भएन भने उहाँ भान्सामा पसेर पकाउनु पनि हुन्छ। तर, एक जना सघाउने बहिनी घरैमा बस्नुभएको छ। कोरोनाका बेला नआउनु भनेका थियाँै। त्यति बेला कहिलेकाहीँ उहाँले पकाउनु पनि हुन्थ्यो। घरमा एक जना नर्स हुनुहुन्थ्यो। उहाँलाई पनि नआउनु भनेकाले आउनुभएको छैन। उहाँ अरूलाई दुःख दिनु हुँदैन भन्नुहुन्छ।
आमाहरूले हाम्रो विवाह पक्का गरिदिनुभएको थियो। त्यति बेला म १३ वर्षकी थिएँ। मेरो उमेर ९० सालमा १० वर्ष पूरा भएको थियो रे ! १४ वर्षमा छिन्नमस्ताबाट विवाह गरेर यहाँ आएकी हुँ।
हाम्रो गुफाभन्दा अगाडि ईही गर्नुपर्छ। १७ वर्षमा गुफा राखेको थियो दिदीसँगै। गुफाबाट निस्कँदा उहाँले सिन्दुर राखेपछि हामी पहिलो पटक बोलेका थियौं। श्रीमान्–श्रीमती धेरै बोलेको त्यो बेला राम्रो मान्दैनथे। त्यसैले कम बोल्थ्यौं। उसै पनि बोल्न लाज मान्थ्यौं। १९ वर्षमा हाम्रो पहिलो सन्तान छोरी जन्मिइन्। जब छोरी रोइन् तब मात्रै धेरै बोलचाल हुन थाल्यो।
बच्चा रोए पनि कहिल्यै बोक्नुभएन। उहाँका भाइबहिनी, आमाले बच्चा हेर्न सघाउनु हुन्थ्यो। ‘बच्चा रोयो लिन आऊ’ मात्रै भन्नुहुन्थ्यो। उहाँ खालि पढ्ने अनि बाहिर जाने मात्रै गर्नुहुन्थ्यो। घरमै लाइब्रेरी राखेर पढ्नुहुन्थ्यो। साथीहरूसँग कलेज जाने, यताउता जाने गर्नुहुन्थ्यो। खालि किताब हेर्ने।
तस्बिरहरू : सुनिता डंगोल
(१०२ वर्षीय संस्कृतिविद् जोशी र उनकी श्रीमती राधादेवीसँग ज्येष्ठ नागरिक दिवसका अवसरमा अन्नपूर्णकर्मी नितु घलेले गरेको कुराकानीमा आधारित)