पोखरामा भेडा-च्याङ्ग्रा किन्‍नेको भीड (फोटो फिचर)

पोखरामा भेडा-च्याङ्ग्रा किन्‍नेको भीड  (फोटो फिचर)

पोखरा : पोखरामा दसैंको लागि हिमाली जिल्लाबाट भेडा च्याङ्ग्रा भित्रिन्छन्। सोह्र श्राद्ध सकिएसँगै दसैंमा भित्रिने भेडा च्याङ्ग्रा किन्न पोखराको हेमजा, यमदी, टुडीखेलमा मेला लाग्ने गर्दछ। यतिबेला पोखरामा दसैंका लागि मात्रै ८२ सय भेडा च्याङ्ग्रा भित्रिएको पोखरा महानगरपालिकाका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिए। ७ हजार च्याङ्ग्रा र १२ सय भेडा आइतबारसम्म पोखरामा भित्रिएको हो। 

पोखरामा भेडा च्याङ्ग्रा भित्रिने क्रम नवमीसम्म हुन्छ। गत वर्ष दसैंभरि २५ हजार भेडा च्याङ्ग्रा भित्रिएको उनले बताए। मुस्ताङ, दार्चुला, डोल्पा, बजाङ लगायतका हिमाली क्षेत्रबाट पोखरामा भेडा च्याङ्ग्रा भित्रिएको अधिकारीले जानकारी दिए। खशी बोका भने अहिलेसम्म दसैंका लागि ६५ सय भित्रिएको र भित्रिने क्रम जारी रहेको उनले बताए।

यस वर्ष भेडा च्याङ्ग्रा किनेर खानै नसक्ने गरी महँगो भएको उपभोक्ता बताउँछन्। गत वर्ष प्रति च्याङ्ग्रा रोजेर ३१ हजार रुपौयाँसम्म पाइएकोमा यस वर्ष मूल्य बढेर रोजेर किन्दा ४५ हजार रुपौयाँ पुगेको पोखरा लामाचौका गुप्तबहादुर थापाले बताए। यही मूल्य हिसाब गर्दा च्याङ्ग्राको मूल्य प्रति कीलो २ हजार रुपौयाँ बढी हुने उनले सुनाए। पोखरेलीको दसैंमा च्याङ्ग्रा खाने संस्कृति महँगीको मारमा परेको उनले बताए। १० वर्षअघि प्रति गोटासम्म ६/७ हजारमा पाइने च्याङ्ग्रा प्रत्येक वर्ष मूल्य वृद्धि हुँदै अहिले त किनेर खानै नसक्ने गरी अचाक्ली मूल्य बढेको पोखरा ८ सिमलचौरका गमबहादुर पुनले बताए। 

यस वर्ष मुस्ताङमा नै भेडा च्याङ्ग्रा महँगो भएकोले पनि मूल्य बढेको व्यवसायी ईन्द्र प्रसाद ढकालले सुनाए। ८३ वटा च्याङ्ग्रा मुस्ताङबाट ल्याउँदा १५ हजार बढी गाविस, स्थानीय क्लब, भेटनेरी लगायतलाई विभिन्न कर समेत तिर्न परेको उनले सुनाए। चीनको तिब्बतबाट मुस्ताङ हुँदै पोखरासम्म भेडा च्याङ्ग्रा आइपुग्थे। 

यस वर्ष चीनबाट भेडा च्याङ्ग्रा नभित्रिकाले पनि कम संख्यामा पोखरामा भित्रदाँ र उतै खरिद महँगो पर्न जाँदा यस वर्ष महँगो भएको व्यवसायीले बताएका छन्। ३८ हजार ५ सय सम्म रोजी च्याङ्ग्रालाई मुस्ताङमै परेको र विभिन्न ठाउँमा कर समेत तिर्नु पर्दा मुल्य बढेको उनले सुनाए। मुस्ताङमा खान बस्न महँगो हुनु, बाटै पिच्छे चौरमा, खर्कमा च्याङग्रा चरेको भन्दै छुट्टै रकम तिर्नुपर्ने अवस्था रहेको व्यवसायीले बताए। 

यस वर्ष गत वर्षभन्दा भेडा च्याङ्ग्रा महंगा भएको पोखरा महानगरपालिकाका पशु सेवा शाखाका प्रमुख अधिकारीले बताए। गत वर्ष २५ हजार भेडा च्याङ्ग्रा पोखरा भित्रीएकोमा यस वर्ष आइतबार सम्म ८२ सय मात्रै भित्रीएको अधिकारीले सुनाए। पोखरामा आइतबार भेडा च्याङ्ग्रा बिक्री भइरहेको ठाउँमा अनुगमनका क्रममा प्रति च्याङ्ग्रा २२ हजार देखि ४५ हजार सम्म मूल्यमा बिक्री भइरहेको पाइएको पोखरा महानगरपालिकाका पशु सेवा शाखाका प्रमुख अधिकारीले बताए। 

पोखरामा दसैंलाई लक्षित गरेर करिव ७ हजार खसी बोका भित्रीएको समय संसार पोखरा मिलिजुली कृषि फर्मका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले बताए। नवमीसम्म खशीबोका आउने भएकोले यस वर्ष पोहोर भन्दा केही बढी खसी बोका भित्रिने उनले बताए। यस वर्ष खसी बोकाको मूल्य गत वर्षभन्दा केही मात्रामा मात्र बढ्ने उनकाे भनाइ छ। गत वर्ष जिउँदो प्रति केजी ६ सय देखि ६ सय ४० रुपौयाँमा कारोवार भएकोमा यस वर्ष प्रति खसी बोका ६ सय २० देखि ६ सय ६० रुपौयाँ सम्म कारोबार भइरहेको उनले बताए। खशी बोकाको साइज हेरेर मुल्य हुन्छ उनले भने। 

पोखरामा दसैंमा च्याङ्ग्रा खाने संस्कृति करिव सय वर्षदेखि 

हिमाली क्षेत्रमा जडिबुटी खाएका भेडा च्याङ्ग्रा स्वास्थ्यका लागि पनि लाभदायिक हुन्छ भन्ने विश्वासमा पोखरेली छन्। यसैले पनि पोखरेलीमाझ वर्षको एकपटक दसैंमा हिमाली क्षेत्रबाट ल्याइएका भेडा च्याङ्ग्रा खाने संस्कृति नै बनेको स्थानीय बताउँछन्। 

पोखरामा भेडा च्याङ्ग्रा दसैंमा भित्रिन थालेका इतिहास करिव सय वर्ष जति भएको कवी तथा संस्कृतिविद् तीर्थ श्रेष्ठले बताए। हामी सानो छँदा नै दसैंमा भेडा च्याङ्ग्रा खाने चलन थियो संस्कृतिविद श्रेष्ठले भने। त्यतीबेला ३/४ घर परिवार मिलेर एउटा च्याङ्ग्रा किन्ने चलन थियो। 

यसरी किनेको च्याङ्ग्रा दुःख सुखका गफ गर्दै मिलेर तयार पारिन्थ्यो। एक/एक खुट्टा खाने भन्ने चलन त्यती बेलो थियो उनले सम्झीए। अहिले भने दसैंमा मात्र होइन तिहारमा पनि हिमाली क्षेत्रका च्याङ्ग्रा पोखरामा भित्रिन थालेका छन्। बुचरले पनि भेडा च्याङ्ग्रा किनेर बिक्री गर्न सुरु गरेको पनि ४/५ वर्ष भइसकेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.