दसैंमा पोखरामा पर्यटकको चहलपहल

दसैंमा पोखरामा पर्यटकको चहलपहल

पोखरा : कोभिड-१९ को कारण लामो समय थला परेको पर्यटन उद्योग चलायमान हुन थालेको छ। दसैंको लामो बिदामा पोखरा घुम्न आन्तरिक पर्यटक मात्र होइन भारतीय पर्यटक पनि आउन थालेपछि पर्यटन व्यवसायले लय समात्ने आशा पलाएको छ। 

दसैं बिदामा पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा आन्तरिक पर्यटक र भारतीय पर्यटकको भीड नै लागेको छ। फेवातालको मध्य भागमा रहेको तालबाराही मन्दिर, विन्ध्यवासिनी मन्दिर दर्शन गर्न जानेको भीड लाग्ने गरेको हो। यसै गरी पोखराको नयाँ पर्यटकीय स्थलको रुपमा  निर्माण हुँदै गरेको पुम्दीकोटको विशाल शिव मूर्ति दर्शन र अवलोकन गर्न जानेहरुको पनि उतिकै भीड लाग्ने गरेको छ। 

दसैंको पूर्णिमामा फेवाताल किनारमा मेला नै लाग्ने गर्दछ। सूर्योदय र अन्नपूर्ण हिमश्रृंखलाको अवलोकन गर्न बिहानै सराङ्कोट पुग्ने आन्तरिक र भारतीय पर्यटक पनि बढ्न थालेका छन्। यति बेला पोखराका पर्यटकीय क्षेत्रमा चहलपहल बढेको हो। 

दसैं बिदा लगत्तै पोखरामा आन्तरिक र भारतीय पर्यटकको चहलपहल बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए। भारतको बिहार, युपी लगायतका बोर्डर क्षेत्रबाट निजी गाडीमा पोखरा आउने भारतीय पर्यटक बढेकोले पर्यटन उद्योग छिट्टै लयमा फर्कने आशा व्यवसायीमा पलाएको परिषद्का अध्यक्ष भट्टराईले बताए। आन्तरिक पर्यटक र भारतीय पर्यटकको समेत आगमनले लामो समय बन्द रहेका होटल रेष्टुरेण्ट व्यवसाय यस महिना घरभाडा, कर्मचारीको तलब तिर्नसम्म पुग्छ कि भन्ने अवस्था देखिएको उनले सुनाए। 

यति बेला पोखराका ठूला सानो गरि ३५ प्रतिशत होटलमा अकुपेन्सी रहेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। पोखराका ठूला होटलमा एभरेजमा ४० प्रतिशत कोठामा र साना, मजौला होटलमा समेत गरी एभरेजमा ३५ प्रतिशत कोठामा पर्यटक रहेको उनले सुनाए। यो अवस्था पूर्णिमा सम्म रहने उनले आशा गरे। भारतीय पर्यटकको समते आगमन बढेकोले पर्यटन व्यवसायीमा नयाँ आशा बढेको उनले सुनाए। यति बेला कुल पर्यटकमा आन्तरिक पर्यटक ८० प्रतिशत, भारतीय १० प्रतिशत र अन्य मुलुकका २ देखि ३ प्रतिशत पर्यटक आएको अध्यक्ष सुवेदीले बताए। 

पोखरामा ठूला साना गरी १ हजार होटल रहेका छन्। यिनमा ३० हजार बेड संख्या रहेको अध्यक्ष सुवेलीले बताए। फेवा लेकसाइड र ड्याम साइडमा मात्र ७ सय होटल रहेका छन्।  पोखराका १६ स्टार होटल सहित १ हजार बढी साना ठूला होटलमा मात्र पौने ४ खर्व लगानी रहेको उनले बताए। होटल क्षेत्रमा १५ हजार भन्दा बढी कर्मचारी रहेका छन्। असोज पहिलो सातादेखि कोरोना नियन्त्रण गर्न सरकारले लगाएको लकडाउन पूर्ण रुपमा हटाएपछि ७ हजार कर्मचारी फर्केर नियमीत सेवा दिइरहेको उनले बताए। 

पहिलो लकडाउन खुकुला हुँदा गत वर्षको दसैं र तिहारको बिचमा पनि आन्तरिक पर्यटकको आगमन बढे पनि यति बेलाभन्दा कम आएका थिए। असोजको पहिलो साता देखि सरकारले लकडाउन पूर्ण रुपमा हटाएपछि रात्रिकालीन व्यवसाय पनि कोरोना अघिकै अवस्थामा सञ्चालन गर्न पाएका छन्। रातभर जागा रहने लेकसाइड कारोना कालमा दिनमा पनि शुन्यता छाएको थियो। यति बेला भने रातमा पनि पोखराको पर्यटकीय क्षेत्र गुल्जार हुने क्रम सुरु भएको छ। 

खोपले घुम्ने वातावरण बनायो : भारतीय पर्यटक

पोखरा घुम्न आएका भारतीय पर्यटकले कोभिड विरुद्धको खोप लगाएपछि घुम्न निस्कने वातावरण बनेको बताएका छन्। पोखराको सराङ्कोटमा बिहानै सूर्योदय र अन्नपूर्ण हिमालको अवलोकन गर्न पुगेका भारतको गोरखपुरका आयाज खानले खोप लगाएपछि घुम्न निस्कने वातावरण बनेको बताए। 

कोभिडको कारण लामो समय बाहिर निस्कन नपाएको अवस्थामा पोखराको प्राकृतिक सुन्दरतामा  रमाउने योजना बुनेर परिवार सहित पोखरा घुम्न आएको उनले सुनाए। दसैंको भोलीपल्न खुलेको अन्नपूर्ण हिमाललाई पृष्ठमूमी पारेर सराङ्कोटमा उनको जोडी सेल्फी खिच्न निकै व्यस्त थिए।

सराङ्कोट घुम्न पुगेकी भारतको गोरखपुरकै सादमा जावेदले पनि पोखराको प्राकृतिक सुन्दरतामा रमाउन पाउँदा निकै खुशी लागेको बताइन्। पोखरा घुम्ने क्रममा सुरक्षित महसुस गरेको पनि भारतीय पर्यटकले बताएका छन्।

यति बेला पोखरामा भारतीय पर्यटक निजी कारमा परिवार सहित पोखरा घुम्न आउने बढेका छन्। ठूला गाडीमा भने फाट्ट फुट्ट मात्रामा मात्र भारतीय पर्यटक आउन थालेका छन्। मुक्तिनाथ दर्शन गर्न जाने पर्यटक पनि आउने क्रम सुरु भएको हो। यसैले पोखरामा भारतीय पर्यटकको चहलपहल बढ्न थालेको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.