इतिहास मेटाउन सम्पदा नष्ट

इतिहास मेटाउन सम्पदा नष्ट

शासकीय गुणगान गाउने वर्गीय पक्षधरताभन्दा बाहिर सामुदायिक सत्यतथ्य र वास्तविक इतिहास गुमनाम गरिएको र लुकाइएको छ।


नेपालका रैथाने शिल्पी समुदाय शिल्प (मानव) सभ्यतामा अग्रणी छन्। उनीहरूमाथि ३५ सयदेखि चार हजार वर्ष अघिबाट उत्पीडन हुँदै आएको छ। शिल्पी समुदायका पूर्वजहरू सिन्धुघाँटी सभ्यताको समेत विकासकर्ता हुन्। जसलाई द्रविड (शुद्र) सभ्यता पनि भनिन्छ। शिल्पी समुदायको मौलिक रीति, परम्परा, संस्कार, राजकाज, संस्कृति, सम्पदा र सभ्यताका धनी भएकैले विभेद, उत्पीडन, हस्तक्षेप र अतिक्रमण भएको हो। यसअघि विभिन्न लेखमा यसबारेमा व्यापक चर्चा गरेकै छु। ऋग्वेदको पुरुषसुक्त (१०÷९०) बाट सुरु भएको विभेदले आजसम्म आउँदा विकराल रूप लिइएको छ। 

मनुले सुरुमा शुद्र–अछूतलाई अपवित्र मात्रै मानेका थिए। विस्तारै कडारूपमा छुवाछूत र दण्ड विधान बनाएर लागू गरे। यसैलाई आधार मानेर ६ सय ४९ वर्षअघि जयस्थिति मल्लले मानव न्यायशास्त्रको नाममा कथित दलितहरूको अस्तित्व नै समाप्त पार्ने काम गरेको आभास हुन्छ।

रामशाहले यसलाई झनै कडा रूपमा लागू गरे। १९१० सालको जंगबहादुर राणाको मुलुकी ऐनले जात व्यवस्थालाई अनुलंघनीय बनायो। तहगत जातअनुसारकै दण्ड सजाय तोकियो। समान कसुरमा ब्राह्मण, क्षत्री, वैश्यलाई सामान्य दण्ड दिइन्थ्यो भने शुद्रलाई सिधै मृत्युदण्डको सजाय थियो। यसले समाजमा शुद्रको अस्तित्व स्वीकार्य थिएन भन्ने बुझाउँछ। राजा महेन्द्रले २०२० सालमा पुरानो ऐनलाई केही परिमार्जन गरी नयाँ मुलुकी ऐन ल्याए पनि ठूलो भिन्नता थिएन। ऋग्वेद, मनुस्मृति, जयस्थिति मल्ल, रामशाह, जंगबहादुर र राजा महेन्द्रदेखि आजसम्म आउँदा शुद्रका दैनिकीमा जातको जाँतोले थिचिरहेकै छ। जसरी पनि उनीहरूको सामुदायिक अस्तित्व मेटाउने उद्देश्य रहेको देखिन्छ। त्यति मात्रै होइन, यो समुदायले प्राचीन समयमा विकास गरेको राजकाज, सम्पदा, सभ्यतासमेत पटकपटक नष्ट गरिएको तथ्य पाइन्छ।

तथ्य १, सातौं शताब्दीमा तराईमा सहलेश सम्राट्ले प्रभावशाली राजकाज गरिएको पाइन्छ। उहाँको बारेमा अपेक्षाकृत रूपमा मूलधारको इतिहास लेखनमा अन्देखा गरिएको छ। गौरवशाली राजकाज, दरबारको भग्नावशेष आजसम्म खोजी, चर्चा र संरक्षणको पहल भएको छैन। पहलमा नदिना र भद्रीरामको वीरगाथा र वैभवसमेत छायामा पारिएको छ।

तथ्य २, मिथिला प्रदेशमा प्राचीन र मध्यकालमा राजा जनक (शिरध्वज) को शासनकाल र डोम राजाको शासनकालमा चमत्कारपूर्ण तरिकाले विविध क्षेत्रमा उन्नति भएको देखिन्छ। विशेषतः राजनीतिक क्षेत्रमा किल्लाको निर्माण गरी पहरेदार तैनाथ गरिएका हुन्थे। सिमरौनगढी राजा हरिसिंहदेवले काठमाडौं उपत्यकामा ने.सं. ४३१, ४३२ र ४३३ मा आक्रमण गर्दा डोमराजाहरूले ठाउँठाउँमा आक्रमण र किल्ला जमाएका थिए। शासनगरी बस्न नसकेपछि पशुपतिनाथ मन्दिरको कोष झिकेर लगेका थिए। कारिक महाराज (चमार), सोसिया महाराज (खत्वे¬¬) तराईका चर्चित र प्रमुख राजाका रूपमा छन्। डोम राजाको इतिहासको पानामा कतै उल्लेख छैन।

तथ्य ३, कर्नाली प्रदेशको सुर्खेत जिल्लामा रहेको डुमकोट क्षेत्र आजसम्म उपेक्षित छ। डुमकोटको सामुन्ने गुर्वाकोटी राजाको इतिहास सबैले लेखेका छन्। तर डुमकोटी राजाको वैभवलोप छ। शक्तिका हिसाबले गुर्वाकोटीभन्दा डुमकोटी राजा सैन्य र हातहतियारमा निकै शक्तिशाली थिए। धेरै पटकको आक्रमण र षड्यन्त्रबाट डुमकोटी राजाको सत्ता गुर्वाकोटी राजाले हत्याएका थिए। आजसम्म डुमकोटी राजाको दरबार क्षेत्रमा भग्नावशेष बेवारिसे अवस्थामा छ।

तथ्य ४, मलय बर्माको राज्यकालीन समय १४३५ सालदेखि मानिएको हुँदा आजभन्दा ६ सय ४३ वर्ष अघिको कुरा हो। मलय (बम) बर्माले कालीकोटका देवजंग लुहारको राज्य हडपेका थिए। उनले लुहारकोटी राजदरबार क्षेत्रमा आक्रमण गरी आगो लगाई दिएका थिए। आगजनीमा रानी देवानी लुहारले आत्महत्या गरिन् भने चार दाजुभाइसमेत मारिए। लुहार राजवंशका पुर्खाहरूले खाँडा चक्रमा खाँडो बनाएर नचाउने गर्दथे। लुहार पुर्खालाई आफ्नो कुनै पनि विवाह, चाडपर्वमा सहभागी भई खाँडो नाच्न मलय बर्माले प्रतिबन्ध लगाए। देवजंगका १७औं पुस्ताका नाति दानबहादुर लुहारका अनुसार खाँडो घुमाउने स्थानको नाम नै खाँडाचक्र रहन गई नगरपालिका बनेको छ।

तथ्य ५, लेखक जितसिंह भण्डारीका अनुसार डोटीको लुलान गर्खामा एक प्राचीन कोटको भग्नावशेष रहेको छ। लुलान गर्खाको चौड गाउँदेखि पश्चिम, गोगनदेखि पूर्व खोलाको बीचमा रहेको एउटा टाकुरोमै कोट रहेको छ। यो कोटमा लुलना मगरेका राजाले राज्य गर्दथे भनिन्छ। किंवदन्ती र स्थानीय लोककथाका अनुसार नीलगाडको विजुवा भन्ने तर्साउने भूत लुलानकोटको लुल राजा हो, त्यसले यहाँ त्रास गर्दछ भनिएको छ। गर्खाको नामकरणसमेत लुलराजाकै नामबाट गरिएको छ। सम्भवतः यो कोट लुहार राजाको हुनुपर्छ। लुल राजालाई विजुवा र तर्साउने भूत भनिएको छ। अन्वेषक प्रा.डा. ग्रेगोरी ग्याब्रियल मस्कारिनेकका अनुसार धामी जनै लगाउनेदेखि नलगाउने सबैजसो जातिबाट हुन सक्छन्। तर झाँक्री चाहिँ धेरैजसो शुद्र–अछूतमध्ये पनि कामी नै हुने कुरा सप्रमाण पुष्टि गरेका छन्।

राज्यको पुनर्संरचना गरिनु अघि इतिहासकै पुनर्लेखन गरिनुपर्छ। नेपालको सन्दर्भमा राज्य पुनर्संरचनाको आधार पहिचान र सामर्थ्यले मात्रै पुग्दैन।

तथ्य ६, सूर्यमणि अधिकारी र भण्डारीका अनुसार बझाङ्गी राजा सिंह वंशावलीअनुसार राजा इन्द्र सिंहपछि यिनका जेठा छोरा (बाउन्नौं) श्री गजराज सिंह बझाङका राजा भए। यिनले सुनिकोटका कामीराजा कालु सुनेलले बनाएको सुनीदेवल र लाकुडा कुलदेवताको मन्दिर भत्काई ध्वस्त बनाइदिएका थिए। मन्दिरसँगै रहेको खडिकको रूखसमेत भाला हानेर ढालिदिएका थिए। खस राजाहरूले शत्रुता (आक्रमण) र मित्रता (नाता सम्बन्ध, स्वशासन) को नीतिले शुद्र–अछूतहरूका राजकाज, भूमिकब्जा गरेका थिए। बान्नीका मष्टाको धामी सालीभानलाई नौबिसे ठकुरीद्वारा मार्ने षड्यन्त्र गरे पनि ठकुरीले लुकाई नौ वर्षसम्म आश्रय दिएका थिए। लाटाहितको धामी (सुको धामी) लाई नौरेलद्वारा दकदेरामा मार्न लगाए। नौरेलद्वारा गालु बम्मलाई गुदगुदे भन्ने ठाउँमा मारिदिए। यहाँ विचारणीय के छ भने केही समूहमष्टलाई जबरजस्ती धर्म भन्दैछन्। तर खस राजा गजराज सिंहले नै मष्टका धामीलाई नै मार्ने योजना किन बनाए ? त्यसैगरी कामी राजाले बनाएको कुलमन्दिर र देवल नै किन ध्वस्त पार्नु पर्‍यो ?

तथ्य ७, पश्चिम नेपालको विभिन्न जिल्लामा प्राचीन सामुदायिक नाम अपभं्रशित गरी कोटको नामकरण गरिएको पाइन्छ। डोटी र बझाङ जिल्लामा डुमराजकोटलाई डुम्राकोट, बझाङ जिल्लाकै आग्रीकोटलाई थलहराकोट, प्यूठान जिल्लामा पर्ने बादीकोट (पहिला गाविस)लाई झिमरुक गाउँपालिकामा रूपान्तरण गरिएको छ। यस्ता उदाहरण देशभर अरू सयौंको संख्यामा छन्।

तथ्य ८, बैतडी जिल्ला पुर्चौडी गर्खा तल्लादेही, नुवाकोट नजिक डिंगाकोट भन्ने कोटमा डिंगाकोटी राजाले राज्य गर्दथ्यो। त्यस राजाले गर्खामा दैनिक मान्छे मारेर नरमांस भक्षण गर्दथ्यो। त्यसै सिलसिलामा भारतको कन्नौजबाट १०÷११औं शताब्दीतिर धारा र धिरा नाम गरेका दाजुभाइ विष्ट आए। र, पालो परेकी एक बाहुनीको घरमा बास बस्न पुगे। त्यसै दिन बाहुनीको छोराको पालो आएको रहेछ। ती विष्ट दाजुभाइले तिम्रो छोराको बदलामा हामी जान्छौ भनी गए र लुकाएर लगेको कटाराले डिंगाकोटे राजालाई मारी वंशनाश गरेको थियो। त्यसपछि विष्ट दाजुभाइले नै केही समयसम्म पुर्चौडीमा राजकाज चलाए। समयक्रममा १२औं शताब्दीतिर स्थानीय जनता रुष्ट भएकाले उनीहरूको शासन समाप्त भयो।

तथ्य ९, पूर्ण प्रकाश नेपाल यात्रीका अनुसार खस साम्राज्य फैलिनुभन्दा अघि जुम्लाको सुवर्ण नगर (सुनार गाउँ) मा कामी राजा देशददेवले राज्य गर्दथे। खस साम्राज्य विघटनताका १५औं शताब्दीमा सपादलक्षका सम्राट् क्राचल्लदेवका सेनाले सुवर्ण भूमि माथि कब्जा गरी सुवर्ण भूमि नरेशलाई अपदस्थ गरेका थिए। उनको राजदरबारका अवशेष केही बाँकी छैन। यस ठाउँमा आजसम्म सुनारलगायत शिल्पी समुदायकै बाहुल्य छ।

तथ्य १०, सुदूरपश्चिम, भेरी–कर्नाली क्षेत्रमा शिल्पी समुदायको समुदायगत नाममा प्रत्येक जिल्लामा दुई–तीन वटा कोट, किल्ला, गढीको नामकरण भएको पाइन्छ। विभेदले चरम रूप लिएपछि कोटको नाम परिवर्तन गरिएको छ। इतिहासकारहरू इतिहास लेखनमा पूर्वाग्रही बने ता पनि भौगोलिक तथ्यको रूपमा आजसम्म जीवितै छन्। खस साम्राज्य विस्तार अघि र पछिसम्म निरन्तर अस्तित्व र सम्पदा नै नष्ट गरिने क्रम आजसम्म जारी रहेको पाइन्छ। त्यहाँबाट स्थानान्तरण हुने क्रममा ठूलो संख्यामा शिल्पी गण्डकी क्षेत्रमा प्रवेश गरेका हुन्। यसअघि भेरी–कर्णाली क्षेत्रमा शिल्पी समुदायको पहिलो निर्णायक जनसंख्या रहेको यस तथ्यबाट पुष्टि हुन्छ।

यसरी शासकीय गुणगान गाउने वर्गीय पक्षधरताभन्दा बाहिर सामुदायिक सत्यतथ्य र वास्तविक इतिहास गुमनाम गरिएको र लुकाइएको छ। यो समुदायको स्वतन्त्र सामुदायिक अस्तित्व, इतिहास, पहिचान छ। षड्यन्त्रले भरिएको भ्रमपूर्ण शासकीय इतिहास घोकेर राष्ट्रियताविहीन र सामुदायिक समूहलाई समेत मेटाउने दुष्प्रयास गर्ने विद्वानहरूको बेलैमा चेत खुलोस्। राज्यको पुनर्संरचना गरिनुअघि इतिहासकै पुनर्लेखन गरिनुपर्छ। नेपालको सन्दर्भमा राज्य पुनर्संरचनाको आधार पहिचान र सामर्थ्यले मात्रै पुग्दैन। मदन आयोग प्रतिवेदनको गैरभौगोलिक हाउगुजी देखाएर रैथाने समुदायको मानमर्दन गर्र्नु अक्षम्य अपराध हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.