१ लाख ९४ हजार २ सय अमेरिकी डलर सहित छिरिङ ढुन्डु गुरुङ पक्राउ
पोखरा : १ लाख ९४ हजार २ सय अमेरिकी डलर अवैध रुपमा ओसार-पसार गरेको अवस्थामा एक जना नेपाली नागरिकलाई कास्की प्रहरीले पोखराको मजुवाबाट पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा कास्की प्रहरीले पहिलोपटक यति ठूलो परिमाणमा अमेरिकी डलर अवैध रुपमा ओसार-पसार गरेको अवस्थामा पक्राउ गरेको हो।
गोप्य सूचनाको आधारका जिल्ला प्रहरी कार्यालय कास्कीले काठमाडौंबाट सार्वजनिक सवारी साधन हाइसमा शुक्रबार दिउँसो पोखरा आउँदै गरेको अवस्थामा मुस्ताङ जिल्लाको साविक चराङ ४, हाल लो—घेकर दामोदर कुण्ड गाउँपालिका १ का ४२ वर्षीय छिरिङ ढुन्डु गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले बताए। उनी अस्थायी रुपमा पोखराको शिवालय चोकमा बस्दै आएका छन्।
पक्राउ गरेको अमेरिकी डलर एक डलर बरारबर शुक्रबार भएको कारोबारको दर १ सय १९ रुपैयाँ ५ पैसाका दरले २ करोड ३२ लाख ६ हजार ९ सय बराबरको रहेको पनि प्रहरीले बताएको छ। पक्राउ परेको अमेरिकी डलर सक्कली हो-होइन अनुसन्धान गर्न राष्ट्र बैंकका कर्मचारीको सहयोग लिएर मसिनबाट चेक जाँच गर्दा सक्कली नै भएको पनि कास्की प्रहरी प्रमुख थापाले बताएका छन्। डलरसहित चेक बुक १ थान र २ थान मोबाइल प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरिएको डलरसहित छिरिङलाई कास्की प्रहरीले राजश्व विभागलाई जिम्मा लगाउने तयारी छ।
ती व्यक्तिले अवैध रुपमा अमेरिकी डलर बोकेर हिँडेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय हंशपुर र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त टोलीले अवैध रुपमा ओसार पसार गरेको अवस्थामा पक्राउ गरेको हो।
संगठित रुपमै अवैध रुपमा अमेरिकी डलर ओसार-पोसार गरेको देखिएको कास्की प्रहरीले बताएको छ। छिरिङले यसअघि पनि अवैध रुपमा अमेरिकी डलर ओसार-पोसार गरेको प्रहरीले प्रहरीले बताएको छ। यो संगठित अपराध हो। यसका विभिन्न किसिमका लेयर हुने भएकोले अनुसन्धान भइरहेकोले अनुसन्धानमा बाधा नपुगोस् भनेर कास्की प्रहरीले पूरा विवरण भने सार्वजनिक गरेका छैनन्। हामी मुख्य कारोवारीसम्म पुग्ने गरी अनुसन्धान गरिरहेका छौं थप अनुसन्धानबाट नयाँ कुरा आएपछि फेरि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने र्छो शनिबार जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख थापाले भने।
सुन किन्न अवैध रुपमा डलर ल्याएको हुन सक्ने
सुन किन्न यसरी अवैध रुपमा डलर ल्याएको हुन सक्ने कास्की प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। यसै अनुसार संगठित अपराधको भित्री जालोसम्म पुग्न प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख थापाले बताए।
पर्यटकी नगरी पोखरामा यस्तो कारोबार पहिले पनि भएको हुन सक्ने भएकोले संगठित अपराधलाई नियन्त्रण गर्न कास्की प्रहरीले यसलाई समेत ध्यानमा राखेर अनुसन्धान गरिरहेको पनि उनले बताए। काठमाडौंबाट अवैधर रुपमा डलर पोखरा ल्याउने र अन्य शहरका पनि लग्ने गरेको हुन सक्ने उनले बताए।
पोखराका स्थानीय बजारबाट भन्दा पनि अन्तरदेशीय सुन तस्करीका लागि उक्त डलर प्रयोग हुन सक्ने प्रहरीको अनुमान छ। चीन र भारतमा सुन तस्करी गर्न डलर ल्याएको हुन सक्ने प्रहरीका आशंका छ। चीनको उत्तरी नाका जोडिएका जिल्ला मनाङ र मुस्ताङबाट यस्तो कारोवार हुन सक्ने भन्दै यसतर्फ प्रहरीले अनुसन्धान बढाएको छ।
काठमाडौं जाँदा जहाजमा आउँदा सार्वजनिक गाडीमा डलर
जिल्ला प्रहरील कर्यालय कास्कीले छिरिङ काठमाडौं आउजाउ गर्ने गरेको बताएको छ। उनी काठमाडौं जाँदा जहाजमा जाने र फर्कंदा डलर ल्याउन सार्वजनिक साधन प्रयोग गर्ने गरेको पाइएको हो।
जहाजमा हुने कडा चेकजाँचबाट छल्न सार्वजनिक सवारी साधान प्रयोग गरेको प्रहरीले बताएको छ। विशेष सूचनाको आधारमा निगरानी गरिरहेको कास्की प्रहरीले छिरिङलाई डलरसहित पक्राउ गरेको हो। प्रारम्भिक बयान लिँदा गुरुङले कहाँबाट यति धेरै डलर ल्याएको र कहाँ लैजाने लागेको भन्ने खुलाइ नसकेको कास्की प्रहरीले बताएको छ।
गुरुङलाई विदेशी मुद्रा विनिमय नियमति गर्ने ऐन २०१९ र विदेशी मुद्रा अपचलन सम्बन्धी ऐन अनुसार कारबाहीका लागि सिफारिस गर्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख थापाले बताए।
राष्ट्र बैंकको स्विकृतिबिना १ हजारभन्दा बढी अमेरिकी डलर लिएर हिंड्नु नेपालको कानुन अनुसार अवैध मानिने कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए। बैंकले विदेश जाने प्रयोजनका लागि भिसा र पासपोट हेरेर त्यति बराबरको अमेरिकी डलर दिने गर्दछ।
प्रतिक्रिया दिनुहोस !