परिचित तर परिवर्तित एमाले

परिचित तर परिवर्तित एमाले

गठबन्धनले एमालेलाई केही पनि फरक पर्न सकेन। खुट्टा तान्न खोज्नेहरू आफैं चिप्लिएर लडिरहेका छन्।


भनिन्छ, ‘हरेक कुराको समय आउँछ।’ समयकै मागले हो, पुरानो कुरालाई परिवर्तन गराउने र नयाँको आवश्यकता बढ्ने। यस्तै विभिन्न उतारचढाव र परिवर्तनका छाल भोगेको पार्टी हो, नेकपा एमाले। पार्टीको लक्ष्य, उद्देश्य र योजना कुनै पनि समय नागरिकको कल्पना र चाहनाभन्दा फरक भएन। आगामी दिनमा पनि हुँदैन। स्थापनाकालदेखि नै राष्ट्र र राष्ट्रियताको विषयलाई मूलमर्म बनाएर नागरिकको मन जितेको पार्टी भएकाले कार्यकर्ता र नेतृत्व तहको लगाव र उत्तरदायित्व अहिले पनि उत्तिकै छ। विभिन्न कालखण्डका ठक्करले पाठ सिकेर मजबुत बनेको एमाले अहिले महाधिवेशनको महत्त्वपूर्ण समयमा छ। महाधिवेशनको उद्घाटनलाई ऐतिहासिक बनाएको पार्टीले अबको नेतृत्व छनोटको लोकतान्त्रिक प्रक्रियालाई पनि ऐतिहासिक बनाउने योजना बनाएको छ। जुन आमजनताले भोलि नै थाहा पाउँदैछन्।

विभिन्न पार्टीसँग भएका एकीकरणपछिको तरलताको अवस्था र आन्तरिक तथा बाह्य शक्तिको चलखेलबाट आफूलाई जोगाउनु नै पार्टीको मुख्य लक्ष्य थियो। अब यस्ता धेरै उतारचढाव र खुट्टा तान्ने प्रवृत्तिलाई पार्टीले किनारा लगाएको छ। अहिले एमाले पनि नारायणी नदीजस्तै बनेको छ। उदाहरण दिन पनि नारायणी नदी किनारलाई महाधिवेशन उद्घाटनका लागि छनोट गरेका हौं। पार्टीको १०आंै ऐतिहासिक महाधिवेशनले यो कुरा उद्घाटनमा नै सबै नागरिकमाझ छर्लंग पारेको छ। पार्टीले बलिदानीका ७२ वर्ष पार गर्न धेरै संघर्ष गर्नुपर्‍यो। संघर्षबाट खारिएर सिक्न र त्यसलाई व्यवहारमा लागू गर्न कहिले कञ्जुस्याई पार्टी र नेतृत्वमा भएन। खम्बा जस्तो बनेर उभिएको नेतृत्वले जस्तै ठूला छाल आए पनि आफूमा अडिएका डाँडाभाटालाई चल्मलाउन दिएन। यता उतारचढावका कम्पनले यताउती सरेका डाँडाभाटालाई यो महाधिवेशनले मिलाएर कस्ने मौका दिएको छ। यो नेतृत्व लिने र मिलाएर लैजान चाहनेका लागि चुनौती र अवसर दुवै हो।

नेकपा एमाले एक्लै ५० प्रतिशतभन्दा बढी जनमतलाई कमान्ड गर्ने लोकप्रिय पार्टी हो। नेकपा एमालेबाहेकका अन्य दलले ५० प्रतिशत कमान्ड गर्छन्।

एमालेजस्तो ठूलो र फराकिलो छानो भएको पार्टीका सुर र पाली मिलाउने र थप्ने काम त हुन्छ नै। पुराना र नयाँ अनुहारलाई तिनै सुर र नयाँ स्थानमा समेटेर लैजान चाहनुले पार्टीलाई अझै लोकतान्त्रिक बनाएको छ। यस्ता निर्णयले हाल नेतृत्व लिइरहेकालाई पनि भविष्यमा गर्वले छाती फुलाएर हिँड्न सक्ने बनाएको छ। अब मात्रै सफल रूपमा कार्यभार सम्हाल्न सक्ने पदाधिकारीको आवश्यकता छ। जुन कुरा केही समयमा नै पूरा पनि हुँदैछ। देश र जनताले आशा गरेको पार्टी भएकाले एमालेले काँध हाल्नुपर्ने विषय कम छैनन्। नयाँ जिम्मेवारीका साथ आउने नेतृत्वले पहिलेभन्दा धेरै चुनौतीको सामना गर्दै जानुपर्ने अवस्था छ। नयाँ सोच, इच्छा र चाहना बोकेका कार्यकर्ताको भावनालाई त समेट्नु छ नै, पार्टीको नीति र देश निर्माणको कार्यभार पनि एमालेले नै पूरा गर्नुपर्ने दायित्व छ। पार्टीले यसअघि सरकारको नेतृत्व लिएको समयमा वाचा गरेका धेरै जिम्मेवारी नागरिकसामु पुर्‍याउनु छ।

जनताले अहिले पनि एमालेकै मुख हेरेर बसेका छन्। भोकालाई खाना र नांगालाई नाना दिने एमालेले घरबारविहीन भएकालाई छाना हालिदिएको इतिहास पनि छ। नागरिकमैत्री काम गरेको पार्टी भएकाले योभन्दा राम्रा र जनप्रिय योजना ल्याउँदै देशलाई विकसित मुलुकको सूचीमा राख्ने आशा पनि सबैको एमालेतर्फ नै सोझिएको छ। यो महाधिवेशन सम्पन्न भएसँगै नेकपा एमालेलाई यसले नयाँ जीवन दिन्छ। नेकपा एमालेको पुनर्जागरण हुन्छ। सबैलाई जानकारी नै भएको कुरा हो। हामीले महाधिवेशनमार्फत पार्टीको नीति र कार्यदिशा सर्वसम्मत ढंगले अगाडि ल्याएको छौं। जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै समाजवादको दिशामा अघि बढ्ने नीति अगाडि बढाएका छौं। यो आजका दिनमा कम्युनिस्ट पार्टीका लागि विकसित कार्यदिशा हो। यो कार्यदिशामा हामी एकमत छौं। त्यो कार्यदिशाको आधारमा समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न हामीले आगामी निर्वाचनमा नेकपा एमालेको बहुमत ल्याउनुपर्छ र सरकार बनाउनुपर्छ भन्ने हो।

हामी यो दाबीका साथ पनि भन्न सक्छौं कि आउँदो चुनावपछि एमालेको सरकार बन्नेछ। बाँकी कार्यभार पूरा गर्नेछ। यसमा दुई मत छैन किनकि हामी त्यो लक्ष्य भेटाउने गरी काम गरिरहेका छौं। हामी, अब महाधिवेशन सकिएपछि त्यो संकल्प पूरा गर्ने गरी अघि बढ्छौं अर्थात् यो जागरण पैदा गर्छौं। यो महाधिवेशनमा सहभागी भएका २२ सयभन्दा बढी प्रतिनिधि एउटै हलमा बसेर एउटै स्वरले यो प्रतिबद्धता व्यक्त गरेका छौं। केही दिनअघि सम्पन्न भएको स्थायी कमिटी बैठकमा पार्टीको नेतृत्व चयनका निम्ति सबै नेताले समझदारी अपनाउने, एकताबद्ध भएर जाने, सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न कोसिस गर्ने भनेर छलफल भयो। सोही आधारमा पार्टीको महाधिवेशन अघि बढेकाले अब कुनै पनि निर्णयलाई एकताबद्ध रूपमा सम्पन्न गर्न र लक्ष्य पूरा गर्न एमालेलाई समस्या छैन।

पार्टीलाई ध्वस्त बनाउन नेकपा एमालेविरुद्धमा गठबन्धन बने। तर, ती गठबन्धनले केही पनि फरक पर्न सकेन। खुट्टा तान्न खोज्नेहरू आफैं चिप्लिएर लडिरहेका छन्। नेकपा एमाले एक्लै ५० प्रतिशतभन्दा बढी जनमतलाई कमान्ड गर्ने लोकप्रिय पार्टी हो। नेकपा एमालेबाहेकका अन्य दलले ५० प्रतिशत कमान्ड गर्छन्। त्यसैले नेकपा एमाले सबैभन्दा ठूलो र लोकप्रिय दल हो भन्नमा कहिले पनि कञ्जुस्याइँ गरिँदैन। चितवनमा जारी यो १०औं महाधिवेशनले थप ऊर्जा पैदा गरेको छ। एमालेविरुद्ध नियोजित षड्यन्त्रका साथ खडा भएको गठबन्धनका नियत र उद्देश्यलाई भन्डाफोर गर्दै नेकपा एमाले अझ वैचारिक, जागरुक, सुस्पष्ट र एकताबद्ध बनेर आगामी चुनौतीहरूलाई सामना गर्दै अघि बढ्छ।

एमाले नेतृत्वमा अब के होला ? भन्ने धेरै प्रश्न सतहमा आए। फरक पार्टीदेखि पार्टीभित्रै पनि फरक विचार व्यक्त गर्दै आएका व्यक्ति अहिले एउटै डुंगा सवार भएको अवस्था छ। यो अवस्था र समय भनेको चलेको र सबै चढेको डुंगालाई सही मार्गमा दौडाउने हो। पार्टी आफैं महासागर भएकाले यसरी आउने ससाना समस्यालाई सहजै ग्रहण गरेर आफ्नो वास्तविक रूप बनाउन समस्या छैन। त्यसैले पार्टीलाई विशाल महासागर भनिएको हो। जसमा सबै खोलानाला मिसिन्छन्। त्यो महासागरले ती खोलानालालाई तँ मसँग नमिसिई भन्दैन। महासागरमा पुगेर कुनै पनि खोलाको अस्तित्व भेटिन्न। एमालेभित्र पनि सबै विचारधारा एमालेको महासागरभित्र एकताबद्ध हुन्छन्। १० बुँदे वा माओवादी होइन, नेपालका सम्पूर्ण कम्युनिस्ट पार्टीका सदस्यहरूलाई समेत एकताबद्ध गर्दै एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने लक्ष्यका साथ एमाले अघि बढेको छ। नागरिकका हित र चाहना पूरा गर्न पार्टी स्थापना भएकाले पार्टीभित्र समस्या आउनु नयाँ होइन। सहजै स्विकार्न र बाँकी भविष्यका बारेमा सोच्न भने सक्नुपर्छ।

एमालेको नीति, विचार र कार्यदिशा सही छ। यसले अबको दिनमा नेपाली समाजलाई समाजवादतिर अघि बढाउँछ। यसले समाजवादको लक्ष्य बोकेको छ। नेपालीमाझ लोकप्रिय विचार हो यो। मनमोहन अधिकारीको नेतृत्वमा सरकार बनेदेखि केपी ओली नेतृत्वको सरकार रहेसम्म एमालेले लोकप्रिय काम गरेकै छ। विकास निर्माणका काम गरेका छौं। सुखी नेपाली र समृद्ध नेपाल बनाउने अभियानमा छौं। यसका लागि एमालेलाई नागरिकले पनि साथ दिनुपर्छ। यो नेकपा एमाले नेतृत्वको सरकारबाट मात्रै सम्भव छ। त्यसैले यो निर्वाचनमा एमालेलाई बहुमत नागरिकले स्वतः प्रदान गर्नेछन्/गर्नुपर्छ।

दोस्रो, राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै आत्मनिर्भर देश बनाउने दिशामा नेकपा एमाले छ। तेस्रो, नेपाल लामो समयसम्म विदेशी शक्ति राष्ट्रको अगाडि कमजोर सावित हुँदै आयो। पछिल्लो कालमा एमालेको नेतृत्वको सरकारपछि हामी विश्व समुदायमा ठाडो शिर लगाएर नेपालको शानका साथ प्रस्तुत हुन सकेका छौं। चौथो, देशमा जातीय, सामाजिक र लैंगिक विभेद छन्। तिनलाई अन्त्य गर्दै समतामूलक र न्यायमूलक समाजको निर्माण गर्ने कामको अगुवाई नेकपा एमालेले गर्छ। महाधिवेशन सम्पन्न गरेर चितवनबाट फर्केपछि एमालेको अर्जुनदृष्टि चैतमा हुने स्थानीय निर्वाचन र त्यसपछि हुने प्रदेश र संघीय निर्वाचनमा केन्द्रित हुन्छ। देश बनाउनकै लागि अब एमालेलाई जनमत आवश्यक छ। संविधान रक्षा र कार्यान्वयनका लागि अब एमाले पार्टी नै देशको विकल्प हो। अध्यक्ष केपी शर्मा ओलीले पनि यस्ता धेरै विषयमा नागरिकमाझ सार्वजनिक रूपमा बोल्नुभएकै छ। निर्वाचन, संविधान कार्यान्वयन र देशको राष्ट्रियता जोगाउने लक्ष्यमा अबको निर्वाचित कार्यसमितिमा रहनेछ।

एमाले सधैं नागरिकको हितमा काम गर्ने पार्टी हो। नागरिकको चाहनालाई कहिले पनि कुल्चन दिएको छैन। संविधानमा गलत व्याख्यालाई सच्याएर अघि बढ्न एमाले चाहिरहेको छ। आवश्यकताका अनुसार औचित्यका आधारमा यसको संशोधन हुनुपर्छ। एमाले चाहन्छ, कुनै पनि विकास र नागरिकको हितमा संविधान बाधक बन्न हुँदैन। एमालेले यो महाधिवेशनबाट शान्तिको पक्षमा सधैं रहन र हिंसातर्फ नजान प्रस्ट पारेको छ। जनतालाई विभाजित गर्ने कुराको विपक्षमा पार्टी सधैं रहनेछ। हाम्रो नीति स्वाधीनताको रक्षा गर्ने हो। यो वास्तविक रूपमा एमालेले प्रयोग गर्नेछ। अब एमालेका लक्ष्य, नीति र उद्देश्य यसै पेरिफेरिमा घुम्नेछन्। हो, वास्तवमै एमाले अब नागरिकका मनमनमा बस्नेछ।

लेखक नेकपा एमालेका सचिव हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.