कांग्रेस केन्द्रीय सदस्यमा स्याङ्जाका ५ आकांक्षी

स्याङ्जा : जिल्ला र प्रदेशको निर्वाचन सकिएसँगै नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिको ध्यान केन्द्रतर्फ सोजिएको छ। दुई समूह र प्यानलगतरुपमा चुनावी प्रतिस्पर्धामा उत्रेका स्याङ्जा कांग्रेसका आधा दर्जन युवाहरुले केन्द्रीय सदस्यमा उम्मेदवार दिने आकांक्षा सार्वजनिक गरेका छन्।
ती मध्ये एक महिला नेतृसहित ५ जनाले आआफ्ना उम्मेदवार सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा स्याङ्जाका सरस्वती अर्याल तिवारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी हुन्।
नेपाल महिला संघका केन्द्रीय उपसभापति एवं नेपाली कांग्रेस स्याङ्जाका महासमिति सदस्य समेत रहेकी तिवारीले आसन्न अधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारीको घोषणा गरेकी हुन्।
वि.सं. २०४४ सालदेखि नेपाल विद्यार्थी संघमा आवद्ध उनी २०५१ सालमा नेपाली कांग्रेसको क्रियाशिल सदस्य बनिन्। कांग्रेसको तल्लोतह नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी उनले जिल्ला सदस्यहुँदै तरुण दलको केन्द्रीय सदस्य भइन्।
तिवारीले तरुण दलमा रहेर विदेश विभागको समेत जिम्मेवारी सफलतापूर्वक पूरा गरेकी छन्। उनीसँग ११ वर्ष तरुण दलमा र ४ वर्ष महिला संघको पदमा रही काम गरेको अनुभव छ।
विस २०६४, २०७० र २०७४ सालको विभिन्न निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार बन्ने अवसर पाएपनि सफलता भने मिलेन् उनलाई। स्पष्ट एवं प्रखर वक्ता तिवारीले विगत १२ औं, १३ औं र १४ औं अधिवेशनमा पनि सहभागी हुने मताधिकारसहित ३ पटक महासमिति सदस्य बन्न सफल भएकी छन्।
जिल्लाबासीबीच लोकप्रिय तिवारीले तल्लोतहदेखि काम गरेको अनुभव र पार्टीमा निरन्तर क्रियाशील छन्। आफू जस्ता युवाहरुको आवाज प्रतिबिम्बित गर्नका लागि आफ्नो उम्मेदवारी केन्द्रीय सदस्यमा रहेको तिवारीले बताइन्।
यसैगरी, नेपाली कांग्रेसका युवा नेता बिष्णु पौडेलले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारीको घोषणा गरेका छन्। पौडेल पनि नेपाल विद्यार्थी संघको जिल्ला र केन्द्रीय राजनीति हुँदै नेपाली कांग्रेसको पार्टी राजनीतिमा क्रियाशील छन्।
पौडेल २०७४ सालको निर्वाचनमा स्याङ्जाको निर्वाचन क्षेत्र न २ को प्रदेशसभा क को प्रदेश सांसदको उपविजेता हुन। विद्यार्थी, तथा तरुणबीच लोकप्रिय छवि बनाएका पौडेलले केन्द्रीय समितिमा ४० वर्ष भन्दा कम उमेरका युवाहरुको सहभागिता अपरिहार्य भएको जनाउँदै आफ्नो उम्मेदवारी प्रस्तुत गरेको जनाए।
यस्तै, स्याङ्जा महासमिति सदस्य एवं तरुण दलका पूर्व जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य गोविन्द रानाभाटले पनि नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका छन्।
समग्र नेपाली कांग्रेसको राजनीतिलाई स्वच्छ र स्वस्थ्य बनाउने अभियानका लागि आफ्नो उम्मेदवारी घोषणा गरेको रानाभाटको दावी छ। यस्तैगरी, नेपाल शिक्षक संघका उपाध्यक्ष, स्याङ्जा निर्वाचन क्षेत्र नं. १ का पूर्वक्षेत्रीय सचिव, भरतप्रसाद लम्सालले पनि गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यको रुपमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।
नेपाली कांग्रेसमा रुपान्तरण, हस्तान्तरण र विधानसम्मत संचालनको लागि आफ्नो उम्मेदवारी रहेको आकांक्षी लम्सालको भनाइ छ। नेपाल विद्यार्थी संघदेखि जिल्लामा कांग्रेसको राजनीति सुरु गरेका र पत्रकार इन्द्रबहादुर रिजालले पनि आसन्न महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन्।
आकांक्षी रिजालले चौधौं महाधिवेशनलाई रुपान्तरण, पुस्तान्तरण, युवापुस्तामा हस्तान्तरण र नयाँ समीकरणमा चल्ने राष्ट्रिय शक्ति बनाउन भूमिकामा रहनेगरी आफनो उम्मेदवारी रहेको जनाए।
स्याङ्जाका ५ नगरपालिका र ६ गाउँपालिका तथा २ निर्वाचन क्षेत्र गरेर २ हजार २ सय ५९ जना क्षेत्रीय प्रतिनिधि छन्। तीमध्ये खुला, महिला, जनजाती, दलित, अल्पसंख्यक/अपांग र केन्द्रीय सदस्यगरी स्याङ्जाबाट ५२ जनाले महाधिवेशनमा मताधिकारको उपयोग गर्न पाउनेछन्। कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि काठमाडौंमा हुँदैछ।
प्रतिक्रिया दिनुहोस !
