सन् २०२२ लाई फेवा किनारमा सडक महोत्सव गरी स्वागत गर्दै
पोखरा : पोखराको फेवाताल किनार लेकसाइडमा सन् २०२२ लाई स्वागत गर्न सडक महोत्सवको तयारी गरिएको छ। अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यस्थलको रुपमा विकास गर्न रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा विगत २२ वर्षअघिदेखि फेवाताल किनारमा सडक महोत्वस हुँदै आएको छ।
नेपाली कला, संस्कृति, खानाका परिकार र खेलकुदका गतिविधि सडक महोत्सवमा हुने आयोजक संस्था रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए। महोत्सव डिसम्बर महिनाको ३०, ३१ र नयाँ वर्ष २०२२ को पहिलो दिन १ तारिखसम्म हुने छ। नेपाली महिनाको पुस १५ गतेदेखि १७ गतेसम्म हुने महोत्सवमा सन् २०२१ को अन्तिम दिन १२ गते विशेष कार्यक्रम गरी नयाँ वर्ष २०२२ लाई स्वागत गर्ने कार्यक्रम रहेको रेवानका अध्यक्ष बरालले जानकारी दिए।
रेवान पोखराले राजनैतिक अस्थिरता, कोरोना महामारी, २०७२ सालको भुकम्प र भारतले लगाएको नाकाबन्दी जस्नो कठीन समयमा पनि पर्यटन प्रवद्धन गर्न सडक महोत्सवलाई निरन्तरता दिंदै आएको छ। गत वर्ष पनि कोरोना संक्रमण कम हुँदै गएको र लकडाउन हटेको समय परेकोले सन् २०२१ लाई स्वागत गर्न सडक महोत्सव रेवान पोखराले आयोजना गरेको थियो। यस वर्ष कोमागाने पार्कका संस्कृति कार्यक्रम सहित महोत्सवको आयोजना हुने सडक महोत्सवका संयोजक नरेश भट्टराईले जानकारी दिए।
नेपाल र पोखरा घुम्न आएका विदेशी पर्यटक अंग्रेजी नयाँ वर्ष नजिकिएसँगै नयाँ वर्ष मनाउन भारतको गोवा वा अन्य मुलुक जाने गर्दर्थे। पर्यटक नयाँ वर्ष मनाउनकै लागि अन्यत्रजाने अवस्थालाई रोक्न रेवान पोखराले फेवाताल किनारमा महोत्सवको आयोजना गर्दै आएको हो। महोत्सवमामा मौलिक भेषभुसा, ग्रामीण जनजीवन, किसानका उत्पादन पस्कने उद्देश्यले पनि महोत्सवको आयोजना गरिएको रेवानले जनाएको छ। ती दिनसम्म हुने महोत्सव लेकसाइडका तीन किलोमिटर क्षेत्रमा हुने छ।
नेपाली मौलिक संस्कृतिको साथै पोखरामा रहेका विदेशीको संस्कृतिक कार्यक्रम समेत हुने भएकोले सडक महोत्सव स्वदेशी तथा विदेशी पर्यटकका लागि विशेष आकर्षक रहने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले बताए। महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको दोहोरी, हास्य प्रहसन र साँझमा लाइभ कन्सर्ट पनि आयोजना हुने रेवान पोखराका सचिव भिष्मराज पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस !