बेनी-जोमसोम-कोरला सडकमा पुल निर्माणमा ढिलाइ किन ?

बेनी-जोमसोम-कोरला सडकमा पुल निर्माणमा ढिलाइ किन  ?

जोमसोम : बेनी–जोमसोम–जोमसोम–कोरला सडकमा निर्माणाधिन १२ वटा मोटरेबल पुलको ठेक्का सम्झौताको खरिद ऐनअनुसार थपिएको समयसीमा आगामी चैतमा सकिदैछ। २०७३ सालमा ठेक्का सुरु भएको हो।

पुल र सडक निर्माणमा भएको ढिलासुस्तीले अन्तरदेशीय व्यापारिक महत्वको कोरला नाका सञ्चालनको तयारी प्रभावित बनेको छ । स्थानीयबासी र पर्यटकलाई आवतजावतमा समस्याका साथै सास्ती भएको छ ।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक र पुल निर्माण प्रभाबित भएको मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताए । ‘कुनै पनि मोटरेबल पुल निर्धारित समयमा निर्माण हुन सकेका छैनन, 'उनले भने, ‘स्थानीयबासी र मुस्ताङ आउने पर्यटकलाई खोलामा पुल नहुँदा सास्ती भएको छ ।’

पर्याप्त मजदुर र उपकरण परिचालन गर्न तथा निर्माण सामग्री जुटाउन नसकेका निर्माण व्यवसायीले कोरोना महामारी र मौसमलाई देखाएर जिम्मेवारीबाट पन्छिनु दु:खद भएको उनको गुनासो छ ।

सन्तोषजनक छैन प्रगति

मुस्ताङको कैकुखोलामा गणपति निर्माण कम्पनीले तीन करोड २५ लाख रुपैयामा ठेक्का लिएको २० मिटर लामो पुलको २५ प्रतिशत भौतिक प्रगति छ । एकातर्फको फाउण्डेशन निर्माण सकिएको पुलको अर्कोतर्फको फाउण्डेशन बनाउन थालिएको छ ।

कालिका गजुरमुखीले सात करोड ४४ लाख रुपैयाँमा ठेक्का पाएको ८० मिटर लामो छाक्ताङ खोलाको पुल निर्माणको प्रगति ६० प्रतिशत छ । गणपती निर्माण कम्पनीले तीन करोड २९ लाख रुपैयाँमा ठेक्का पाएको लार्जुङ खोलाको २० मिटर लामो पुलको ५५ प्रतिशत प्रगति छ ।

हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले २१ करोड ६० लाख रुपैयाँमा ठेक्का लिएको १२० मिटर लामो मार्फाखोला र ९० मिटर लामो छुसाङ खोलाको पुल ६० प्रतिशत निर्माण सकिएको छ ।

गल्वा रफिना जेभीले दुई करोड ८८ लाख रुपैयाँमा ठेक्का लिएको कागबेनीखोलाको २५ मिटर लामो पुल ९० प्रतिशत निर्माण सकिएको छ । हिमदुङ एण्ड थोकर इमोटल जेभीले आठ करोड ८७ लाख रुपैयाँमा ठेक्का लिएको घमीखोला पुलको ४० प्रतिशत, काष्ठमाण्डप कन्ट्रक्सनले १० करोड आठ लाख रुपैयाँमा ठेक्का लिएको चराङखोला पुलको ६० प्रतिशत प्रगति छ ।

मुक्तिनाथ–अमित जेभीले चार करोड ६८ लाख रुपैयाँमा ठेक्का लिएको २० मिटर लामो लोमान्थाङखोलाको ३० प्रतिशत, छ करोड ३० लाख रुपैयाँमा सम्झौता भएको किम्लीङखोला पुलको ४० प्रतिशत, छ करोड ३५ लाख रुपैयाँमा ठेक्का लिएको ५० मिटर लामो नामदोक खोला पुलको ४० प्रतिशत र छ करोड ४५ लाख रुपैयाँमा सम्झौता भएको ४० मिटर लामो भर्मा खोला पुलको ४० प्रतिशत भौतिक प्रगति भएको छ ।

म्याग्दीको बेगखोलामा पुल महाशाखाले ७० मिटर लामो मोटरेबल पुल बनाउन ठेक्का प्रक्रिया शुरु गरेको छ । बोक्सीखोला, सुनखोला र थापाखोलामा मोटरेबल पुल बनाउन प्रस्ताव गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । पाण्डाखोलामा पुल बनाएको भन्दा फरक ठाउँबाट खोला बग्न थालेपछि ५० मिटर लामो अर्को पुल बनाउन प्रस्ताब गरिएको छ ।

‘छुसाङको मुस्ताङ गेटमा डोलिडारले बनाएको पुलसँगै अर्को ५० मिटर लामो पुल बनाउन प्रस्ताव गरिएको छ,'उनले भने, ‘पुलले खोलाको सबै भाग समेट्न नसकेपछि नयाँ पुल बनाउन आवश्यक देखिएको हो।’  

निर्माण कम्पनी गजुरमुखीका आयोजना ब्यवस्थापक राजन न्यौपाने (नरेन्द्र)ले अत्याधिक चिसो, बेमौसमी वर्षा र हिमपातको साथै दुई पटकसम्मको कोरोना महामारीले सडक तथा पुल निर्माण प्रभाबित बनाएको बताए। थपिएको समयभित्र सम्झौता अनुसार पुल तथा सडक निर्माण सम्पन्न गराउन जुटेको उनले बताए ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेबल पुल अलपत्र बनेका छन् । आयोजनाका इञ्जिनियर आश्वीनीकुमार यादबले निर्माणको क्रममा रहेका पुलका संरचनामा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेर दुरी बढाएर नयाँ प्रक्रियाबाट बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको बताए ।

‘४० मिटर लम्बाई भएको रुप्से खोलाको पुलको दुईतर्फ पिल्लर उठाएर ६६ प्रतिशत र ढलान गर्ने अवस्थामा रहेको ८५ प्रतिशत प्रगति भएको खहरेखोलाको पुलको जगनै खलबलाउने गरि बाढीले बगाएपछि स्पाम (लम्बाई) बढाउन लागिएको छ,' उनले भने ‘भूगोल र प्राकृतिक बिपद्का कारण डिजाइन संसोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया शुरु गर्नुपर्ने भएको हो ।’

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर अन्तरगत १८६ किलोमिटर दुरिको बेनी देखि कोरला नाका जोड्ने सडकमा आठ वटा मोटर चल्ने पुल निर्माण सकिएका छन् । थप एक वटा निर्माणको अन्तिम चरण र १२ वटा निर्माणाधिन रहेका बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।

‘नियमित र सहजरुपमा यातायात सञ्चालनका लागि सडक स्तरोन्नतिसँगै बेलिब्रिज विस्थापित गरि पुल निर्माणको काम भइरहेको छ, 'उनले भने, ‘एक वटा पुल निर्माणको ठेक्का प्रक्रियामा छ । थप पाँचवटा पुल बनाउन आवश्यक छ ।’

२०७३ मा सुरु भएको आयोजनामार्फत म्याग्दीको राहुघाटमा छ करोड १४ लाख रुपैयाँको लागतमा ४० मिटर, रु. पाँच करोड  ७८ लाख रुपैयाँमा घट्टेखोलामा ४० मिटर, मुस्ताङको स्याङ खोलामा दश करोड ५२ लाख रुपैयाँमा ११५ मिटर, पाण्डाखोलामा चार करोड ३७ लाख रुपैयाँमा ५० मिटर पुल निर्माण भएको हो ।

पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले १९ करोड रुपैयाँको लागतमा म्याग्दीको महभिर र पोखरबगर स्थित कालीगण्डकीमा ८० र ७० मिटर लामो, ११ मिटर फराकिलो मोटर चल्ने पुल निर्माण गरेको छ । महभिरको पुल सञ्चालनमा आइसकेको छ । निर्माण सकिएको पोखरेबगरको पुल सञ्चालनका लागि पहुँचमार्ग बनाउन थालिएको छ । छुसाङको मुस्ताङ गेट स्थित कालीगण्डकी नदीमा डोलिडारले चार करोड ७३ लाख ८८ हजार ६८ रुपैयाँमा ७७ दशमलब २ मिटर लामो पुल बनाएको छ ।

जोमसोम स्थित कालिगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिबिसले भारतीय दुताबासको चार करोड ४४ लाख रुपैयाँ सहयोगमा ४६ मिटर लामो र ७ दशमलब २० मिटर लामो पुल बनाएको थियो । गजुरमुखी निर्माण कम्पनीले २०७५ मा छ करोड २० लाख रुपैयाँमा ठेक्का लिएको ४० मिटर लामो लेते खोलाको मोटरेबल पुल निर्माण अन्तिम चरणमा छ ।

सात अरब २७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएका बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत सडक तथा पुल निर्माणमा हालसम्म चार अरब ७३ करोड रुपैयाँ खर्च भएको लेखा अधिकृत शेखरचन्द्र सापकोटाले बताए ।

पर्वतको मालढुङ्गा देखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुदै कोरला नाकासम्म १३ वटा खण्डमा सडक सस्तरोन्निति भइरहेको छ । तामाङ–गौरी पार्वति–सप्तकोशी जेभीले ठेक्का लिएको २५ किलोमिटर दुरीको चराङ–छोसेर बाहेक जोमसोम–कोरला खण्डको छ वटा प्याकेजका ठेकेदारले ११ मिटर फराकिलो सडक ग्राभेल गरिसकेका छन् ।

भेना–घिलिङ, कागबेनी–ताङवे, ताङ्वे–चैले, चैले–चराङ र छोसेर–कोरला खण्डको सडक स्तरोन्नति भइसकेको छ । बेनी–जोमसोम खण्डको ६५ र जोमसोम–कोरला खण्डको ८५ प्रतिशत प्रगति छ । ११ मिटर फराकिलो, नाली, गयावियन पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल भएको छ ।

बेनी जोमसोम सडकको बेनीदेखि घाँसा खण्डमा डिबिएसडी र घाँसा जोमसोम खण्डमा आक्सपाल्ट प्रविधिको कालोपत्रे गर्न लागिएको हो ।  आयोजना अन्तरगत १९ किलोमिटर दुरीको म्याग्दीको गलेश्वर–नारच्याङ पुल खण्डको गलेश्वर र राहुघाट देखि बेगखोला सम्मको छ किलोमिटर कालोपत्रे सुरु भएको छ ।

शर्मा गजुरमुखीले ठेक्का लिएको तेस्रो नम्बर प्याकेजमा पर्ने १६.५ किलोमिटर दुरीको कैकुखोला–खन्ती खण्ड कालोपत्रे अन्तिम चरणमा पुगेको छ । सोही कम्पनीले ठेक्का लिएको नारच्याङ–कैकुखोला खण्डमा पर्ने काभ्रे, बादरजुङ र घोप्टेभिर खण्डमा पहाड फुटाएर सडक बिस्तार गर्न तीन हजार प्वाल खोलेर दश मेट्रिक्टन जिलेटिन बिस्फोट गराउने तयारी भएको छ ।

बर्खाका कारण रोकिएको सडक निर्माणको काम दशै लगत्तै अघि बढेको छ । चौथो नम्बर प्याकेजमा पर्ने कोवाङदेखि जोमसोमसम्मको १८ किलोमिटर सडक पनि कालोपत्र गर्न लागिएको छ । ‘बेनी घाँसा खण्डको दुई प्याकेजमा डीबीएसडी र घाँसा जोमसोम खण्डको दुई प्याकेजमा असपाल्ट प्रविधिको कालोपत्र हुँदैछ,'आयोजनाका इञ्जिनियर आशिष मानन्धरले भने,‘११ मिटर फराकिलो बनाइएको सडकको सातदेखि आठ मिटर चौडाइमा कालोपत्र हुन्छ ।’

१३ किलोमिटर दुरीको बेनी–मालढुङ्गा सडक विस्तारको काम पनि सुरु भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनालाई चालु आर्थिक बर्षमा एक अरब तीस करोड रुपैयाँ बजेट बिनियोजन भएको छ । प्रगतिको आधारमा थप बजेटको व्यवस्थापन गर्न पहल गरिने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.