सम्झौताको दुई वर्षपछि इलेक्ट्रोमेकानिकल ठेकेदारले काम थाल्यो
बेनी : ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदारले काम सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले म्याग्दीमा निर्माण गर्न लागेको आयोजनासँग सम्झौता भएको दुई वर्षपछि भारत हेभी इलेक्ट्रकल्स लिमिटेड (भेल)ले काम सुरु गरेको हो ।
२०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्काको सम्झौता गरेको थियो । भेलले विद्युतगृहमा अर्थिङ गरेर आयोजना स्थलमा काम सुरु गरेको आयोजना प्रमुख राजबहादुर बिष्टले जानकारी दिए ।
‘सिभिल ठेकेदारले बिद्युतगृहको पूर्वाधार बनाउन थालेसँगै इलेक्ट्रोमेकानिकल ठेकेदार पनि आयोजना स्थलमा परिचालित भएको छ, 'उनले भने ‘आयोजना व्यस्थापन, सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार तथा परामर्शदाताले समन्वय गरेर विद्युतगृह निर्माणलाई तीव्रता दिएका छौं।’
इलेक्ट्रोमेकानिकल ठेक्काको सम्झौता अवधी ३६ महिनाको हो । भेल भारतको सरकारी निर्माण कम्पनी हो । विद्युतगृह भित्रका उपकरण र स्विचार्डका उपकरण आपूर्ति, ढुवानी र जडानको ठेक्का लिएको भेलले डिजाइन तयार पारिसकेको जनाएको छ । सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले बेनी–जोमसोम सडकको छेउमा पर्ने रघुगंगा गाउँपालिका वडा नम्बर ३ को तिल्केनीचौरमा विद्युतगृह निर्माण सुरु गरेको छ ।
नेपाल विद्युत प्राधिकरणको शत प्रतिशत शेयर लगानीमा वि.स. २०७३ मा स्थापना भएको रघुगंगा हाइड्रोपावर लिमिटेडसँग बि.स. २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जेपीले हालसम्म सर्चसाफ्ट र चार वटै अडित (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग) को ब्रेक थ्रु गरेको कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीले बताए ।
भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा विद्युत प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण गर्न लागिएको यस आयोजनाको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।
४५ महिनाको म्याद सकिएपछि प्राकृतिक विपद र कोरोना (भाइरस) महामारीलाई कारण देखाएर एक वर्ष म्याद थप गर्न प्रस्ताव गरेको छ । पावरहाउस देखि दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ ।
बुग्लस्थित रघुगंगा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरेको छ । छ किलोमिटर २०० मिटर लामो सुरुङ मध्य हालसम्म दुई हजार १८० मिटर निर्माण सकिएको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट र सुरुङको ब्रेक थ्रु भएर १७० मिटर गहिरो प्रेसर साफ्ट निर्माण शुरु भएको छ । अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन २०२३ को जनवरी ३१ देखि वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य सहित २०७५ चैतमा विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो ।
सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा जोड्न लुप इन लुप आउट (लिलो)को चार वटा टावर तयार भएको छ ।
प्रतिक्रिया दिनुहोस !