भीडभाडमा प्रशासनको कडाइ
काठमाडौं : उपत्यकाका तीनवटै जिल्ला प्रशासनले कोभिड भाइरस संक्रमण तीव्र रूपमा बढेपछि २५ जनाभन्दा बढी व्यक्तिहरू सहभागी हुने भेला, सम्मेलनलगायतका कार्यक्रममा रोक लगाएका छन्।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को मंगलबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी विभिन्न प्रतिबन्धात्मक घोषणा गरेको हो। २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाउँदै १७ बुँदे आदेश पनि जारी गरिएको छ।
ललितपुरका सीडीओ घनश्याम उपाध्यायले आवतजावतलाई कडाइ गर्न र सुरक्षा मापदण्डको पालनालाई कडाइ गर्न प्रतिबन्धात्मक कार्यक्रम अघि सारिएको बताए। ‘अत्यावश्यक बाहेकका सभा, मेला, सम्मेलन, उत्सव नगर्नका लागि अनुरोध गरिएको हो,’ उपाध्यायले भने, ‘पूर्वनिर्धारित अत्यावश्यक कार्यक्रमहरू भए स्थानीयको स्वीकृति लिएर गर्न सकिने छ।’
आदेशको अनुगमनका लागि सुरक्षा निकायलाई परिचालन गरिने सीडीओ उपाध्यायले जानकारी दिए। अनुगमन गर्दा आदेशको पालना नगरेको भए संक्रामक रोग ऐनअनुसार कारबाही गरिने जनाइएको छ। कोरोनाको पछिल्लो भेरियन्ट फैलिन नदिन आवश्यक मापदण्ड जारी गरिएको उनले बताए।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को सिफारिस एवं गृह मन्त्रालयको निर्णयअनुसार स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन,२०२० ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को प्रयोग गरी जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेको हो। त्यस्तै राजनीतिक दलका सभा, सम्मेलनसहित भीडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको छ। सार्वजनिक स्थलमा निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न सीडीओको बैठकले आदेश जारी गरेको छ। माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक सेवा लिन खोप कार्डलाई अनिवार्य गरिएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ८० जना संक्रमित थपिएका छन्। उपत्यकामा सक्रिय संक्रमितको संख्या ३५ सयभन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ३ हजार ५ सय २१ जना, ललितपुरमा १ हजार ९० जना र भक्तपुरमा ६ सय ९९ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
२ हजार ४ सय ४४ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ३३ वटा नमुनाको पीसीआर र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा १६ दशमलव २५ प्रतिशतभन्दा बढीमा संक्रमण देखिएको हो।
३७ प्रतिशतले पूर्ण खोप
हालसम्म लक्षित जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। एक मात्रा मात्रै खोप लगाउनेको संख्या ७६ दशमलव ५ रहेको छ। कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ छन्। यसमध्ये ३७ दशमलव ३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। ५० दशमलव २ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !