चिनियाँ पत्रकारका हेराइमा नेपाल

चिनियाँ पत्रकारका हेराइमा नेपाल

चिनियाँ पत्रकार चाउ सेङपिङ नेपाल आउँदै गर्दा उनलाई लागेको थियो- नेपाल कत्रो होला ? यहाँका जनता, राजनीतिक पार्टी, भूराजनीति, विविधता, समुदाय, भाषा, संस्कृति कस्तो होला ? यी प्रश्नबीच उनको बुझाइ थियो- नेपाल पक्कै सानो छैन । कुनै पनि देशलाई त्यहाँको क्षेत्रफलले सानो वा ठूलोको पगरी थमाउन मिल्दैन । पृथ्वीनारायण शाहको ‘दुई ढुंगाबीचको तरुल’ भन्ने भनाइलाई गलत ठहर्‍याउँदै उनी भन्छन्, ‘दुई ठूला अर्थतन्त्र भएको देशबीचमा हुँदैमा नेपाललाई सानो मान्न सकिँदैन । धेरै चिनियाँ पनि नेपाल सानो छ भनेर स्वीकार गर्दैनन् ।

उनी सानो वा ठूलो हुनुले कुनै पनि देश र त्यहाँका जनताको समृद्धिलाई निर्धारण गर्न नसक्ने बताउँछन् । उनी प्रश्न गर्छन्, ‘उसो भए के सबै ठूला देश साना देशभन्दा धनी, सुखी र व्यवस्थित छन् ? उत्तर हो- छैनन् । क्षेत्रफल ठूलो भएरै शक्तिशाली वा समृद्धि हुने हो भने अमेरिकाभन्दा रसिया शक्तिशाली हुनुपर्ने हो । क्षेत्रफल कम भएकै कारण स्विट्जरल्यान्ड वा सिंगापुर कमजोर वा गरिब हुनुपर्ने । यो उनको बुझाइ हो । थप्छन्, ‘ए महान् देश नेपाल । तिमी सानो छैनौ । आजैदेखि तिमी भारत र चीनजस्ता ठूला समकक्षीसँगै निर्वाध ठूलो पाइला अगाडि बढाऊ ।’

१० वर्षअघि चीनको सिन्ह्वा समाचार संस्थाको ब्युरो प्रमुख भएर काठमाडौं आउँदा उनले यहाँको भूराजनीति, विश्व समुदायको चासो, नेपालको आफ्नो सामथ्र्य, यहाँको पर्यटन, संस्कृति र पर्यावरणलगायत विषयमा नजिकबाट बुझ्ने प्रयास गरे । उनले आफूले देखेको नेपालबारे सिन्ह्वामा समाचार र आलेख प्रकाशित गरे । नेपालमा रहँदा उनले गरेका विभिन्न रिपोर्टिङ, विचार, विश्लेषणको सँगालो हो- ‘चिनियाँ पत्रकारका नजरमा नेपाल : सुधार वा समाप्त होऊ ।’

पुस्तकलाई सुरुमा उनले अंग्रेजी भाषामा प्रकाशन गरे, जसको नाम हो– मेन्ड अर इन्ड । मेन्ड अर इन्डलाई उनले किन नेपाली भाषामा पनि प्रकाशन गरे ? भन्छन्, ‘मातृभाषाको महत्व कति छ भन्ने कुरा एउटा चिनियाँ नागरिकलाई राम्रोसँग थाहा छ । म चाहन्छु, नेपालीले यो किताबलाई आफ्नै भाषामा पढून् । चीन नेपालका लागि कति महत्वपूर्ण छ, सबैले बुझून् ।’

किताबमा उनले भारत शदीयौंदेखि नेपालमा किन हाबी छ ? भन्ने कुराको उत्तर खोज्ने प्रयास गरेका छन् । उनलाई लाग्छ, सन् १८१६ को सुगौली सन्धिपछि नेपालले गौरवशाली युगलाई गुमायो । यसले राष्ट्रियतालाई कमजोर मात्र पारेन, मजबुत सार्वभौमसत्तामा अनेकौं छिद्र पैदा गर्‍यो । भारतको ‘बिग ब्रदर’ कूटनीतिलाई उनी एकदमै घातकको संज्ञा दिन्छन् । उसो भए नेपालमा भारत किन शक्तिशाली छ ? चीन किन शक्तिशाली बन्न नसकेको ? चिनियाँ कूटनीतिज्ञहरूले यही प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको तर्क छ ।

चीनले नेपालमा लिएको नीति नै त्रुटिपूर्ण रहेको उनको बुझाइ छ । उनलाई लाग्छ, चीन तिब्बत सीमामा मात्र केन्द्रित छ । उसलाई जसरी पनि नेपालमा हुने ‘स्वतन्त्र तिब्बत’ अभियानलाई रोक्नु छ । तर तराई-मधेस पनि नेपालकै हिस्सा हो, त्यहाँ बस्ने नागरिक पनि नेपाली नै हुन् भन्ने तथ्य चीनले बिर्सेको चाउ बताउँछन् । नेपालको भूराजनीतिमा भारतपछि अमेरिकाको प्रभाव धेरै रहेको उनी बताउँछन् ।

एमसीसी जसरी पनि पास गर्नुपर्ने अमेरिकी रटानलाई उनले ‘रहस्य’को रूपमा बुझेका छन् । उनलाई लाग्छ, नेपाली एमसीसीको सम्झौता पढेकै छैनन् । अमेरिकाले एमसीसी सम्झौता गराएर नेपालको सम्प्रभुता, सर्वोच्च अधिकार लिने दाउमा रहेको उनी बताउँछन् । उनी लेख्छन्, ‘सन् २०१७ मा भएको एमसीसी सम्झौताको भाग ७.१ ले प्रष्ट भनेको छ, ‘सम्झौतामा हस्ताक्षर गर्ने पक्षहरू यसमा पूर्ण सहमत छन् कि सम्झौता लागू भएको मितिदेखि एमसीसीको कानुन नेपालको कानुनउपर रहनेछ ।’ नेपालको संविधान यो देशको मूल कानुनको रूपमा रहेको र यो सम्झौताले उक्त कानुनलाई खारेज गर्ने चाउको बुझाइ छ । ‘५०० मिलियन अमेरिकी डलर सहायताको बदलामा नेपालले भुक्तान गर्नुपर्ने मूल्य यही हो’, उनी लेख्छन् ।

किताबमा चीन नीति र नेपालमा हाबी भएको भूराजनीति सम्बन्धमा बढी चर्चा छ । नेपालको राम्रो र नराम्रो पक्ष केलाउने प्रयास गरेका छन् । लेखकले चिनियाँ कूटनीतिज्ञलाई पनि ठूलै पाठ सिकाएका छन् ।

अमेरिकाले चीनको गतिविधि नियाल्न र चिनियाँ बेल्ट एन्ड रोड एनिसिएटिभ (बीआरआई) परियोजना रोक्न एमसीसी लाद्न खोजेको चाउको आरोप छ । ‘एमसीसी समर्थकहरूले यसलाई चीनको बीआरआईविरुद्ध ढालका रूपमा प्रयोग गर्दै एमसीसीबारे आएका असंख्य प्रश्न र आलोचनालाई विषयान्तर गर्ने प्रयास गरिरहेका छन् । नेपाल बीआरआईको अंश बन्छ भने एमसीसीलाई पनि स्वीकार गर्नुपर्छ । एमसीसी खारेज हुन्छ भने बीआरआई पनि अस्वीकार गर्नुपर्छ,’ उनले अरूकै भनाइ उद्धृत गरेका छन् ।

सन् २०१७ मे १२ मा भएको बीआरआई सम्झौतामा कुनै प्रगति नहुँदा यो भनाइ साँचो हो कि भन्ने उनलाई लागेको छ । उनी भन्छन्, ‘बीआरआईभित्रका सबै परियोजना नेपाल-चीनको संयुक्त कार्यक्रम हुन् । दुवै पक्षले यिनीहरूको सामयिक कार्यान्वयन सम्बन्धमा जिम्मेवार हुन्छन् ।’ तर नेपालको समग्र विकासका लागि रणनीतिक महत्व बोकेको २१ राष्ट्रिय गौरवका आयोजनाको कार्यसम्पादन किन राम्रो हुन सकेको छैन ? ‘चिनियाँ पक्षले भयंकरको भूराजनीतिक दबाबमा रहेको नेपालको यस्तै ढिलासुस्तीका कारण यस्ता आयोजना अर्थहीन र अनिश्चित हुने महसुस गरेको हुन सक्छ’, उनी लेख्छन् ।

चिनियाँ प्राविधिकलाई काम गर्न दिने हो भने दुईतीन वर्षभित्रै तीनदेखि पाँच आयोजना सम्पन्न हुने दाबी चीनको छ । चाउको निष्कर्ष छ- नेपालमा वैदेशिक हस्तक्षेप छ । चीनले नेपाल नीति बदल्नुपर्ने उनी बताउँछन् । चार वर्षका लागि दूतावासमा खटिएका कर्मचारीको प्रमुख समस्या भाषा रहेको उनको बुझाइ छ । त्यही भएर नेपालमा चिनियाँ भाषामा लगानी गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्ने उनको तर्क छ ।

दोस्रो, चीनको कूटनीति काठमाडौं केन्द्रित हुनुपर्ने उनी बताउँछन् । ‘चीन तिब्बत सीमामा मात्र केन्द्रित हुनु हुँदैन । चीनको कूटनीति काठमाडौं केन्द्रित हुनुपर्छ । चिनियाँ लगानी तराई-मधेसमा पनि पुग्नुपर्‍यो । चीनले मधेसका जनतासँग साक्षात्कार गर्नुपर्‍यो,’ चाउ बताउँछन् । अनि मात्र, चिनियाँ नीतिले नेपालमा सार्थकता पाउने उनको दाबी छ । नेपाल विज्ञान तथा प्रविधिमा पनि एकदमै कमजोर भएको चाउ बताउँछन् । त्यसमा चीनले मनग्य लगानी गर्नुपर्ने उनको बुझाइ छ ।

भू-राजनीतिमा फसेको नेपाल आर्थिक रूपमा आफैंं कसरी सक्षम हुन सक्छ त ? उनी भन्छन्, ‘नेपालमा सबैभन्दा बढी सम्भावना बोकेको क्षेत्र हो पर्यटन । सर्वोच्च शिखर सगरमाथा, लोभलाग्दा ट्रेकिङ/ट्रेलहरू, वाइल्ड लाइफसँगको साक्षात्कार, धार्मिक आस्था बोकेका रमणीय ठाउँहरू, तालतलैया आदि थुप्रै छन् । तर पर्यटनको क्षेत्रमा नेपालको पूर्वतयारी शून्यबराबर छ ।’

‘नेपालमा धेरै ठाउँ घुमे । प्लेन चढ्दा नेपालीभन्दा धेरै पैसा तिरें । तर धेरै पैसा तिरेको कुनै व्यवहार मलाई गरिएन । होटेलमा बस्दा धेरै शुल्क लिइयो तर नेपाली पर्यटकभन्दा बढी केही सुविधा प्रदान गरिएन,’ पर्यटन क्षेत्रको यथार्थ उनी बताउँछन् । बढी शुल्क तिरेपछि व्यवहार पनि त्यहीअनुसारको गर्नुपर्ने उनको तर्क छ । त्यही भएर चीनका एक प्रतिशत पर्यटक पनि नेपाल आउन नसकेको उनको बुझाइ छ । नेपालले चिनियाँ पर्यटक मात्र ल्याउन सके पनि आर्थिक रूपमा धेरै सक्षम हुने उनी बताउँछन् ।

नेपाल भ्रमण चिनियाँ नागरिकका लागि एकदमै महँगो सावित भइरहेको छ । ‘चीनका नागरिकका लागि नेपाल यात्रा महँगो छ । राजधानी काठमाडौंसँग सिधा हवाई सम्पर्क भएका हङकङ, क्वाङचौ, कुनमिङ, चेंङ्दु र ल्हासा गरी पाँच सहरमात्र छन् । यी उडान पनि दैनिक चल्दैनन् । जसको अर्थ हुन्छ, नेपाल भ्रमणका लागि यात्रीले धेरै सयम र पैसा खर्चिनु’, उनी भन्छन् । उनले चीन र नेपालबीचको प्रमुख दुई राजमार्ग केरुङ र तातोपानी पनि स्तरोन्नति हुन नसकेकोमा दुःख व्यक्त गर्छन् । नेपालले तिब्बतमा बिजुली बेच्न सक्ने उनको बुझाइ छ । धेरै सम्भावना बोकेको नेपाललाई चाउले निदाएको हात्तीको संज्ञा दिएका छन् । लेख्छन्, ‘नेपाल तिमी जाग ! असफलताको बधशाला तिम्रो भाग्य होइन । गतिहीन गणतन्त्र तिम्रो भाग्य देखाउन असफल भएको छ । सफलताका लागि गरिएका केही प्रयास मात्रै पर्याप्त छैनन् । नेपालको वास्तविक धरातल यो होइन, नेपाल राम्रो स्थानको हकदार छ ।’

किताबमा चीन नीति र नेपालमा हाबी भएको भूराजनीति सम्बन्धमा बढी चर्चा छ । किताबका अधिकांश आलेख धेरै पुराना छन् । आजको दिनमा पढ्दै गर्दा धेरै विषयवस्तु समय सान्दर्भिक लाग्दैनन् । लेखकले नेपालको राम्रो र नराम्रो पक्ष केलाउने प्रयास गरेका छन् । नेपालमा हुने बाह्य हस्तक्षेपको पटाक्षेप गरेका छन् । किताबमार्फत् उनले चिनियाँ कूटनीतिज्ञलाई पनि ठूलै पाठ सिकाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.