गठबन्धनमा गतिरोध, बालकोटमा वार्ता
![गठबन्धनमा गतिरोध, बालकोटमा वार्ता](https://annapurnapost.prixacdn.net/media/albums/PMdeuwaandKPoli_20220217151825_7RP5lziZ0R.jpg)
काठमाडौं : एमसीसी संसद्मा टेबल गरी अनुमोदन गर्ने प्रधानमन्त्रीको प्रयासमा सत्ता गठबन्धनकै दलले अवरोध गरिरहेका छन्। बिहीबार पनि त्यही क्रम चल्यो। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतृत्व र अन्य नेता राखेर दुईपटक छलफल चलाए। तर, सत्ता सहयात्री दलले अडान छाडेनन्। त्यसपछि प्रधानमन्त्री देउवा बिहीबार साँझ विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे। त्यहाँ सत्तासमीकरण परिवर्तन, स्थानीय चुनाव, एमसीसी अनुमोदन गर्नेलगायत विषयमा गम्भीर कुराकानी भएको स्रोतले बताएको छ।
स्रोतका अनुसार देउवाले ओलीसँग एमसीसी अनुमोदनमा सहयोग मागेका छन्। तर, यो विषयमा ओलीले निर्णय दिएका छैनन्। ओलीका प्रस्तावमा पनि देउवाले निर्णय दिएका छैनन्। छलफल भने सकारात्मक भएको ती स्रोतको भनाइ छ। सत्ता गठबन्धन कायम रहेसम्म सदनमा अवरोध जारी राख्ने एमालेको अडान छ। गठबन्धन परिवर्तन र सभामुख ‘एउटा पार्टीको जस्तो भएकामा सोच्नुपर्ने’ ओलीको प्रस्ताव छ।
कांग्रेस नेता डा. मीनेन्द्र रिजालले बिहीबार दिउँसो ओलीसँग भेट गरेका थिए। त्यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेलिफोन वार्ता गरेका थिए। नेता रिजालसँगको भेटमा ओलीले अन्तर्राष्ट्रिय रूपमा देशको छवि नबिग्रोस् भन्ने एमालेको चाहना रहेको र राष्ट्रहितका निर्णयमा कांग्रेससँग सहकार्य गर्न सक्ने जवाफ दिएका थिए।
गठबन्धनमा आआफ्नो अडान
‘निर्णायक’ भनिएको गठबन्धनको बिहीबार बसेको बैठक बिनानिष्कर्ष टुंगिएको थियो। बैठकको सुरुमै प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारी रहेको बताएका थिए। जवाफमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले जबर्जस्ती टेबल गरे आफ्नो पार्टीले विपक्षमा मतदान गर्ने, सरकारबाट पनि अलग हुने अडान सुनाएका थिए।
एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल भने एमसीसीलाई संसदीय प्रक्रियामा लैजाने सवालमा ‘लचिलो’ देखिएका थिए। राष्ट्रिय जनमोर्चा भने बैठकमा अनुपस्थित थियो।
‘प्रधानमन्त्रीज्यू र कांग्रेसका साथीहरूले एमसीसी संसद्मा टेबल गरौं। भोटिङ प्रक्रियामा लैजाऔं भनेर कुरा राख्यौं,’ बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले भने, ‘तर, गठबन्धनमा सहमति जुटेन। भोलि (शुक्रबार) फेरि बैठक बस्ने कुरा भएको छ।’
प्रधानमन्त्री देउवाले सहमति नजुटे पनि शुक्रबारै एमसीसी अघि बढाउने सुनाएका थिए। यसलाई संसद्को प्रक्रियामा लैजान ढिलाइ गर्ने पक्षमा सरकार नरहेको उनको भनाइ थियो। ‘पहिले संसद्मा टेबल गरांै। त्यही छलफल गरौं,’ प्रधानमन्त्रीले बैठकमा भनेका थिए, ‘टेबल गरेपछि छलफल गरौं। पास÷फेल जे होला, प्रक्रियामा लैजाऔं।’
देउवासँगै कांग्रेसका कृष्ण सिटौला, पूर्णबहादुर खड्का र महामन्त्री थापाले पनि प्रक्रियामै अवरोध गर्न नहुने बताएका थिए। माओवादी केन्द्र अध्यक्ष दाहालले एमालेले संसद् अवरोध फिर्ता नलिई कसरी टेबल हुन्छ भनी प्रश्न गरेका थिए। एकीकृत समाजवादी अध्यक्ष नेपाल ‘लचिलो’ देखिए पनि अवरोधबीच टेबल गर्न नहुने पक्षमा उभिएका थिए।
त्यसपछि प्रधानमन्त्री देउवाले संसद्को अवरोध फिर्ता लिन र एमसीसी टेबल गर्ने वातावरण बनाइदिन एमाले अध्यक्ष ओलीसँग कुराकानी गर्ने जानकारी गराएका थिए। ‘प्रतिपक्षसँग पनि कुरा गर्छु र उहाँहरूलाई पनि आफ्नो पोजिसिन स्पष्ट गर्न आग्रह गर्छु भनेर प्रधानमन्त्रीज्यूले बैठकमा जानकारी गराउनुभएको थियो,’ कांग्रेस महामन्त्री थापाले भने।
माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे निर्णय गर्नुअघि संसद्को अड्चन फुकाउन लागौं भनेर प्रस्ताव गरिएको बताए। ‘एमसीसीमा संशोधन हुनुपर्ने हाम्रो पार्टीको मुद्दा यथावत् छ,’ नेता श्रेष्ठले भने ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी संसद्मा टेबुल हुने सम्भावनातर्पm छलफल अघि बढेको बताए। ‘फागुन १६ सम्ममा एमसीसी अनुमोदन गरिसक्नुपर्ने भएकाले त्योभन्दा अगाडि टेबल गरेर संसद्मै छलफल गरौं भनेर प्रधानमन्त्रीजीले बैठकमा सहभागी सबै नेतालाई आग्रह गर्नुभएको छ,’ सञ्चारमन्त्री कार्कीले भने। माओवादी केन्द्र नेता हरिबोल गजुरेलले एमसीसीमा सबैले आआफ्नै अडान राखे पनि गठबन्धन नतोड्ने सहमति बनेको बताए। एकीकृत समाजवादी महासचिव बेदुराम भुसालले गठबन्धन र एमसीसीलाई एकै ठाउँ राखेर गठबन्धनमा छलफल नभएको दाबी गरे।
दाहालको प्रस्ताव– ‘चुनावसम्म समय माग्नुपर्छ’
माओवादी अध्यक्ष दाहाल बिहीबार बिहानै बालुवाटार पुगे। उनले एमसीसी अनुमोदनका लागि अमेरिकासँग चुनावसम्मको समय माग्नुपर्ने प्रस्ताव प्रधानमन्त्रीसँग राखे। ‘एमसीसी निर्वाचनपछि अनुमोदन गर्ने गरी लैजाऊँ’, उनले भनेका थिए, ‘अहिले अनुमोदनमा जाँदा बाहिरको माहोलको आक्रोश थेग्न पनि गाह्रो छ। यति छोटो समयमा जनतालाई बुझाउन पनि गाह्रै छ।’
देउवाले भने उक्त प्रस्ताव अस्वीकार गरेका थिए। ‘अमेरिकाले संशोधन गर्ने समय अब छैन भनिराछ त तपाईंहरू किन कुरा बुझ्नुहुन्न ?’, देउवाको भनाइ उद्घृत गर्दै स्रोतले भन्यो,‘ टेबुल गर्ने वातावरण त बनाउनुहोस्। तपाईंहरू आफ्नो निर्णय गर्नुहोस्। एमसीसी टेबुल भएन भने नेपाल र अमेरिका मात्र नभई अन्य अन्तर्राष्ट्रिय देशसँग सम्बन्ध बिग्रन्छ।’
देउवा, दाहाल र नेपालबीच यसअघि एमसीसी संसद्मा टेबल गर्ने, मतदानमा अनुपस्थित भएर अनुमोदन गर्न सहयोग पुर्याउने र प्रधानन्यायायधीशविरुद्ध महाभियोग दर्ता गर्ने समझदारी बनेको थियो। तर, उक्त सहमतिको गठबन्धनका दलले उल्लंघन गरेको भन्दै देउवाले ओलीसँग निकटता बढाएको कांग्रेसकै नेताहरू बताउँछन्।
एमाले उपाध्यक्ष सुवास नेम्बाङले सत्तारुढ दलले निर्णय नगरेसम्म अरूले के गरे के गरेनन् भन्ने विषय गौण हुने बताए। ‘सत्तारुढ गठबन्धन नै निर्णय गर्न सक्दैन। अनि हामीलाई निर्णय गरेन भन्नुको कुनै तुक छ र ?’, उपाध्यक्ष नेम्बाङले भने।
सभामुख अग्नि सापकोटाले संसद्का एजेन्डाबारे छलफल गर्न शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन्। प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ। गठबन्धनको बैठक पनि शुक्रबार बिहान पुनः बोलाइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)